Close This

इरानविरुद्ध अमेरिकाले पुनः प्रतिबन्ध लगाएपछि इरानले भन्योः मनोवैज्ञानिक युद्ध किन ?

शनिबार कार्तिक १७, २०७५/ Saturday 11-03-18
Paschim Today

काठमाडौं, १७ कार्तिक । अमेरिकाले इरानविरुद्ध पुनः प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन् २०१५ मा हटाइएका इरानविरुद्धका सबै प्रतिबन्ध पुनः लागू गरिने जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गत मे मा इरानसँगको परमाणु सम्झौताबाट अमेरिका पछि हटेको भन्दै पुनः प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

उनले उक्त सम्झौता खराव भएको टिप्पणी गर्दै आएका थिए । राष्ट्रपति ट्रम्पले इरानसँग भएको सम्झौताका सर्त अस्वीकार्य भएको बताएका छन् ।

उनले उक्त सम्झौताले इरानलाई ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम विकसित गर्न र सिरिया तथा यमनलगायतका छिमेकी मुलुकमा हस्तक्षेप गर्नबाट रोक्न नसकेको आरोप लगाएका छन् ।

सम्झौतापछि अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध केही खुकुलो पारेको थियो ।

तर त्यसको बदलामा इरानले विवादास्पद परमाणु गतिविधिलाई सिमित तुल्याएको थियो ।

अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले इरानसँगको सम्झौताले इरानलाई परमाणु अस्त्रको विकास गर्नबाट रोक्ने विश्वास लिएका थिए ।

बेलायत, फ्रान्स, जर्मनी, रुस र चीन पनि सन् २०१५ मा भएको सो सम्झौताका पक्ष राष्ट्र हुन्  । ती राष्ट्र अझै पनि सम्झौताप्रति प्रतिबद्ध हुँदै आएका छन् ।

उनीहरूले अमेरिकी प्रतिबन्धलाई छल्न र इरानसँग व्यापारिक सम्बन्ध कायम राख्न नयाँ भुक्तानी प्रणाली स्थापना गर्ने बताएका छन् ।

यसैबीच इरानले भने राष्ट्रपति ट्रम्पले मनोवैज्ञानिक युद्ध गरेको आरोप लगाएको छ ।(एजेन्सी)