Close This

साईपाल हिमाल दोस्रोमाथि पर्वतारोहीको सफल आरोहण

मंगलबार कार्तिक २७, २०७५/ Tuesday 11-13-18
Paschim Today

बझाङ, २७ कार्तिक ।
मिसन साईपाल टीमले साईपाल हिमाल दोस्रोको सफल आरोहण गरेको छ । साईपाल हिमाल दोस्रोको  ६ हजार ३ सय मिटरको सफल आरोहण गरेको टोलीले ७ हजार ३१ मिटर अग्लो साईपालको चुचुरोको आरोहण भने गर्न सकेन ।
पर्वतारोहीको टोलीले दक्षिणी मोहडाबाट साईपाल हिमाल दोस्रोको सफल आरोहण गरेको हो । 
अन्र्तराष्ट्रिय ख्याती प्राप्त पर्वतारोही डा. जर्ज ईचोएगा र मार्टिन रामोश र चार जना सहयोगी भरियाहरुको टीमले कार्तिक १६ गते साईपाल हिमाल दोस्रोको चुचुरोमा पाईला टेकेको मिसन साईपालका अगुवा भोजराज भाटले बताए । यद्दपि मिसन साईपालमा सहभागी चार बझाङी चेलीले भने त्यहाँ पुग्न सकेनन । 
पर्वतारोहीको टोली सोमवार साँझ साईपालबाट सदरमुकाम चैनपुर फर्केका छन् । 
संसारभरीका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल आरोहण गरिसकेका ख्यातीप्राप्त पर्वतारोही डा. जर्जले साईपाल हिमाल आरोहण गर्नु अत्यन्त जटिल भएको बताए  ।
अरु हिमालको आरोहण यति कठिन छैन । जति साईपाल हिमालको आरोहण कठिन छ, डा. जर्जले भने, साईपालको मुख्य चुचुरोमा चढ्ने कोशिस पुरा हुन नसकेपनि साईपाल दोस्रोको चुचुरोमा भने हामी पुग्न सफल भयौ ।
उनले आफूहरुको मुख्य मिसन नेपाली चेलीहरुलाई आरोहण गराउनु भएको पनि सुनाए । यद्दपि उनीहरुलाई आरोहण गराउन नसक्दा दुःखी भएको डा. जर्जले सुनाए ।
मिसन साईपालमा सहभागी डा. जर्ज ईचोएगा संसारभरीका ८ हजार मिटर भन्दा माथिका १४ हिमाल चढेका ख्याती प्राप्त पर्वतारोही हुन् । त्यस्तै स्पेनीस पर्वतारोही मार्टिन रामोशले ८ हजार मिटर भन्दा अग्ला ९ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।
भारी हिमपात, ठाडो हिमाल र डोरी र भ¥याङलाई अड्याउन सक्ने ठाँउ नै भेट्न कठिन भएका कारण साईपालको आरोहण अत्यन्त कठिन भएको पर्वतारोहीले बताएका छन् ।
हिमाल त्यही रहन्छ । हामी सुरक्षित भए फेरि चढ्न सक्छौ, डा. जर्जले भने, हामीले हार मानेका छैनौ । एकदिन नेपाली चेलीहरुलाई साईपालको सफल आरोहण गराउने छौ । 
टोलीमा १२ जना विदेशी, चार जना बझाङी चेली, ७ जना शेर्पा सहित २३ जना पर्वतारोही र सय बढि भरीया थिए । 
मिसन साईपालका अगुवा पत्रकार भोजराज भाटलाई बझाङी चेलीलाई साईपाल हिमाल चढाएर साईपाल हिमाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न मिसन साईपाल अभियान सञ्चालन गरेको सुनाए ।
यो अभियान साईपाल हिमालको सफल आरोहण नभएसम्म रोकिदैन, भाटले सुनाए, हामी फेरि आउनेछौ । साईपालको सफल आरोहण गर्नेछौ ।