Close This

तीन सय बढीको स्वास्थ्य परीक्षण 

बुधबार कार्तिक २८, २०७५/ Wednesday 11-14-18
Paschim Today

कञ्चनपुर, २८ कार्तिक ।
नेपाली सेनाको कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 
यहाँस्थित सेनाको सिंहशार्दुल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको स्वास्थ्य शिविरबाट ३३० जना बिरामीहरु लाभान्वित भएका छन । जिल्लाकै ग्रामीण भेग र स्वास्थ्य सेवाबाट टाढा रहेकाले सेनाले स्वास्थ्य शिविर आयोजना गरेको जनाएको छ । स्वास्थ्य परीक्षण गरिएका अधिकांश बिरामीहरुमा छाला, हाडजोर्नी, आँखा र महिलाको पाठेघर सम्वन्धी बढी समस्या देखिएको श्री नंं २५ फिएका उपसेनानी डा. साजन महर्जनले जानकारी दिए । बिरामीहरुको परीक्षणका लागि सेनाको चिकित्सकसंगै धनगढीस्थित नवजीवन अस्पतालका चिकित्सक डा जयराम केसी समेत सहभागी थिए । 
नेपाली सेनाको यसअघि कञ्चनपुरको भीमदत्तनगरपालिका, बेदकोट, बेल्डाँडी गाउँपालिकाका विभिन्न बस्तीहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । पहरियाका स्थानीयबासीहरुले घरआगँनमै निःशुल्क स्वास्थ्य सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन । ‘दुर्गम गाउँका जनताहरुलाई पनि सेनाले यसरी सहयोग गर्दो रहेछ ।’ पहरियाका स्थानीय समाजसेवी भीमदत्त भट्टले भने–‘यो क्षेत्रमै यहाँ पहिलो पटक स्वास्थ्य शिविर आयोजना गरिएको हो ।’ शिविरमा सेवा लिन पहरिया, दोमिल्ला, निगाँली, बण्ड, बेल्डाँडीबाट स्थानीयबासी आएका थिए ।