Close This

दीर्घ सोडारी बर्खास्त, कृष्णराज सुवेदी नियुक्त

बुधबार कार्तिक २८, २०७५/ Wednesday 11-14-18
Paschim Today

धनगढी, २८ कार्तिक । 
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री पद्बाट दीर्घ सोडारीलाई बर्खास्त गरिएको छ । 
    सोडारीलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पद्मुक्त गरेको हो । नेकपाको प्रदेश इञ्चार्ज भीम रावलको निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पद्मुक्त गरेको जनाइएको छ । सोडारीले पद् अनुकूलको आचरण नगरेको र पार्टीको सुझावलाई अटेर गरेकाले पद्बाट हटाउन निर्देशन दिएको नेकपाका प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताए । 
    मुख्यमन्त्री त्रिलोचन भट्टले पनि संसदीय व्यवस्थामा आउने जाने काम भइरहने गरेको बताए । पदीय मर्यादा र कार्यसम्पादनको विषयलाई लिएर सोडारीलाई पद्मुक्त गरेको मुख्यमन्त्री भट्टले जनाए । उनले यसबारेमा भने थप कुरा बताउन चाहेनन् । 
    पदिय मर्यादा विपरित काम गरेको आरोपमा मन्त्री पदबाट हटाइएका सोडारीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्कासन गरिएको छ । सोडारीलाई मंगलवार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटिका एक पदाधिकारीले बताए ।
माओवादीसंग पार्टी एकता हुनु अघि नेकपा एमाले कैलालीका अध्यक्ष समेत रहेका सोडारीलाई पार्टीको सदस्य नरहने गरी निष्कासन गरिएपनि उनको सांसद पद भने यथावत रहनेछ ।
    पद्मुक्त भएका सोडारी मन्त्रीपरिषद्ले गरेको निर्णय विपरित धनगढीमा घर हुँदाहुँदै पनि सरकारी आवासको सुविधा लिएका थिए । मन्त्रीको जिम्मेवारीबाट फिर्ता बोलाइएपछि संक्षिप्त प्रतिक्रिया दिदैं सोडारीले गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाए । 
उनले आफू पार्टीको कैलाली जिल्ला अध्यक्ष भएदेखि नै पार्टीको हितमा काम गरेको र पार्टीलाई सफल बनाएको बताए । सुरुमा पार्टीले मन्त्री बनाए र अहिले फिर्ता बोलाएपनि प्रदेशको विकासमा सहयोग निरन्तर जारी रहने उनको भनाइ थियो । सोडारीले आफूले प्रदेश सरकारले ल्याएका योजनाहरु कार्यान्वयनमा शतप्रतिशत दिएको दाबी गर्दै आगामी दिनमा आफूले ल्याएका कार्यक्रममलाई नयाँ मन्त्रीले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले मन्त्रीको जिम्मेवारीबाट आफू हटे पनि प्रदेश सभा सदस्यमा रहि रहेको जनाउँदै आफ्नो ठाउँबाट नयाँ मन्त्रीलाई सहयोग गर्ने बताए ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ । प्रदेश सरकारले दीर्घ सोडारीलाई सामाजिक विकासमन्त्रीबाट बरखास्त गरी सुवेदीलाई जिम्मेवारी दिएको हो । मन्त्रीमा नियुक्त सुवेदीलाई मङ्गलवार अपराह्न चार बजे प्रदेश प्रमुखको कार्यालयमा पद् तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पद् तथा गोपनियताको शपथ ग्रहण गराए । 
    शपथ ग्रहण कार्यक्रममा प्रदेश सभामुख अर्जुनबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरी लगायतको उपस्थिति रहेको थियो । 
    शपथ ग्रहणपछि नवनियुक्त मन्त्री सुवेदीले पार्टीले यसअघिका मन्त्रीलाई पद्मुक्त भन्दा पनि उनलाई फिर्ता बोलाएर आफूलाई जिम्मेवारी दिएको प्रतिक्रिया दिए । ‘निरन्तर भइरहने प्रक्रिया अन्तर्गत नै यो भएको हो । यसलाई स्वभाविक नै मान्नु पर्दछ ।’ उनले भने । 
    मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि आफूले सबै कुराको अध्ययन गरेर काम गर्ने मन्त्री सुवेदीले बताए । उनले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई एकदम सहज रुपमा समाधान गर्ने प्रतिबद्धता जनाए । मन्त्री सुवेदीले मंगलवारबाट नै सामाजिक विकास मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन् । 

 

को हुन सुवेदी ?    

विक्रम सम्वत २०१५ सालमा अछामको जालपादेवीमा जन्मिनु भएका सुवेदीको बाल्यकाल अछाममै बितेको थियो । राजनीतिमा सक्रिय हुनु भन्दा अगाडि उनले अछाममै शिक्षण पेशा गरेका थिए । 
    २०४६ सालमा अछामबाट कैलालीको अत्तरियामा झरेपछि उनले नेपाली काङ्ग्रेसमा आबद्ध भइ आफ्नो राजनीतिक जीवन सुरुवात गरेका थिए । २०५५ सालमा काङ्ग्रेसलाई त्यागेर तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका सुवेदीले त्यसपछिको राजनीतिक जीवन सोही पार्टीमै आबद्ध भएर बिताएका छन् । नेकपा एमालेको इलाका सदस्य हुँदै अहिले एकीकृत भएको पार्टी नेकपाको नगर इञ्चार्ज समेत रहेका छन् । यसअघि, उनले तत्कालिन नेकपा एमालेको जिल्ला कमिटी सदस्य र जिल्ला सचिवालय सदस्यको समेत जिम्मेवारी निर्वाह गरेका थिए । 
    गत वर्ष भएको आम निर्वाचनमा सुवेदीले कैलाली क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभा सदस्यमा विजयी हासिल गरेका थिए ।