Close This

सामुदायिक विद्यालयमा विद्यार्थी न्यून

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

बैतडी, २९ कार्तिक । 
बैतडीको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको छ । शैक्षिक व्यवस्थापनमा कमजोरी हुनु, गुणस्तरमा कमी आउनुले गर्दा यहाँका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्न गएको हो । 
सामुदायिक विद्यालयहरुमा गुणस्तर खस्किदै जानु र निजि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै जानुले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या न्यून रहेको मेलौली नगरपालिकाका शिक्षा साखाका श्रोत व्यक्ति लालदत्त ओझाले बताए । 
जिल्लाका अधिकांश विद्यालयहरुमा विद्यार्थी सख्या न्यून रहेको छ । कक्षा १ देखि ५ सम्म पढाई हुने भुमिराज आधारभूत विद्यालय मेलौली नगरपालिका देउरालीमा २३ जना मात्रै बिद्यार्थी अध्ययनरत छन् ।  सो विद्यालयमा पाँच जना शिक्षकशिक्षिका कार्यरत छन् । यस्तै मेलौली   नगरपालिका वडा नं ५ स्थित शिवशंकर आधारभुत विद्यालय पेलामा पनि ३३ जनामात्रै विद्यार्थी अध्ययनरत छन् । 
यस्तै पाटन नगरपालिका वडा नं १० स्थित सिद्ध सिगास आधारभूत विद्यालयमा २२ जनामात्रै विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक गंगादत्त अवस्थीले जानकारी दिए । बसाइँसराइँ र कम जनसंख्याले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा कमी आएको उनले बताए ।
पहाडीको भेगका सामुदायिक विद्यालयमाप्रति कक्षा ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान रहेको रहेको छ । तर, बैतडीका आधाजति विद्यालयमा मापदण्ड अनुसारको विद्यार्थी संख्या छैन । 
उच्च स्तरिय शिक्षा आयोगगको प्रतिवेदन २०४९ ले प्रत्येक वडाहरुमा विद्यालय खोल्ने प्रावधान लिएपछि धमाधम विद्यालयहरु स्थापना भएकै कारणले अहिले प्रत्येक सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या न्यून रहेकोे शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए । 
विद्यार्थी संख्या पर्याप्त रहेको विद्यालयहरुमा भने सोही अनुपातमा शिक्षक दरबन्दी छैन । विद्यार्थी संख्या पर्याप्त नरहेको विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी धेरै हुँदा बढी विद्यार्थी रहेका विद्यालयले शिक्षक दरबन्दी अभाव झेल्दै आएका छन् । पाटन नगरपालिका वडा नं ९ स्थित १ देखि १२ कक्षा सम्म पढाइ हुने ज्ञानेश्वर माविमा  ५ सय ५० विद्यार्थी रहेकोमा ८ जना स्थायी र २ दुई जना अस्थायी शिक्षक छन् । बाँकी पाँच जना शिक्षकहरु निजि श्रोतमा काम गर्दै आइहरको ज्ञानेश्वर मावि सह प्रधानाध्यापक धनबहादुर महराले जानकारी दिए । 
धेरैजसो विद्यालयहरु निजि श्रोतका शिक्षकहरुको भरमा चल्दै आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले बताए ।