Close This

हत्यारा पत्ता लगाइ कारबाही गर्न माग

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

धनगढी, ३० कार्तिक। 
नयाँ शक्ति पार्टी नेपाल सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनामा संलग्न दोषी पत्ता लगाई कारबाही गर्न प्रदेश सरकारसंग माग गरेको छ । 
    नयाँ शक्तिले विद्यमान समस्याप्रति ध्यानाकार्षण गराउन बिहीवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । निर्मलाको बलात्कारपछि हत्या भएको एक सय १२ दिन पुग्दा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा विरोध जनाउँदै ज्ञापनपत्र बुझाएको नयाँ शक्ति नेपाल प्रदेश कमिटीका संयोजक कृष्णकुमार चौधरीले बताए । 
    दुई तिहाईको बहुमत रहेको बलियो सरकारले अपराधी पत्ता लगाउन नसक्नु विडम्ना रहेको नयाँ शक्ति नेपालको ठहर छ । निर्मलालाई न्यायका लागि प्रदेश सरकारले ठोस कदम चाल्न आवश्यक समेत रहेको नयाँ शक्तिले बताएको छ । यसैबीच, सो पार्टीले कञ्चनपुरमा निर्मलाका आफन्तले थालेको अनिश्चितकालिन धर्नामा ऐक्यबद्धता पनि जनाएको छ । 
    यसैगरी, सो पार्टीले किसानहरुले भोग्दै गरेको मल, बीउ अभाव, धानको मूल्य नपाएको विषयमा पनि मुख्यमन्त्रीको ध्यानाकार्षण गराएको छ । साथै, पेट्रोलियम पदार्थको आपूर्ति पनि सहज बनाउन माग गरिएको छ । नयाँ शक्ति नेपाल पार्टीको एक टोलीले टीकापुर घटनाका कैदीबन्दीहरुलाई समेत कारागार पुगेर भेटघाट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएको छ । प्रदेश संयोजक चौधरी, कैलाली जिल्ला अध्यक्ष राजेन्द्र देवकोटा सहितको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै कारागार पुगेर कैदीबन्दीहरुलाई भेटघाट गरेको हो ।