Close This

पूर्वाधार विकास आवश्यक

बुधबार पौष २५, २०७५/ Wednesday 01-09-19
Paschim Today

    कैलालीको गोदावरी यस क्षेत्रकै प्रमुख धार्मीक पर्यटकीय स्थल हो । धार्मीक पर्यटनको केन्द्र बन्दै गएको गोदावरी क्षेत्रमा दैनिक थुप्रै पर्यटकहरु पुग्ने गरेका छन् । गोदावरी धाम प्रमुख धार्मीक पर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास हुन थालेको हो । पछिल्लो समय यहाँ हुँदै आएका धार्मीक गतिविधिले पनि गोदावरी धार्मीक पर्यटनको केन्द्र बन्दै जान थालेको हो । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला हुन थालेका छन् । यसले गोदावरी क्षेत्रमा पुग्ने पर्यटकको संख्या बढेको छ नै गोदावरी क्षेत्र धार्मीक पर्यटन क्षेत्रका रुपमा पनि प्रचारप्रसार हुन थालेको छ । चुरे पहाडको फेदीमा रहेको गोदावरी धाम क्षेत्रको धार्मीक महत्व त छँदै छ प्राकृतिक रुपमा पनि निकै रमणीय छ । भीमदत्त राजमार्ग पर्ने भएकाले गोदावरी क्षेत्रमा पुग्नका लागि पनि सहज छ । यहाँबाट भारतका सहरहरु नजिक पर्छन् । सीमा नजिक रहेको भारतीय क्षेत्रमा ठूलो जनसंख्या बसोबास गर्छ । गोदावरी धामको प्रचारप्रसार गर्न सके भारतीय पर्यटकहरु पनि भित्र्याउन सकिने संभावना धेरै छ ।   
    गोदावरी क्षेत्र धार्मीक पर्यटनको राम्रो संभावना बोकेको र धार्मीक पर्यटन केन्द्रको विकास हुँदै गए पनि यसको व्यापक प्रचारप्रसार भने हुन सकेको छैन । अर्कोतर्फ धार्मीक संरचनाहरु बन्न सकेका छैनन् । विभिन्न धार्मीक कार्यको सहजताका लागि धार्मीक संरचनाहरु बनाउन जरुरी छ । गोदावरीमा मात्र होइन, सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधारको विकास हुन सकेको छैन । यहाँ थुप्रै पर्यटकीय क्षेत्रहरु छन् तर पूर्वाधार विकास हुन नसक्दा ती क्षेत्रमा पुग्न समस्या छ । पुगिहाले पनि बसोबासलगायतको उचित व्यवस्था हुन सकेको छैन । जसले गर्दा पर्यटकको आवागमन बढ्न सकेको छैन । अझ सुदूरपश्चिमका पर्यटकीय स्थलहरुमा पुग्ने विदेशी पर्यटकको संख्या न्यून छ । पश्चिम नेपालको गड्डाचौकी नाका भएर पछिल्लो एक वर्षमा ९ सय ३० जना विदेशी पर्यटक भित्रिएका छन् । कैलालीको त्रिनगर भन्सार नाका भएर भित्रिने विदेशी पर्यटकको संख्या पनि निकै कम छ । राजधानीबाट हवाइ मार्ग भएर पनि केही पर्यटकहरु यहाँ आउने गर्छन् । तर समग्रमा सुदूरपश्चिममा आउने विदेशी पर्यटकको संख्या उल्लेख्य रुपमा बढ्न सकेको छैन ।
    पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रसम्म पुग्ने पूर्वाधार चाहिन्छ र त्यहाँ पुगिसकेपछि बसोबासका लागि आवश्यक व्यवस्था हुनुपर्छ । अर्कोतर्फ पर्यटन भित्र्याउनका लागि ती क्षेत्रको प्रचारप्रसार पनि गरिनु पर्छ । सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय संभावना भएका धेरै पर्यटकीयस्थल भएपछि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा थोरै पर्यटकले यहाँ घुम्ने गरेका छन् । सुदूरपश्चिममा खप्तड, बडिमालिका, शुक्लाफाँटा, अपिसैपाल, रामारोशन, शैलेश्वरी, उग्रतारा, बेहडाबाबा, गोदावरी, घोडाघोडीलगायत दर्जनौं पर्यटकीय स्थलहरु छन् । तर यीमध्ये कतिपय पर्यटकीय स्थलसम्म सहज रुपमा पुग्नसक्ने सडकलगायतका पूर्वाधार छैनन्, बसोबासको उचित प्रबन्ध छैन । जसले गर्दा एक पटक घुमेर आउने पर्यटक दोहो¥याएर कमै जाने गरेका छन् । प्राकृतिक रुपमा अत्यन्त सुन्दर र रमणीय क्षेत्र भए पनि तिनको प्रचारप्रसारसमेत हुन सकेको छैन । त्यसैले संघीय, प्रदेश र स्थानीय तहका सरकारले पर्यटन विकासको एकीकृत खाका बनाउनु पर्छ । पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनु पर्छ र आवश्यक प्रचारप्रसारमा पनि ध्यान दिनुपर्छ । पर्यटन विकासले यस क्षेत्रको विकासमा ठूलो फड्को मार्न सक्छ । तसर्थ यहाँको पर्यटक विकासमा सरोकारवाला सबैको सामूहिक पहल आवश्यक छ ।