Close This

रवि ओड र मिस्टर आरजेले नचाए दर्शक

सोमबार पौष ३०, २०७५/ Monday 01-14-19
Paschim Today

धनगढी, ३० पुष ।

कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आइतबार स्थनीय तथा राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन् । 
“सम्वृद्ध प्रदेशको आधार कृषि ,पर्यटन र व्यापार’ भन्ने मुल नारा का साथ शुरु भएको महोत्सवको तेस्रो दिन आइतबार महोत्सव स्थलमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरु र विभिन्न क्लवहरुले पनि आ आफ्ना प्रस्तुतिहरु राखेका थिए । सुदूरपश्चिमका शान  नेपाल आइडल सिजन २ का विजेता रवि ओड र ¥यापर मिस्टर आर जेको महोत्सवमा विशेष प्रस्तुति रहेको थियो । 
नेपाल आइडल ओडले फेवातालमा सांईली , पिउदिन भन्दा भन्दै, बेहोसपछि त होसमा आउंदा लगायत आधा दर्जन गीतहरु मार्फत दर्शकहरुलाई नचाएका थिए भने ¥यापर मिस्टर आरजेले  धौलीको व्या, मिस्टर आरजे , यति यति पानी, दारु सड्काउन्या लगायतका गीतहरु गाएर दर्शक तताए । यस अघि नेपाल आइडल विजेता रवि ओडलाई अत्तरियामा नागरिक अभिनन्दन गरिएको थियो । ओडलाई बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो । 
यस्तै, उनलाई गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँद, मोहत्सव मूल आयोजक समितिका अध्यक्ष अशोकराज देवकोटा, वडा नम्बर १, २ र १२ का वडा अध्यक्षहरुले खादा  ओढाएर सम्मान गरेका थिए । 
महोत्सवमा सोमबार देउडा गायिका रेखा जोशी र लोकदोहरी गायक पशुपति शर्माको विशेष प्रस्तुति रहने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए । महोत्सवमा डेढ सय वटा स्टलहरु रहेका छन । त्यस्तै दर्शकको मनोरञ्जनका लागि लामितालमा ३ वटा डुंगाहरुको व्यवस्था गरिएको छ । 
यसैबीच, नेपाल आईडल  रवि वडको धनगढीमा आयोजित सुन्दर सुदूरपश्चिम महोत्सवमा पनि स्वागत गरिएको छ । 
उनलाई धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले खादा, फूलमाला लगाएर स्वागत गरेका हुन । नगरप्रमुख र महोत्सव आयोजकको अनुरोध गरेपछि रवि सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन ।
वडले रवि यस प्रदेशकै शान भएको बताए । उनले भने, यहाँको भाषा संस्कृति बचाउन र प्रचारप्रसार गर्नमा रविले कञ्जुस्याइँ गर्नु हुदैन र गर्दैनन् पनि । रवि वडले नेपाल आईडल बनाउन सहयोग गर्ने सबै प्रति आभार प्रकट गरे । उनले भने, यो मेरो जित होईन तपाईहरुको हो ।