Close This

धनगढीमा प्रदेशस्तरीय रक्त संचार केन्द्र बन्दै

शुक्रबार माघ ४, २०७५/ Friday 01-18-19
Paschim Today

धनगढी, ४ माघ । 
प्रदेशस्तरीय ब्लड बैंङ्क (रक्त संचार गृह) स्थापनाका लागि धनगढीमा भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडलगायतले संयुक्त भवन शिलान्यास गरे ।
 अमेरिकी राजदुतावासको आर्थिक सहयोगमा निर्माण हुने रक्त सञ्चार केन्द्रको भवन आगामी एक वर्षभित्र सम्पन्न हुने नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापति उत्तम जोशीले बताए । भवनसंगै रगत भण्डारणका लागि आधुनिक मेसिन र प्राविधिक सहयोग समेत अमेरिकी राजदुतावासले प्रदान गर्ने सभापति जोशीले बताए । 
सुदूरपश्चिम प्रदेशमा रहेको करिब २५ लाख भन्दा बढी नागरिकलाई लक्षित गरी रक्त सञ्चार गृह निर्माण हुने जनाइएको छ । यसका लागि भवन तथा प्राविधिक सामग्री र मेसिनरी सामग्रीसहित १० करोड लागत लाग्ने अनुमान गरिएको छ । 
भवन निर्माण गर्ने जिम्मा हिमालयन कन्ट्रक्सनले पाएको छ । ८ हजार स्क्वायर फिट क्षेत्रफल जमिनमा निर्माण हुने भवन दुई तलाको हुने कन्ट्रक्सनका डाइरेक्टर खेमराज खनालले बताए । प्रदेशस्तरीय रक्त संचार गृह संचालनमा आएपछि यो क्षेत्रमा रगतको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।