Close This

थ्रिस्टार र पुलिस दुवैको उपाधि जित्ने दावी

शनिबार माघ ५, २०७५/ Saturday 01-19-19
Paschim Today

धनगढी, ५ माघ । 
नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा रुस्लान थ्रिस्टार र नेपाल पुलिस क्लबबीच आज (शनिवार) उपाधि भिडन्त हुँदैछ । दुवै टिमले उपाधि आ–आफूसंग लैजाने दावी गरेका छन् ।  
    फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार धनगढी क्षेत्रीय रङ्गशाला मैदानमा आयोजित पत्रकार सम्मेलनमा दुवै टिमले उपाधि जित्ने दावी गरेका हुन ।
    हालै काठमाण्डौंमा सम्पन्न भएको ए डिभिजन लिग च्याम्पियन टोली मनाङ मस्र्याङ्दी क्लब र उपविजेता सीएमजी क्लब सङ्कटालाई यहाँ हराएपछि पुलिसको मनोबल उच्च भएको छ । आफ्नो टोली उच्च मनोबलका साथ फाइनल खेल खेलेर उपाधि जित्ने कप्तान विक्रम धिमालले बताए । 
    ‘हाम्रो लक्ष्य भनेको उपाधि जित्ने हो’, उनले भने–‘अघिल्ला खेलमा थुप्रै गल्ती भएका छन्, त्यस्ता गल्तीहरु फाइनलमा सुधारेर यो गोल्डकपको उपाधि घर लैजान चाहन्छौं ।’ उनले बलियो प्रतिद्वन्द्वी विरुद्ध आफ्नो टिमले योजना अनुसार खेल खेल्ने उल्लेख गरे । ‘यो प्रतियोगितामा अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेकाले हाम्रो टिममा कुनै दबाव छैन’, उनले भने । बलियो विपक्षीसंग आफ्नो टिमले डराएरभन्दा पनि आत्मविश्वासी भएर खेल्ने कप्तान धिमालको भनाइ थियो ।
पुुलिसले क्वार्टर फाइनलमा मनाङ र सेमिफाइनलमा सङ्कटालाई हराएको थियो । ए डिभिजन लिगको विजेता र उपविजेतालाई पराजित गरेको पुलिसले मोफसलको खप्तड गोल्डकपमा थ्रिस्टारलाई प्रतिद्वन्द्वी पाएको छ । ए डिभिजन लिगमा थ्रिस्टारले तेस्रो स्थान हासिल गरेको थियो । 
    हरेक खेलमा आफ्नो टिमले राम्रो खेलिरहेको उल्लेख गर्दै पुलिसका प्रशिक्षक अनन्तराज थापाले फाइनलमा पनि राम्रो खेलेरै उपाधि जित्ने दावी गरे । ‘फाइनल पुगेपछि त्यसैपनि जित ५०÷५० हुन्छ’, उनले अगाडि थपे–‘यद्यपि,हामीले थ्रिस्टारलाई हल्का रुपमा लिदैंनौं । किनभने थ्रिस्टार राम्रो र बलियो प्रतिद्वन्द्वी हो ।’ उनले यो प्रतियोगिताको उपाधि आफ्नो टिमले जित्ने सम्भावना ९० प्रतिशत रहेको दावी गरे । 
    क्वार्टरफाइनलमा क्याम्रुनको टोली र सेमिफाइनलमा मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरलाई हराएर उपाधि नजिक पुगेको थ्रिस्टारले पनि उपाधि भित्र्याउने दावी गरेको छ । सुदूरपश्चिम खप्तड गोल्डकपमा गरेको प्रदर्शनलाई आफ्नो टिमले शिक्षाको रुपमा लिएको र अहिलेसम्म राम्रंो भएको जनाउँदै कप्तान विक्रम लामाले फाइनल खेल्नका लागि उत्साहित रहेको बताए । उनले थ्रिस्टार क्लब पुरानो लयमा फर्कनु नै टिमको लागि खुशीको कुरो रहेको उल्लेख गर्दै भने–‘यहाँ हामीले राम्रो खेलिरहेका छौं ।’ 
    प्रतियोगितामा पुलिस उत्कृष्ट टिम रहेको उनको ठहर छ । ‘त्यसैले पुलिसको मिहिनेतलाई हामीले हाम्रो चुनौतीको रुपमा लिन्छौं’, कप्तान लामाले भने–‘किनभने, पुलिस लयमा छ । उत्कृष्ट टिम हो ।’ 
    थ्रिस्टारका प्रशिक्षक उज्ज्वल मानन्धरले आफ्नो टिमको योजना ‘टाइटल’ जित्ने रहेको उल्लेख गरे । यसका लागि टिमले अतिरिक्त मिहिनेत गरिरहेको उनको भनाइ थियो । ‘लिगमा हाम्रो प्रदर्शन कमजोर रह्यो’, प्रशिक्षक मानन्धरले भने–‘त्यसलाई बिर्सनको लागि पनि हामी यो प्रतियोगिताको उपाधि जित्न चाहन्छौं ।’ 
    तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको विजेता टिमले नगद २१ लाख एक रुपियाँ र उपविजेताले १० लाख एक रुपियाँ पुरस्कारसहित ट्रफी पाउनेछन् । यो पुरस्कारराशी मोफसलको प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक रहेको जनाइएको छ । यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल र हरेक विधाका उत्कृष्ट खेलाडीले जनही १५÷१५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका महासचिव प्रकाशबहादुर शाहीले जानकारी दिए ।