Close This

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

शनिबार माघ ५, २०७५/ Saturday 01-19-19
Paschim Today

धनगढी, ५ माघ । 
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकको सुरुमै सभामुख अर्जुनबहादुर थापाले संसद अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र पढेर सुनाएका थिए ।

सभामुखले विशेष समयमा सभामुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीनै दलका ६ जना सांसदलाई शुभकामना मन्तव्य राख्न समय दिए । करिब साढे ३ महिनापछि बसेको संसद बैठकमा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै प्रतिपक्षीले आलोचना र सत्तापक्षले सरकारको बचाउ गर्यो । 

सरकार सुस्त हुँदा जनताले सरकार भएको अनुभूति गर्न नसकेको, विकास बजेट खर्च हुन नसकेको, शान्ति–सुरक्षा कायम गर्न नसकेको भन्दै प्रतिपक्षी सांसदहरुले सरकारको आलोचना गरे । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले प्रदेशका लागि आवश्यक कानुन बनाउन र विकास बजेट खर्च गर्न सरकार चुकेको बताए ।

यही गतिमा सरकारले काम गरे संघीयतामाथि नै प्रश्न आउन सक्ने रावलको भनाई थियो । ‘मुख्यमन्त्री र मन्त्री औपचारिक कार्यक्रममा माला लगाउनमै व्यस्त छन् । प्रदेश सरकार छ भन्ने अनुभूति जनताले गर्न सकेका छैनन् ।’ उनले भने, ‘बजेट कार्यान्वयन भएको छैन, अन्य प्रदेशमा ३३–३४ वटा कानुन बन्दा एक वर्षमा हाम्रो प्रदेशमा १७ वटा कानुनमात्र बनेका छन् ।’

कांग्रेस सांसद भरत खड्काले पुँजीगत खर्च ०.८ प्रतिशतमात्र भएको तथ्यांक प्रस्तुत गर्दै यस वर्ष काम नभएर बजेट फ्रिज हुने संभावना देखिएको बताए । सदनमा प्रतिपक्षबाट कुनै अवरोध नभए पनि सरकारले सदनलाई विजनेश दिन नसकेको उनले बताए ।

चालु आर्थिक वर्षको बजेटमा राखिएको डल्लो रकम विधि र प्रक्रिया विपरीत विपरित बाँडफाट गरिएको भन्दै उनले आपत्ति जनाए । ‘योजनाहरु बेचिएको हल्ला छ । ६ महिनासम्म सरकारले योजना कार्यान्वयनको अख्तियारीसमेत दिन सकेको छैन ।’ खड्काले भने, ‘प्रतिपक्षीको सहयोग हुँदाहुँदै पनि सरकार सुस्त छ ।’

प्रतिपक्षी राजपा सांसद मालामती रानाथारुले यही गतिले काम गरे सरकारले भनेजस्तो विकास र समृद्धि नारामा मात्र सीमित हुने बताइन् । उनले प्रश्न गरिन्, ‘एक वर्षसम्म न कानुनहरु बन्न सके, न त विकासले गति लिएको छ । हामी सांसदहरुले काम गरिरहेका छौं भनेर जनतालाई कसरी भन्ने ?’

सत्ता पक्ष नेकपाका सांसदहरुले भने सरकारको बचाउ गरे । नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले आफ्नो संरचनाको व्यवस्थापन आफै गर्नु परेकाले प्रदेश सरकारले काम गर्न नसकेको बताए । बोल्नकै लागि सरकारको विरोध गर्नुभन्दा रचनात्मक सहयोग गर्न उनले प्रतिपक्षीलाई आग्रह गरे । काम गर्दा भएका कमजोरी सच्याएर जान सकिने भए पनि कमजोरीमा टेकेर संघीय व्यवस्थामै विकृति आउने गरी टीप्पणी नगर्न तामाङले आग्रह गरे ।

नेकपाका सांसद बीरमान चौधरी र मानबहादुर धामीले कर्मचारी अभाव, कर्मचारी समायोजन, नयाँ संरचनालगायत कारणले सरकारले सोँचेअनुसार काम गर्न नसकेको बताए ।
संसदमा विजनेश छैन । हिउँदे अधिवेशन सुरु भएपनि संसदमा विजनेश भने छैन । शुक्रबारको बैठकमा एउटा पनि विधयेक पेश हुन सकेन । बैठकमा प्रदेश सभाको कार्य सञ्चालन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूची रहेपनि प्राविधिक त्रुटी भएको भन्दै पेश भएन ।

२३ असोजमा सकिएको वर्षे अधिवेशनपछि एउटामात्र उक्त विधयेश पेश भएको संसद सचिवालयले जनाएको छ । गत अधिवेशनमा दर्ता भएको एउटा विधयेक छलफलका लागि संसदीय समितिमा छ । 

‘पर्याप्त विजनेश छैन, नयाँ विधयेक दर्ता भएका छैनन् ।’ संसद सचिवालयका सचिव बालाराम शर्माले भने, ‘सरकारले थप विधयेक ल्याउँछौं भनेको छ ।’ प्रदेश सभाको अर्को बैठक ११ माघ दिउँसो १ बजे बस्नेछ ।