Close This

नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन मानव अधिकार आयोगकाे आग्रह

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

काठमाडौँ,१० माघ। राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ। कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन बढेकाे भन्दै आयाेगले कोरोना रोकथामका तयारी र प्रयासहरूका सम्बन्धमा सोमबार सरकारका अधिकारीहरुसँग छलफल गर्दैं यस्तो आग्रह गरेको हो।

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकहरूका लागि खोपको सहज उपलब्धता हुनुपर्ने, बिनाखोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा पर्ने असर, सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापनलगायतका विषयमा थप ध्यान पुर्‍याउन निर्देशन दिए।

कोभिड–१९ को तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारको योजना, अस्पतालहरूको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोर विजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दिइने खोपमा पहुँच, अत्यावश्यक वस्तुमा सर्वसाधारणको सहज पहुँच, औषधिको कृत्रिम अभाव हुन नदिन गरिनुपर्ने अनुगमन तथा कानूनी कारवाही, सर्वसाधारणको जानकारीको लागि प्रभावकारी र सही सूचना प्रवाहबारे छलफलमा जानकारी लिइएको आयोगले जनाएको छ।