Close This

मनसुनजन्य विपदबाट देशभर २० लाख जना प्रभावित हुने

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

काठमाडौँ,१४ असार  । यस बर्ष मनसुनजन्य विपदबाट देशभर २० लाख जना प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९) सालमा बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको हो।

गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल, जलोत्पन्न प्रकोप विभाग र विश्व खाद्य कार्यक्रमबाट उपलब्ध तथ्याङ्कको आधारमा संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यलयको सहयोगमा २०७९ सालको मनसुनमा प्रभावित हुनसक्ने जनसंख्याको आँकलन गरिएको  प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

विपद्का घटनाबाट सबैभन्दा बढी प्रदेश नं १ मा ५ लाख ७० हजार २८४ र सबैभन्दा कम कर्णाली प्रदेशमा लगभग ५४ हजार ९५५ जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ।२०७९ सालको मनसुन जेठ १८ गतेबाट सुरू भइ असोज १४ गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ।

यस चार महिनाको मनसुनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने हुने सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग गण्डकी प्रदेशका मध्य भूभाग र प्रदेश नं १ को मध्य भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।