लागू औषधको दलदलमा फस्दै युवा

२८ महिनामा ८९९ जना पक्राउ

मंगलबार मङ्सिर ५, २०८०/ Tuesday 11-21-23
Paschim Today

पश्चिम टुडे, मंसिर ८ धनगढी । 

    पछिल्ला केही बर्षदेखी कैलालीमा लागू औषधको कारोबार र पक्राउ पर्नेहरुको संख्यामा वृद्धि हुँदै गएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७८/०७९ देखि चालू आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा लागू औषधका ६७१ मुद्दामा ८९९ जना पक्राउ परेकेका छन ।

   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले सोही अवधीमा चरेश १ क्विन्टल ६ किलो ५१३ ग्राम, ब्राउन सुगर (खैरो हेरोईन) एक किलो ४०४ ग्राम ५८५ मिलिग्राम, नाइट्राभेट ट्याबलेट ४ हजार २०८ र स्पाम्सो ट्याबलेट १ हजार ५०९ थान फेला पारी नियन्त्रणमा लिएको बताए । आर्थिक बर्ष २०७८/०७९ मा २०१ मुद्दामा ३२३ जना पक्राउ गरि मुद्दा चलाएको डिएसपी चन्दले बताए ।

     त्यस्तै आर्थिक बर्ष २०७९/०८०मा संख्या बढेर ३४८ मुद्दामा ४०७ जनालाई पक्राउ गरि मुद्दा चलाइएको डिएसपी चन्दले बताए । यसैगरी चालू आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा १२२ मुद्दामा १६९ जना पक्राउ परिसकेको बताउदै डिएसपी चन्दले आर्थिक बर्षको अन्त्यसम्ममा यो संख्यामा वृद्धि हुन सक्ने बताए । खुला सीमानाका, बेरोजगार, साथीभाइको लहलहैमा लागेर लागू औषधको सेवन गर्ने र केही पैसाकालागी कारोबार गर्नेहरुको संख्या कैलालीमा बर्सेनि बढी रहेको डिएसपी चन्दले बताए । बिकराल रुपमा फैलदै गएको लागू औषधको जालो बिस्तारै तराई क्षेत्रबाट पहाडतिर समेत फैलिएको बताउदै डिएसपी चन्दले प्रहरी मात्रैको सहभागीताले नियन्त्रण गर्न मुस्किल पर्ने बताए ।

     प्रहरीले बेलाबेला बिद्यालय र कलेजहरुमा लागू औषध सचेतना सम्बन्धि कार्यक्रमहरु गर्दै आइरहेको डिएसपी चन्दले बताए । उनले विभिन्न सामाजिक संस्थाहरुले समेत लागू औषध दुर्ब्यसनका बारेमा अभियान नै चलाउनु पर्ने बताए । लागू औषधको सेवनले सामाजिक बिकृती समेत फैलाउदै गएकोले यसको नियन्त्रणका लागि सबैले एकजुट भएर लाग्नु पर्ने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेर बहादुर कमरले बताए ।

     लागू औषध सेवन पश्चात् एकोहोरो हुने, काममा मन नलाग्ने र शरिरका विभिन्न अंगहरुले समेत बिस्तारै काम गर्न छोडदै जाने र मानिसको मृत्यु समेत हुने मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताए । त्यस्तै लागू औषध सेवन गर्न नपाए चोरी डकैती गर्ने, घरायसी समानहरु बेचबिखन गर्ने, साथीभाइहरुसंग झैझगडा गर्ने र लागू औषधका जे पनी गर्न पछि नपर्ने हुदा कहिलेकाही मृत्यु समेत हुने गरेका घटनाहरु सुनिन आएको बताउदै डाक्टर कमरले लागू औषध नियन्त्रण अहिलेको अपरिहार्य भएको बताए ।