शेख मुनिर धनगढीबाट पक्राउ

आइतबार मङ्सिर १०, २०८०/ Sunday 11-26-23
Paschim Today

धनगढी, १० मंसिर ।
जिल्ला प्रहरी कार्यालय कैलालीले शेख मुनिर अहमदलाई आईतवार अपरान्ह धनगढीबाट
पक्राउ गरेको छ ।

प्रहरीले उनलाई धनगढीस्थित जिल्ला प्रशासन कार्यालय कैलालीको नजिकैबाट आईतवार अपरान्ह पक्राउ गरेको जनाएको  छ । एक पुरानो मुद्दाको छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा आएकै बेला शेख मुनिर पक्राउ परेका हुन् ।

जग्गा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, अभद्र व्यवहार, थुप्रै सर्वसाधारणलाई घरवार बिहीन बनाएको लगायतका थुप्रै अपराधिक घट्नामा मुछिएका शेख मुनिरको लामो समयदेखि प्रहरी खोजी गरिरहेको थियो ।

पर्सा स्थायी घर भएका शेख मुनिर त्यहाँ अपरहणको मुद्दा दर्ता भएपछि  भागेर धनगढी आएको बताईन्छ । त्यसयता उनी धनगढी उपमहानगरपालिका–१ एमाले पार्टी कार्यालय छेउको घरमा बस्दै आएका थिए ।

उनी  मिटर व्याज र सर्वसाधारणको जग्गा हप्ने कार्यमा संलग्न भएको आरोप लागेपनि काँग्रेसकै नेताहरुको संरक्षणमा जोगिदै आएका थिए । नेपाली काँग्रेस निकट मुस्लिम संघका राजनीति गर्दै आएका शेख मुनिरलाई यस अघि काँग्रेसको संरक्षण प्राप्त थियो ।

पछिल्लो पटक भने शेखमुनिरमाथि आवश्यक कारबाहीका लागि नेपाली काँग्रेसको नेतृत्वले नै प्रहरी प्रशासनलाई आग्रह गरेको बताईन्छ । प्रहरीको खोजी गरेपछि फरार रहेका शेख मुनिर धनगढी आएको समयमा पक्राउ परेका हुन् ।

मुनिरबाट पिडीत व्यक्तिले उनीबिरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा शेख मुनिर पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले बताए ।

एसपी पालले शेख मुनिरलाई एक जनाको गाडी कब्जा गरेको आरोपमा पक्राउ गरेको र थप अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको बताए ।

शेख मुनिर पक्राउ पपरेपछि पिडीतहरु सम्पर्कमा आउने क्रम शुरु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनी बिरुद्ध आउने सबै मुद्दा दर्ता गरी कारबाही गर्ने जनाएको छ । उनलाई यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक अपराधको मुद्दामा दोषी ठहर गरेको थियो । सो निर्णयका बिरुद्ध उनी जिल्ला अदालत गए । जिल्ला अदालतले पनि जिल्ला प्रशासन कार्यालयको फैसला सदर गरेको थियो ।