कुख्यात अपराधी देव सिंह ठकुरी बैंक लुटपाटको घट्नामा मुम्बईमा पक्राउ

मंगलबार मङ्सिर १२, २०८०/ Tuesday 11-28-23
Paschim Today

धनगढी, १२ मंसिर ।
ज्यान मुद्दा, अपहरण, हातहतियार तथा खरखजाना लगायतका अपराधमा संलग्न कैलालीको गोदावरी नगरपालिका ११ ओलानीका ४५ वर्षीय देवसिंह ठकुरी भनिने दीपक बहादुर सिंह बैंक लुटपाट तथा सुनचाँदी पसल लुटपाट गरेको घट्नामा भारतको मुम्बईमा पक्राउ परेका छन् ।

ज्यान मुद्दामा कैलाली कारागारमा सजाय काटिरहेकै समयमा आँखा उपचारका बहानामा बाहिर निस्किएको बेला ठकुरी फरार भएका थिए ।

समाचार स्रोतका अनुसार भारतको महाराष्ट्रको सोलापुरमा बैंक तथा सुन चाँदी पसलमा लुटपाट गरेको आरोपमा ठुकरी सहित १३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेपालीहरु सहित भारतको झारखण्डका व्यक्तिहरु समेत रहेका छन् ।

पश्चिम टुडेलाई प्राप्त जानकारी अनुसार उनीहरुलाई अक्टोबर १६ तारेखमा सोलापुर प्रहरीले पक्राउ गरेको हो । उनीहरुको समूहको १० तारेखमा बैंक तथा सुन चाँदी पसलमा लुटपाट गरेको बताईएको छ ।

ठकुरीसंगै पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरियाका ४२ वर्षीय भरत साउँद, कृष्णपुरको मालुमेलाका ३३ वर्षीय दीप बिक्रमसिंह नेगी, कैलालीको गोदावरी नगरपालिकाको अत्तरीयाका ३३ वर्षीय भीम विश्वकर्मा, गोदावरीका राज बहादुर कामी, कोलमुडाका ३५ वर्षीय, दीपक बहादुर दमाई, डोटी सिलगढीका २९ वर्षीय टीकाराम गौरव कोली, सिलगडीकै ४० वर्षीय शिवसिंह देओल रहेका छन् ।

भक्त बहादुर साँउदलाई गोली हानी हत्या गरेको अपराधमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका ठकुरी २०६९ साल साउन ४ गते आँखा उपचारका बहानामा कारागारबाट निस्किएका बेला फरार भएका थिए ।

उनी पक्राउ परेको विषयमा नेपाल प्रहरीलाई समेत जानकारी प्राप्त भएको स्रोतले पश्चिम टुडेलाई बतायो । उनीमाथि भारतमा भन्दा नेपालमा जघन्य अपराधमा फैसला भएका घट्ना भएकोले भारतीय प्रहरीले उनलाई नेपाल प्रहरीलाई सुम्पिन चाहेको बुझिएको छ ।

को हुन देव सिंह ठकुरी ? उनले गरेका अपराधहरु के के हुन् ?

देव सिंह ठकुरीको वास्तविक नाम दीपक बहादुर सिंह हो । उनी कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका स्थायी बासिन्दा हुन् ।

नेपालमा उनीमाथि दुई जनाको हत्या, एक जनाको शरीर बन्धक तथा अपरहरण र एउटा हातहतियार तथा खरखजानाको मुद्दा चलेको थियो ।

जसमध्ये २०६४  साल फागुन २४ गते गोदावरी नगरपालिका–५ भक्त बहादुर साँउदको हत्या गरेका ठकुरीलाई सोही मुद्दामा सर्वस्व सहित जन्मकैदको सजाय भएको थियो ।

त्यसबाहेक उनी २०६२ साल असोज २ गते गोदावरी नगरपालिका– ६ का मान बहादुर सुनारको हत्या गरेको र २०६५ असार १० गते धनगढी उपमहानरपालिकाको फुलवारीका शोभान टमटाको अपहरण गरेको मुद्दामा मुछिएका थिए ।

२०६६ साल असार १० गते हातहतियार तथा खरखजानाको अपराधमा मुछिएका ठकुरी सोही मुद्दामा २०६६ साउन  ५ गते पक्राउ गरेका थिए ।

त्यसको तीन वर्षपछि उनीपछि कैलाली कारागारबाट भाग्न सफल भएका थिए ।

कैलाली कारागारबाट भागेपछि नेपाल र भारत आवात जावत गर्दै आएपनि प्रहरीले ठकुरीलाई पक्राउ गर्न सकेको थिएन ।