धनगढी एफसीको लगातार दोस्रो जित

शुक्रबार मङ्सिर १५, २०८०/ Friday 12-01-23
Paschim Today

काठमाडौँ, १५ मंसिर ।

पास राम्रो कि गोल ? धनगढी एफसीले बिहीबार नेपाल सुपर लिग (एनएसएल) मा निकालेको जितमा यस्तो फरक मत हुने नै छ । खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला मैदानको लगभग मध्यभागबाट अहमद हिजाइले मीठो पास निकाले । समय थियो, दोस्रो हाफको इन्ज्युरीको तेस्रो मिनेट । त्यो नापेर र तौलेर निकालेको पास थियो । त्यसमा आफिज ओलावालेले उत्तिकै मीठो ‘वान टच’ मा प्रहार गर्दै चलाखीपूर्ण गोल गरे । खासमा दुवै उत्कृष्ट थियो ।

यसक्रममा बुटवल–लुम्बिनी एफसीका गोलरक्षक मोहमदोउ मज्जाले बिट भए र बलले सुस्त गतिमा पोस्टको दिशा लिएको थियो । यसलै देखाउँछ लेवनानका हिजाइ र नाइजेरियाली ओलावाले कति उम्दा खेलाडी हुन् भनेर । उनीहरूले यस गोलका क्रममा ‘ए मोमेन्ट अफ ब्रिलियन्स’ को नमुना पेस गरे । यही गोल मदतमा भाग्यमानी धनगढी एफसी अभाग्यशाली बुटवल–लुम्बिनीविरुद्ध जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा उक्लन सफल रह्यो ।

धनगढीको यो लगातार दोस्रो जित हो । टोलीले शतप्रतिशत प्रदर्शन कायम राख्दै ६ अंक जोडेको छ । यो जितका लागि धनगढीले पूरा खेलमा खास मिहिनेत गर्नुपरेको थियो । त्यसैले अन्तिम क्षणमा प्राप्त जितमा टिम भाग्यमानी रह्यो । बुटवल–लुम्बिनी किन अभाग्यशाली रह्यो भने पूरा खेलमा टोलीले मिहिनेत धेरै गर्‍यो तर हातमा केही लागेन । लुम्बिनीको यो लगातार दोस्रो हार हो । टोली अंकविहीन रह्यो । त्यो पनि पुछारमा ।

प्रशिक्षक विजय महर्जनको प्रतिक्रिया थियो, ‘हामी अभाग्यशाली नै रह्यौं । हाम्रो समस्या भन्नु नै फिनिसिङमा छ ।’ उनको यो दाबी केही हदसम्म ठीक देखिन्छ । तर टिमको यो स्थितिमा सबै दोष उनलाई दिन मिल्छ, किनभने बुटवल–लुम्बिनी गोल गर्न बिर्सेको टिम हो । एउटा तथ्यांकले यसलाई स्पष्ट रूपमा पुष्टि गर्छ । आफूले खेलेका यसपल्टका दुवै खेलमा लुम्बिनीले गोल गर्न सकेको छैन । त्यो भनेको १ सय ८० मिनेटमै कुनै गोल निस्केको छैन । यसको अर्थ समस्या त टिममै छ । अब टोली दबाबमा आएको छ ।

टोलीले प्रतियोगितामा खेलेका पछिल्ला ६ खेललाई आधार मान्ने हो भने यो जत्तिको गोलमा कन्जुस गर्ने टिम अर्को कोही छैन । वर्ष ०७८ को टोलीले खेलेको अन्तिम ४ र अहिलेका २ खेलमा जम्मा एक गोल गरेको छ । त्यो भनेको ५ सय ४० मिनेटमा एक गोल । फेरि त्यही निर्णायक गोलमा फर्किने हो भने लुम्बिनीका लागि यो अफसाइडमा भएको गोल हो ।

त्यसैले यो गोलको मान्यता पाउनु हुन्न । गोल हुँदा लाइनमा रहेका सहायक रेफ्री थिए, माधव खत्री । प्रशिक्षक महर्जनले यसमा फरक मत राख्दै भने, ‘यो त निश्चित अफसाइडमै भएको गोल हो । यसमा हाम्रो ठूलो गुनासो छ ।’ सायद त्यस्तो थिएन । बरू त्यसको केही मिनेट अगाडिको एउटा घटनाले बुटवल–लुम्बिनी १० खेलाडीमा सीमित हुन सक्थ्यो । हिजाईले बल अगाडि बढाएका बेला आफ्नो पेनाल्टी एरिया छाडेर आएका गोलरक्षक मोहमदोउले उनलाई लडाएका थिए ।

सायद त्यसमा रातो कार्डको निर्णय हुन सक्थ्यो । तर, फिफा रेफ्री कविन व्यञ्जनकारलाई त्यस्तो लागेन । उनले फरक मत देखाए । धनगढीका प्रशिक्षक युगलकिशोर राईले भने त्यस स्थितिमा शतप्रतिशत रातो कार्ड देखाउनुपर्ने दाबी गरे । खेल आफैं भने धेरै हदसम्म रोमाञ्चक रह्यो । फेरि एकपल्ट सुस्त सुरुआतपछि खेलमा रौनकता थपिँदै गएको थियो । खेलमा दुवै टिमले आक्रमण धेरै गरे तर कुनै सटिक रहेन ।

त्यसैले धनगढीका प्रशिक्षक राईले एक कुरा सम्झाए, ‘फुटबल भुलहरूको खेल न हो ।’ उनका अनुसार यस्तो खेल हेर्न दर्शकलाई त मज्जा आउँछ, तर मैदानमा खेलाडी र तिनका प्रशिक्षकलाई भने मज्जा आउँदैन, असाध्यै गाह्रो हुन्छ । त्यसैले यस्तै कठिन स्थितिमा निस्केको गोलका लागि उनले आफ्नो टिम र खेलाडीलाई बधाई दिए । ‘प्लेयर अफ द म्याच’ धनगढीका मोहमद ताहा रहे । यसमा फरक मत हुनसक्छ, ताहा नै किन खेलको उत्कृष्ट खेलाडी भनेर ।

उत्कृष्ट खेलाडी छनोट गर्ने कमिटीलाई त्यस्तै लाग्यो । ताहाले खेलका क्रममा केही उत्कृष्ट बचाउ भने गरेकै हुन् । उनी सन् १९९८ मा ‘मिस्टर लेवनान’ चुनिएका थिए । उनी ‘ह्यान्डसम’ छन् । ‘हिरो लुक’ राख्छन् । उनले लेवनानका लागि तीन खेल खेलेका छन् । उनले ‘पोस्टम्याच कन्फ्रेन्स’ दिएको प्रतिक्रियामा पनि दम थियो । उनको भनाइ थियो, ‘व्यक्तिगत अवार्डको खासै महत्त्व हुन्न, मुख्य कुरा टिमले जित्नुपर्छ । पछिल्लो पटक धनगढी उपविजेता बनेको थियो, यसपल्ट च्याम्पियन हुन खेल्नुपर्छ ।’

(हिमेश : कान्तिपुर)

तस्वीर : हाम्रो खेलकुद