चैनपुर ताक्लाकोट सडक निर्माणको काम आठ महिना देखि बन्द

सात बर्षमा २२ किमि सडक निर्माण

सोमबार मङ्सिर १८, २०८०/ Monday 12-04-23
वसन्तप्रताप सिंह

वझाङ, १८ मंसिर ।
सुदुरपश्चिम प्रदेशकै समृद्धीको ढोका मानिएको चिनको तिब्बत जोड्ने चैनपुर ताक्लाकोट सडकको काम आठ महिना देखी ठप्प छ । यस सडकको तल्कोट रुपातोला देखी साइपाल गाउँपालिकाको धुली सम्म ४० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नार्गाजुर्न जेभी कम्पनीले सडक निर्माणको काम रोके सँगै स्थानिय मजदुरले काम गरेको ज्याला समेत पाउन सकेका छैनन ।

सडक निर्माणको काम रोकिए पछि निर्माणमा प्रयोग भएका डोजर र अन्य निर्माण सामाग्रीहरु रुपातोला र दुनिवन क्षेत्रमा अलपत्र छोडिएका छन । सडकमा ग्याविन जाली निर्माण, मेसिनरी वाल निर्माण लगायत काम गरेका १ सय ५० बढी कामदारहरुले पनि लामो समय देखी ज्याला पाउन सकेका छैनन । ‘यो सडकको लागि आएको पैसा लगेर ठेकदारले अन्तै खर्च गरेको भन्ने सुनेका छौं । हाम्रो ज्याला अहिले सम्म पनि दिएको छैन,तल्कोट गाउँपालिका ३, रुपातोलाका चट्टे बोहराले भने ‘यहाँका मजदुरले पाउँने रकम सबै गरेर २५ लाख भन्दा बढी छ । कसै कसैले पाँच वर्ष देखी काम गरेको रकम पाएका छैनन ।,उनले सडक निर्माणको काम बन्द भए पछि मजदुरी गरेको ज्याला गुम्ने होकी भन्ने चिन्तामा कामदारहरु रहेको बताए ।

बझाङको चैनपुर देखी चिनको ताक्लाकोट सम्मको कुल ११७ किलोमीटर मध्ये अहिले सम्म चालिस किलोमिटर सडक मात्रै निर्माण सम्पन्न भएको छ । कुल ८५ करोड लागतमा ठेक्का सम्झौता गरेको स्वच्छन्द नार्गाजुर्न जेभी कम्पनीले नेपाल सरकारबाट ६२ करोड भुक्तानी समेत लिइसकेको छ । त्रिदेशिय व्यापारीक र पर्यटकिय प्रयोजनका लागी निर्माण भैरहेकोे यो सडक छिटो सम्पन्न गर्नका लागि सेती लोकमार्ग अन्र्तगत उत्तर खण्ड (चैनपुर ताक्लाकोट ) मार्गको छुट्टै कार्यालय समेत स्थापना भएको छ ।

चैनपुर ताक्लाकोट सडक आयोजना कार्यालय नाम दिइएको आयोजना कार्यलयमा आयोजना प्रमुख, २ जना इन्जिनियर, २ जना सब इन्जिनियर, लेखापाल तथा अन्य सहयोगी कर्मचारीहरुको छुट्टै दरबन्दी समेत रहेको छ । आठ महिना सम्म सडक निर्माण रोकिदा पनि कार्यालयले ताकेता गर्न नसकेको स्थानियको भनाई छ ।

प्रत्येक निर्वाचनमा बझाङका नेताहरुले यही सडकलाई प्रमुख एजेन्डा बनाउने गरेको तर आठ महिना देखी निर्माणको काम ठप्प हुँदा नेताहरु बेखवर रहेको प्रति स्थानिय रोष प्रकट गर्न थालेका छन । ‘चुनावका बेला ताक्लाकोट भनेर नथाक्ने नेताहरु यत्रो समय सडकको काम बन्द हुँदा कानमा तेल हालेर बसेका छन, जयपृथ्वी क्याम्पसका सहप्राध्यापक लालबहादुर बोहरा भन्छन, ‘सडक निर्माणको काम छिटो होस भनेर छुट्टै कार्यालय राखिएको छ । त्यहाँका कर्मचारीहरु के हेरेर बसेका छन ?, उनले चुनावका वेला मात्रै ठुला कुरा गर्ने र अरु वेला नेता, कर्मचारी र ठेकदारहरु मिलेमतो गरेर विकास निर्माणका काममा ढिलाई गर्ने प्रवृतीका कारण सुदुरपश्चिमको विकासको सपना बर्षाै देखि अधुरै रहेको बताए ।

यता चैनपुर ताक्लाकोट सडक कार्यालयले भने ठेकेदार कम्पनीको आलटाले प्रवृतीका कारण निर्माणको काम रोकिएको बताएको छ । ‘कोरोनाको कारण जेभी कम्पनीका एक जना ठेकेदार इश्वरी भट्टको निधन भएकोले पनि काम ढिला भयो कार्यालय प्रमुख तुलाराम शर्माले भने ‘ त्यस पछि पनि काम छिटो सुरु गर्नु पर्यो भनेर ठेकदारलाई भनेको भन्यै छौं । आज गछौं ,भोली सुरु गर्छौ भनेर टारेको टारेइ गर्छ, कार्यालयले धेरै ताकेता गरे पछि एक दुइ दिन भित्र काम सुरु गर्ने भनेर ठेकेदारको प्रतिनिधी निर्माण स्थलमा गएको र केही दिन भित्रै निर्माणको काम पुन सुरु हुने उनको भनाई छ ।

कोरानाको कारण यो सडक निर्माणको काम हेर्ने मुख्य ठेकेदारको मृत्यू भएको, बर्षातमा काम गर्न समस्या भएको तथा म्याद थप सम्बन्धी प्रक्रिया पनि अगाडी बढाउनु पर्ने भएकोले केही महिना काम रोकिएको ठेकेदार कम्पनीका प्रतिनिधी दिवाकर भट्टले बताए । ‘विभिन्न कारणले विचमा काम रोकिएको थियो । अहिले सबै अफ्टेराहरु फुकाई सकेका छौ उनले भने ‘यो आर्थिक बर्ष भित्र हाम्रो जिम्माको काम सक्ने गरी काम हुन्छ, उनले मजदुरले पाउँन बाँकी भुक्तानीको बारेमा पनि छलफल भएको र पुनः तीनै मजदुरलाई काम लगाएर तिर्न बाँकी रकम विस्तारै दिने सहमती भएको बताए ।

बझाङको उरै भन्ज्याङसँग जोडिएको तिब्बतको ताक्लाकोट पुरानो व्यापारिक नाका हो । सडक सञ्जाल नभएका कारण यो नाका खुल्न सकेको छैन । सडक संजालमा जोडिएमा  यो चीनसितको अन्तर्राष्ट्रिय व्यापारिक तथा पर्यटकिय नाका हुने र सुदुरपश्चिम मात्रै नभएर पश्चिम नेपालको अर्थतन्त्रमा नयाँ आयाम थपिने सुदुरपश्चिमबासीको सपनालाई बझाङ मात्रै नभएर सुदुरपश्चिम प्रदेशकै सबैजसो नेताले चुनावका बेला राम्रै सँग उछाल्ने गरेका छन ।

चैनपुर–ताक्लाकोट सडक खुले चिनसितको व्यापारिक नाका खुल्ने र चीनको चर्चित धार्मिक स्थल कैलास मानसरोवरसम्म आउजाउ गर्ने मुलुककै प्रमुख पर्यटकीय मार्ग बन्ने नाराले मतदाता आकर्षित गर्ने गरेको भए पनि निर्वाचन पछि भने चुनावी वाचा विर्सिने गरेका छन ।

तस्विर : सडक निर्माणको काम बन्द भए पछि तलकोट गाउँपालिकाको रुपातोलामा थन्काइएका डोजरहरु । तस्विर : वसन्तप्रताप सिंह ।