Close This

‘केपी ओलीकै विरुद्धमा बोल्दा पनि केटाकेटीहरू बढ्ता हुने भनेर गाली गर्न फोन गर्नुहुन्थ्यो’

मंगलबार माघ २३, २०८०/ Tuesday 02-06-24
Paschim Today

२०७८ भदौ ३ गते पार्टी दर्ता गर्दा पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष माधवकुमार नेपालको हातै समातेर आयोग कार्यालयतर्फ डोर्‍याउँदै गएकी रामकुमारी झाँक्री अहिले पार्टी भित्र किनारामा छिन् । पार्टी सचिवको जिम्मेवारी पाए पनि त्यो अनुसारको उनको सक्रियता भने पार्टीमा छैन ।

 

 

उनी लगायत १४ जना प्रतिनिधिसभा सदस्यहरूकै ढाडसले नेकपा एकीकृत समाजवादी पार्टी तयार भयो । उनी सचिव भइन् । पार्टीको तर्फबाट मन्त्रीसमेत बनिन् । तर, अहिले भने उनका भाषण शैली फेरिएका छन् । तत्कालीन अवस्थामा ओली र एमालेविरुद्ध आगाे ओकल्ने झाँक्री अहिले यो अवस्था आउनुमा सबै दोषी रहेको बताउँछिन् ।

एमाले सचिव योगेश भट्टराईको जन्मदिनको अवसरमा ‘आफैँले कुनै महत्त्वपूर्ण निर्णय लिने वेला अभाव महसुस हुने रहेछ दाइ’ भन्दै लेखेको कुरा होस् या एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल नपुग्दा झाँक्री पुगेको प्रसङ्ग होस, यी परिदृश्यले एमालेसँग झाँक्री नरम छिन् भन्ने कुरा पुष्टि गर्छ ।

प्रस्तुत छ झाँक्रीसँग नेकपा एकीकृत समाजवादीभित्रको पछिल्लो अवस्था, एमालेसँगको निकटता र नरमतादेखि आगामी गन्तव्यका विषयमा गरिएको कुराकानी

एमाले हुँदै नेकपा र त्यसपछि नेकपा एकीकृत समाजवादीको यात्रालाई फर्केर हेर्दा के देख्नुहुन्छ ?

एमालेमै हामी हुँदा पार्टीको आन्तरिक गुटबन्दी निकै चर्को थियो । चर्को गुटबन्दीमा एकले अर्काप्रति आरोप प्रत्याराेप जारी रहे । एकदमै नराम्रो भयो । अहिले फर्केर हेर्दा प्रधानमन्त्रीलाई काम गर्दा पारेको अप्ठ्याराहरु अहिले म बुझ्दै छु । त्यो बेला त हामीले त्यो कुरा बुझ्थेनम् नि त ।

दल फुटाउने अध्यादेशबारे म अल्लि बढी विरोधी थिए । अस्थिरता ल्याउने गरी दलहरू विभाजित हुने कुरा ठिक होइन भनेर म त्यो कुराले प्रभावित भएँ । त्यसको केही समयपछि दल विभाजनको शृङ्खला जुन भयो म त्यसले बढी दुखी भएँ । दल विभाजन गर्न हुँदैन भन्दाभन्दै म विभाजनसम्म पुगेँ ।

त्योबेला तपाइले नै माधवकुमार नेपालको हात समातेर दस्तखत गर्न लैजानु भएको, अहिले दल विभाजन ठिक थिएन भन्नेमा कसरी पुग्नुभयो ?

म पनि सहभागी भएको कुरा त हो नि । कुन परिस्थितिबाट गुज्रेर म दल विभाजनको पक्षमा उभिएँ भन्ने मेरो इन्साइड स्टोरी अर्कै हो । देखिएको सत्य कुरा त तपाईंले भनेजस्तै हो ।

यो दल विभाजन गर्न हुँदैन । यो २० प्रतिशतको अध्यादेश ल्याउनु हुँदैन भन्दै आएको थिएँ म । तर, दुखद कुरा पार्टी विभाजन भयो।

पार्टी विभाजन भएर यता आएपछि त आफ्नो गरिखाने हो नि । हिजोको हाम्रो पार्टी एमाले, एमालेको नेतृत्वप्रति अब हिलो छ्याप्नु, कटाक्ष गर्नुको कुनै तुक छैन । अब आफ्नो मेहनत,आफ्नो एजेन्डा आफ्नो अस्तित्व, स्थायित्व आफूले गर्ने हो । त्यस कारण तुरुन्तै टोन परिवर्तन गरेको हुँ मैले ।

एमालेले अध्यादेश ल्याउँदा तपाईंहरूले विरोध गर्नुभयो । पछि तपाईंहरूकै लागि अर्को अध्यादेश आयो । त्यसलाई स्वीकार गर्नु भयो । आफू अनुकूल हुँदा सबै राम्रो नहुँदा नराम्रो हुने रैछ है ?

कुनै हालतमा सही होइन त्यो । अझ २० प्रतिशत भयो । ४० प्रतिशतमा वा बनाइएको थियो । त्यसलाई घटाएर २० प्रतिशत बनाएर वा बनाउने कुरा त कुनै हालतका ठिक होइन भनेर तत्कालीन प्रधानमन्त्रीज्यूलाई, त्यो बेला पूर्णबहादुर दाइहरू, ज्ञानेन्द्र कार्की दाइहरूलाई पार्टी फुटाउने बाटोमा नजानुहोस्, तपाईंहरूलाई अदालतले समस्या पारेको छैन, हामी विश्वासको मत दिन्छौँ भनेर म कतिपटक  कराएँ ।

म त्यता लाग्दैन थिएँ होला, तर १४ जनाभित्र म पनि कारबाहीमा परेपछि मेरो पनि बाध्यता भयो । त्यो गलत हो । त्यसलाई सही कहिल्यै पनि भनिनँ । अब देखिने गरी म पार्टी दर्ताको प्रक्रियामा त लागेकै हो त । सचिव हुँ, लागेँ।

ती दिन सम्झिँदा त तपाईंले नै नेतृत्व गरेको जस्तो लाग्छ नि ? पार्टी भित्रको चरम गुटबन्दीको प्रभाव हो विभाजन ?

एकदमै, अस्वस्थ गुटबन्दी त्यसको निकास नहुने । हामी सबै कुराको समाधान राजनीतिमा खोज्ने हाम्रो पनि तरिका ठिक भएन । पेसा व्यवसायमा रहेका मान्छेहरूले अहिले राजनीतिमा आएर सजिलै मन्त्री सांसद हुने किन इच्छा राखिरहेका छन् त ? राजनीतिलाई हामीले गलत बनायौँ ।

त्यसले गर्दा राम्रा नेताहरू ओझेलमा परे । अनि पार्टीमा गुटबन्दी सुरु । विधायक बनाउने कुरामा प्रष्ट मापदण्ड चाहिन्छ । त्यहाँ हामी चुकेकै हो । सबै पार्टी चुकिरहेका छन् ।

पार्टी विभाजनमा को बढी जिम्मेवार छन् तपाईँको नजरमा ?

सप्पै दोषी छम् । संसद् विघटन गर्नु केपी कमरेडको भुल थियो । पार्टी विभाजन गर्नु हाम्रो भुल भयो ।

तर, केपी ओलीलाई बाध्यता थियो । उहाँ अल्पमतमा पर्नु भएको थियो । २० जना स्थायी कमिटीका सदस्यहरूले उहाँलाई पदच्युत गराउन खोज्दै थिए त्यसको उहाँले सुरक्षित अवतरण खोज्नु भएको हो जस्तो लाग्छ ।

तर, त्यो हालमा पुराउन ती २० जना पनि दोषी छन् जसले प्रधानमन्त्रीलाई स्थायी कमिटीमा अल्पमतमा पारेर हस्ताक्षर गरेर छेउमा पुर्याउन खोजिरहेका थिए । त्यो पनि गलत थियो । त्यसैको शृङ्खला यहाँ आउँदासम्म हाम्रो यी सबै कुरा गलत हुन् ।

म बाहेक कसैले गलत भन्न सक्दैन किनकि उहाँहरूलाई यो कुरामा यो बेठिक म ठिक भन्ने छ तर, हामी पनि गलत छौँ

खासामा नेकपा एकीकृत समाजवादी पार्टीको गन्तव्य के हो ? समाजवादी मोर्चा नै गन्तव्य हो कि, एमाले वा माओवादीमा विलय हो कि ? पार्टी यस्तै चल्दै जाने हो कि बृहत् वामपन्थी एकता गन्तव्य हो ?

बृहत् वामपन्थी एकता नै गन्तव्य हो । तर, यस्तो एकता ठुलो पार्टीले चाहेर मात्रै हुन्छ । २०७४ सालमा गठबन्धन बन्यो । एमालेले नचाहेको भए कुनै पनि हालतमा हुने थिएन । हामीलाई त्यो बेला नेताहरूले तिमीहरू चुनावमा उठ्न पाउँछौ कि पाउँदैनौँ इच्छा नगर्नु है भनेको कुरा याद छ ।

बृहत् वामपन्थी एकताकै लागि हामी लाग्नु पर्छ, त्यो भनेको न्यानो मात्रै हो । यो लाग्नको लागि कसैलाई खड्किनु पर्छ । आजको दिनमा नेकपा एमालेलाई बृहत् वामपन्थी एकताको जरुरी देख्दिन म । एमाले तयार नहुँदासम्म त्यस्तो एकता हुने सम्भावना देख्दिनँ ।

समाजवादी पार्टीलाई चाहिएर पनि अर्को एकता हुँदैन । माओवादीलाई चाहिएर पनि हुँदैन । बृहत् वामपन्थी एकताको लागि एमाले तयार हुनु पर्छ । ढोको खोल्नु पर्छ ।

नेकपा हुँदा सङ्ख्यामा भर्ती गर्‍यौँ, त्यसले पनि टिकेन । त्यसरी नै जानु पर्छ ।

केपी ओली र माधवकुमार नेपाल एक अर्काप्रति शत्रुतापूर्ण भाव लिएर बस्दा तपाईंहरूले चाहेर पनि त एमाले र नेकपा एकीकृत समाजवादी बिचको वार्ता र संवाद त हुँदैन नि ?

उहाँहरूको व्यक्तिगत हिसाबले टकराव त छ, तर त्यो टकराबलाई पनि काम गराउनुपर्छ । जस्तो अघिल्लो वर्ष केपी कमरेडले माधव कमरेडलाई राष्ट्रपति बनाउन तयार भएको कुरा सत्य हो ।

त्यो सत्य बाहिर किन आएन भने त्यो गफ भएको सत्य हामी थारै मान्छेसँग थियो । त्यो बेला भिडिओ रेकर्ड राख्ने कुरा पनि भएन । पछि भेटघाट भयो । त्यो भेटघाटमा पनि ठोस प्रस्ताव आएन भनियो । सत्य कुरालाई लुकाएर बाहिर बाहिर अर्काे कुरा गर्नु गलत हो ।

उहाँहरूको इगो तिक्तता पनि कम हुन्थ्यो होला । अहिले नेताहरूलाई जुधाउने कुरा ठिक होइन ।

एमाले हुँदा माधव नेपाल र केपी ओलीको भन्दा ठुलो गुटबन्दी त तपाईँहरूकै पार्टीमा माधव नेपाल र झलनाथ खनालबीच पनि भइरहेको छ । अब पार्टीको नेतृत्व कसले गर्छ ?

महाधिवेशन सर्‍यो । अर्को महाधिवेशन टुङ्गो भएको छ । त्यो कारणले अगाडी कसरी बढ्छ त्यो हेर्न बाँकी छ । आजको दिनमा नेतृत्वको हिसाबले माधवकुमार नेपाल कमरेड नै हो । अहिले त पार्टी एउटा नेतृत्वको प्राइभेट कम्पनी जस्ता छन् नि । एमालेमा केपी कमरेडले जे सोच्यो त्यही हुन्छ । समाजवादीमा पनि एक प्रकारले भन्दा माधव नेपालले जे सोच्नु हुन्छ त्यही हुन्छ । कांग्रेसमा शेरबहादुर दाइ जे सोच्नुहुन्छ त्यही हुन्छ । माओवादीमा प्रचण्ड जे सोच्नुहुन्छ त्यही हुन्छ । सामूहिकता त छ तर, त्यसको औपचारिकता छ ।

अब महाधिवेशनमा यही नेतृत्वलाई काँध धाप्नुहुन्छ कि फिर्ने प्रयास गर्नुहुन्छ भन्ने मेरो प्रश्न हो ।

महाधिवेशनको सरगर्मी खासै लागेको छैन । त्यही भएको हुँदा कसरी जान्छ भन्ने कुरा म अनुमान पनि गर्न सक्दिनँ। हाम्रो महाधिवेशन हुन्छ कि हुँदैन र कसरी हुन्छ भन्नेमा मलाई कुनै आइडिया नै छैन ।

पछिल्लो समय तपाईंलाई एमालेप्रति नरम र आफ्नै पार्टी प्रति गरम भएको भन्छन् । च्यासलमा पनि माधव नेपालले बहिस्कार गरेको एमालेको चियापान कार्यक्रममा तपाईं र झलनाथ खनाल सहभागी हुनु भयो । त्यसको सङ्केत के हो ? एमालेसँग निकट हुने कि एमालेमै प्रवेश गर्ने ?

धेरै मान्छेको संवाद थिएन होला, मेरो चाहिँ केपी कमरेडसँग उहिल्यैदेखि संवाद हुन्थ्यो । उहाँको विरुद्धमा बोल्दा पनि केटाकेटीहरू बढ्ता हुने भनेर गाली गर्नको लागि फोन गर्नुहुन्थ्यो उहाँले । त्यो केही ठुलो कुरा नै थिएन ।

अर्को कुरा उहाँहरूको जस्तो इगो पनि होइन नि । मेरो त्यो प्रोफाइलको नेतासँग केको इगो हुँदो हो त ? मेरो उमेर समूहसँग होला नि भएदेखि । उहाँसँग हुने त कुरै भएन । नेताहरूको चाहीँ छ ।

हामी जन्मिने बेलामा उहाँहरूले पार्टी बनाइसक्नुभएको थियो । त्यहाँबाट हिँड्दा कतिचोटी खुट्टा ठोक्किएको होला कति पल्ट लात्ति लाग्यो होला । हामी त भर्खरैका हौँ ।

मर्दापर्दा दुख-विराम हुँदा सम्झेर जाने हो । तर, सुखमा सम्झेर निम्तो दिएको ठाउँमा नजाने भन्ने कुरा त नेपाली संस्कार भन्दा बाहिरको कुरा हो । त्यस कारण म गएँ । सबै खुसी भए । म पनि खुसी भएँ।

केही समयअघिको नेपाल प्रेसमै तपाईंले ‘प्रदीप ज्ञवाली र गोकर्ण विष्टसँग पार्टी एकताको संवाद गरौँ भन्ने हिम्मत छ ?’ भन्नुभएको थियो । उहाँहरूमा त्यो हिम्मत पलाएको पाउनुभएको छ ?

समाजवादी र एमाले एक बनाउन यी तलको दुर्की तिर्कीले केही हुनेवाला छैन । तल लागेर केही हुँदैन । हुने माथि नै लागेर हो । जस्तो एमालेको कुरामा अध्यक्ष कमरेडले स्वीकार गर्ने मान्छे लागेर हुने हो । यता पनि माधव कमरेडले स्वीकार गर्ने मान्छे लागेर हुन्छ । त्यसकारण अरू मान्छेले बाहिर दन्तबजान गरेको केही अर्थ छैन । तर, दन्तबजान गर्नुपर्छ । किनभने वातावरण बनाउन गरिरहनुपर्छ ।

वामपन्थी एकता भनेको समाजवादी र एमालेकै हो । माओवादीसँग भए गठबन्धन हुने हो । एकता भनेको यही नै हो सबैभन्दा नजिकको तर, आज दुवै टाढा छन् । आज त्यति सम्भावना छैन । एक दिन यस्तो दिन आउने छ त्यो सम्भावना हुन्छ । र म पार्टी एकताको पक्षमै उभिन्छु जसले जे भने पनि ।

अब के हुन्छ ? यही गठबन्धनबाटै २/४ सिट मागेरै तपाईंहरूको पार्टी अगाडी बढ्छ त ? कांग्रेसको तलसम्म पनि ‘हामीले दिएकै कारण त नेकपा एकीकृत समाजवादी बचिरहेको छ’ भन्ने भाष्य देखिँदै छ !

कांग्रेसका साथीहरूको यो र्यार्याउँ पनि हामीले हाम्रो पार्टी विभाजन गरेर, हामीले हाम्रो पार्टीमाथि अपराध गरेर हो भन्ने पनि थाहा पाउन आवश्यक छ ।

हामीलाई त्यति खिस्स्याइरहनु पर्दैन । हामीले हाम्रो आन्दोलनलाई के गर्‍यौ र तपाईंहरू हाम्रो खरानी लिएर कहाँ पुग्नुभयो भन्ने कुराको हिसाब हाम्रो मनभरि छ । त्यसकारण यस्ता ठुला कुरा गर्नै परेन ।

हामीले एमालेलाई मात्रै होइन हामी खरानी भयौँ । हामी सक्यौँ । हाम्रो खरानीको हिस्सामा पनि उहाँहरूले हिस्सेदारी दिएर बसिरहनुभएको छ ।