थारु भाषा, कला, संस्कृति र सङ्गीत संरक्षण गर्न प्रदेश प्रमुख मियाँको जोड
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, कला, संस्कृति र सङ्गीत संरक्षण गर्नु पर्ने अवस्था रहेको जनाएका छन् ।धनगढीमा आयोजना गरिएको प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले भाषा संस्कृति संरक्षण गर्न आफ्नो तर्फबाट पहल गर्ने बताए ।
‘यहाँको थारु भाषा, कला, संस्कृति र सङ्गीत निकै महत्त्वपूर्ण छ अहिले धेरैले यो भुल्दै गइरहेका छन् ’ उनले भने ‘यसको संरक्षण गर्न आवश्यक छ । म मेरो तर्फबाट हुने पहल गर्छु ।’ प्रदेश प्रमुख मियाँले थारु गीत सङ्गीतलाई राष्ट्रव्यापी बनाउन आवश्यक रहेको जिकिर गरे । उनले थारु साहित्यमा मौलिकता काम हुँदै गएको भन्दै त्यस्ता विषयमा पनि सर्जकहरूले ध्यान दिनुपर्ने बताए ।
आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले मुलुकमै पहिलो पटक थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरेर नवीन कामको सुरुवात गरिएको बताए । उनले थारु भाषा र संस्कृति संरक्षण गर्न सबै तहका सरकार लाग्न आवश्यक रहेको बताए । ‘नेपालमै पहिलो पटक हामीले भव्य रूपमा थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरेका छौ ’ चौधरीले भने, ‘थारु कला र संस्कृतिलाई आज विश्वले हेरेको छ । ’
प्रथम थारु राष्ट्रिय म्युजिक अवार्डको १९ विधाका विजेताहरूलाई अवार्ड वितरण गरिएको हो । १२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखेर मनोनयन सार्वजनिक गरेको थियो ।
तपाईको प्रतिक्रिया