Close This

गाउँको मुहार फेर्ने हो भने भोट हाल्ने चुनाव चिन्ह पनि फेर्नुस : लामिछाने

शनिबार बैशाख ८, २०८१/ Saturday 04-20-24
Paschim Today
फाईल तष्विर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले गाउँको मुहार फेर्ने हो भने भोट हाल्ने चुनाव चिन्ह पनि फेर्न मतदातालाई आग्रह गरेका छन्।

इलामको गजुरमुखीधाममा शनिबार बिहान भएको उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले पुरानै चुनाव चिन्हमा भोट हालेर गाउँको मुहार फेर्न संभव नरहेको बताए।

‘चुनाव चिन्ह पनि त्यही पुरानै, गाउँको मुहार चाहिँ नयाँ संभव छैन।’ लामिछानेले भने, ‘घण्टीमा भोट हालेर एकपटक परीक्षण गर्नुस् । घण्टीले काम गरेन भने घण्टी बजाउने होइन, घण्टीले नै बजाइदिए हुन्छ ।’

आफूहरुले काम गर्न नसके अर्को पटक अर्कै पार्टीलाई भोट हाल्न लामिछानेको आग्रह छ । उनले रक्सी र मासुमा भोट खेर नफाल्न पनि मतदातालाई आग्रह पनि गरे।

आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरु केही नभएको जिकिर गर्दै लामिछानेले भने, हामीसँग त तपाईंहरुलाई पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु र पैसा त कसरी बाँड्नु । बरु हामी त उल्टै तपाईंहरूको खाजा खाएर हिँड्दिन्छौं।’

मौन अवधिमा हुन सक्ने पैसाको चलखेल रोक्नका लागि आफूले सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको पनि बताए।

इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।