Close This

सुदूरपश्चिमको दोस्रो जित, कोसीको लगातार तेस्रो हार

आइतबार बैशाख ९, २०८१/ Sunday 04-21-24
Paschim Today

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनशिपमा रोमाञ्चक जित दर्ता गरेको छ।  आइतबारको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशलाई ३ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो। कोशी प्रदेशले भने प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेको छ। 

सुदूरपश्चिमले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोसी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५१ रन मात्र बनाउन सक्यो। कोसीका लागी श्रवण यादव ४६ र दिपेश कंडेल २१ रनमा नटआउट रहे। मिनस थापाले ३४ तथा समीर कार्कीले २२ रन थपे।  सुदूरपश्चिमका नारायण जोशीले २ विकेट लिए। नरेन साउद र बसन्त खत्रीले समान १ विकेट झारे। 

त्यसअघि कोसी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५४ रनको योगफल तयार पारेको थियो।  सुदूरपश्चिमका लागि ओपनर अविशेक पालले ६० रन बनाए। जारी प्रतियोगितामा अविशेकको यो दोस्रो अर्धशतक हो। दिपक बोहराले ३२ तथा गजेन्द्र बोहराले २९ रन बनाए। 

कोसीका ज्ञानेन्द्र श्रेष्ठ र कप्तान अंकित सुवेदीले समान २ विकेट लिए। सर्वन किस्कु र सौजन घिमिरेले समान १ विकेट लिए।