Close This

सुदूरपश्चिममा सत्ता समीकरण धरमर ! अन्योलमा सरकार विस्तार

आइतबार बैशाख ९, २०८१/ Sunday 04-21-24
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले पदभार ग्रहण गरेको तेस्रो दिनसम्म पनि सत्ता गठबन्धनमा रहेका दुई ठूला घटक सरकारमा सहभागी भएका छैनन् । मन्त्रालयको भागबन्डा र पावर शेयरिङका विषयमा ठोस सहमति नहुँदा सरकार विस्तार अन्योलमा रहेको छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले शपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका थिए । बिहीबार नै नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि सोही दिन शपथ लिएर शुक्रबारमात्रै पदभार ग्रहण गरेका थिए ।

एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । एमाले प्रदेशसभा सदस्य धर्मराज पाठकले पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरे पनि यस विषयमा थप छलफल भइरहेको जानकारी दिए ।

‘हामीले सरकारलाई समर्थन गरेका छौं । तर, तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका छौं’, उनले भने, ‘यस विषयमा शीर्ष नेताहरूबीच पनि छलफल जारी छ । हामी सत्ता गठबन्धनका घटकहरूबीच पनि छलफल भइरहेको छ । छलफलपछि सरकार विस्तारलगायतको विषयमा निष्कर्षमा पुग्छौं ।’

अहिलेसम्म नयाँ सरकारमा सहभागिता नजनाएको माओवादी केन्द्र पनि छलफलमा छ । माओवादीले प्रदेशअन्तर्गत उपलब्ध केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक बोलाएको छ । उक्त बैठकले सरकारका विषयमा ठोस धारणा तयार गर्ने माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताए ।

नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याका कारण पनि सरकार विस्तारमा ढिलाइ भएको बताइन्छ । नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी र टीका थापालाई बिहीबार नै मन्त्रीको शपथ गराउने तयारी थियो । तत्काल दुबै जनालाई विनाविभागीय मन्त्रालयको जिम्मेवारी दिएर पछि मन्त्रालय तोक्ने सहमति भएको थियो ।

तर, मन्त्रालय नतोकिँदासम्म शपथ नगर्ने बताएपछि कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइयो । टीका थापा भने शपथ ग्रहण स्थलबाटै बाहिर निस्किइन् । भोलिपल्ट उनले सरकारलाई आफ्नो समर्थन नरहेको भन्दै सामाजिक सञ्जालमै घोषणा गरिन् ।

मुख्यमन्त्री सोडारीले शीर्ष नेताहरूबीच छलफल जारी रहेको भन्दै चाँडै सरकार विस्तार हुने बताए ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी रहेको र त्यसका लागि सबै नेता काठमाडौं गएको हुँदा केही ढिलाइ भएको उनले दाबी गरे ।

माओवादीको सवालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम आउँदै गरेकाले यस विषयमा छलफल हुने उनको भनाइ छ ।