Close This

देखियो अति सङ्कटापन्न खरमजुर

मंगलबार बैशाख ११, २०८१/ Tuesday 04-23-24
Paschim Today

धनगढी, वैशाख ११ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अतिसङ्कटापन्न खरमजुर देखिएको छ । जङ्गल सफारीका क्रममा घाँसे मैदानमाथि उड्दै गरेको अवस्थामा खरमजुर देखा परेको नेचरगाइड महानन्द जोशीले जानकारी दिए। 

यसअघि चैत दोस्रो साता शुक्लाफाँटामा गरिएको खरमजुर गणनाका क्रममा सो प्रजातिको चरा एउटा पनि फेला परेका थिएनन् । शुक्लाफाँटामा केही सङ्ख्यामा खरमजुर रहेको तथ्याङ्क रहे पनि पहिलो चरणको गणनाका क्रममा खरमजुर नभेटिएपछि गणना टोली निराश भएर फर्किएको थियो । 

सो प्रजातिको चरा देखा परेकाले फेरि गणना हुने चराविद् एवं नेपाल पन्छी सङ्घ (बिसिएन) का प्रतिनिधि हिरूलाल डङ्गौराले जानकारी दिए । बिसिएनले शुक्लाफाँटा निकुञ्ज कार्यालयसँग समन्वय गरेर खरमजुरको वार्षिक गणना गर्दै आएको छ ।

निकै न्यून सङ्ख्यामा रहेको खरमजुर खर र घाँसको झाडीमा बस्ने गरेकाले फेला पार्न हम्मे नै हुने गरेको डङ्गौराको भनाइ छ । प्रजननको सिजनमा पोथीलाई आकर्षित गर्न भाले खरमजुर घाँसमाथि उफ्रिने र उड्ने गरेकाले फेला पार्न सहज हुने गरेको जनाइएको छ । 

यो बेला खरमजुरको प्रजनन सिजन पनि हो । सन् २०२३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटा खरमजुर भेटिएका थिए । सन् २०२१ मा सात वटा खरमजुर फेला परेको तथ्याङ्कमा देखिन्छ । विगतमा शुक्लाफाँटाको करैयाफाँटा, मोहनपुरफाँटा, किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रको घाँसे मैदानलगायतमा खरमजुर देखा परेको अभिलेख छ । 

अति सङ्कटापन्न खरमजुरको सङ्ख्या र अवस्थाबारे अध्ययन गर्ने उद्देश्यका साथ पहिलो चरणमा चैत १४ बाट गणना सुरु गरिएको थियो । पहिलो चरणको गणनाका क्रममा घाँसे मैदानमा खरमजुर नदेखिएपछि अप्रिल १५ बाट पुनः गणना गर्ने निकुञ्ज कार्यालयको तयारी छ ।