Close This

गौर नरसंहारको १७ वर्षः उपेन्द्रलाई कारबाहीको माग गर्दै परेको रिटमा कारण देखाउ आदेश जारी

बुधबार बैशाख १२, २०८१/ Wednesday 04-24-24
Paschim Today

सर्वोच्च अदालतले गौर नरसंहार सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । आज (बुधबार) न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला सरकारी वकिल कार्यालय रौतहटसमेतको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

गौर नरसंहारबाट पीडित बनेका परिवार तथा आफन्तले दोषीमाथि कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गौर नरसंहारमा नेकपा (माओवादी केन्द्र) का २७ जना कार्यकर्ता मारिएका थिए । २०६३ चैत ७ गते गौरमा माओवादी र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनआधिकार फोरमले एउटै स्थानमा छुट्टाछुट्टै मञ्च बनाएर आमसभा गर्ने क्रममा झडप भएको थियो । तत्कालीन फोरमले योजनावद्ध रुपमा माओवादीका कार्यकर्ता मागरेको आरोप लाग्दै आएको छ ।

ृहाल स्वाथ्य तथा जनसंख्यामन्त्री समेत रहेका उपेन्द्र यादवको उक्त घटनामा प्रत्यक्ष संलग्नता रहेको मधेशवादी दलहरुको आरोप छ । प्रायः मधेशवादी दलहरुले उक्त घटनामा उपेन्द्रलाई कारबाही हुनुपर्ने माग गर्दै आएका छन् । गत २०८० जेठ २१ गते दर्ता भएको उक्त रिटमा पटक–पटक पेशी तोकिएर पनि स्थगित भएको थियो ।

के हो बेला-बेला चर्चामा आउने गौर नरसंहार ?

२०६३ चैत ७ मा रौतहटको राइस मिल मैदानमा २७ जनाको केही घन्टामै कत्लेआम भएको थियो । यो कुनै घोषित सशस्त्र समूहबाट भएको थिएन । मधेशको अधिकारको लागि भन्दै जन्मिएको मधेशी जनअधिकार फोरमका कार्यकर्ताबाट भएको थियो । जुन राष्ट्रिय मानवअधिकार आयोगको रिपोर्टमा स्पष्ट उल्लेख छ ।

त्यो दिन विहानैदेखि गौरको राइसमिलमा तनाव बढिरहेको थियो । तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले राइस मिलमा एकै दिन एकै समयमा कार्यक्रमको तयारी गरे । दुवै टसमस भएनन् । दुवैले कार्यक्रमको मिति र समय सारेनन् ।

माओवादीले राइस मिलको मैदानमा मञ्च निर्माण गर्यो । मैदानको एक छेउमा फोरमले अर्को मञ्च निर्माण गर्यो । सुरुमा मञ्च एकै ठाउँमा बनाउन लागेका थिए । तर, पहिले फोरमले गर्ने त्यसपछि माओवादीले गर्ने समझदारीमा केही मिटर दुरीमा मञ्च निर्माण गरेका थिए ।

मञ्च निर्माणको केही बेरमै फोरमका कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए । जवाफमा माओवादी कार्यकर्ताले पनि फोरमको मञ्च भत्काए । घटना योजनावद्ध नै थियो । फोरमका सशस्त्र जत्था लुकेर बसेका थिए । मञ्च भत्काएपछि उनीहरु निस्किएर माओवादी कार्यकर्तामाथि आक्रमण गर्न थाले । राइसमिलमा रगत बग्यो । माओवादीका वाइसिएल कार्यकर्ताको भागदौड मच्चियो । रौतहट बाहिरबाट लगिएका कार्यकर्ता पनि थिए । उनीहरुमध्ये महिलाको विभत्स हत्या भएको थियो । सयौं घाइते भए ।

घाइते प्रतिमा खातुत, रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई भालाले रोपेर जिउँदै आगो लगाएर हत्या गरेका थिए । महिलाको स्तनसमेत काटेका थिए । जीवनका लागि हारगुहार गर्दा पनि विभत्स तरिकाले हत्या गरेका थिए । गौरदेखि पूर्वतर्फको बौधीमाई मन्दिरनजिक बाँसको फराठाले हानेर उनीहरुको हत्या गरिएको उल्लेख छ । माओवादीले बलात्कारपछि हत्या भएको भन्दै आएको छ ।

राइस मिलबाट पाँच किलोमिटर टाढा अर्को हत्या भएको थियो । भागिरहेका माओवादी कार्यकर्ताहरुलाई बागमदी नदीबाट कब्जामा लिई हजमनिया बोधिमाई मन्दिरमा हत्या गरे । माओवादीको बली दिने भनी ११ जनाको विभत्स हत्या भएको थियो ।

गौर बजारमा रहेको गेष्ट हाउमा लुकेर बसेका माओवादी कार्यकर्तालाई घरबाहिर थुती गोली हानी कुटीकुटी मारेका थिए । मारिनेमा रौतहटकै दिपक पाण्डे, रेखा परियार पनि थिए । घटनामा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक एक गरी २७ जना मारिएका थिए ।