Close This

माधव नेपाल भन्छन्– योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24
Paschim Today

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन्। बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताए।

हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउँदै अध्यक्ष नेपालले बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्नेकुरामा हुनुपर्ने बताए।  ‘हाम्रा विज्ञहरुले, अर्थ विज्ञहरुले, योजना विज्ञहरुले हाम्रो देशका विकासका समस्या के हुन्रु त्यो समस्याहरुलाई हामीले पहिल्याउन सकेका छौँ की छैनौँ। यो जम्मै पक्षहरुमा जसरी हामीले अझै  ध्यान दिनुपर्ने हो, अझै पुगेको छैन की जस्तो लागेको छ।

हामी हचुवा पाराले काम गर्छौं,’ अध्यक्ष नेपालले भने, ‘देशभरका जतिपनि ७ सय ४३ वटा पालिका छन्। एकै पटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ। जहाँ जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउनेरु यसमा प्राथमिकीकरणको कमी छ।’

समस्याहरूको पहिचान गर्ने, अनुसन्धान गर्ने कुरामा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने उनले बताए। ‘त्यसको निम्ति कतै हाम्रो अध्ययन र अनुसन्धान गर्ने क्षेत्रमा जति ध्यान दिनुपर्ने हो, राज्यले त्यसमा जोड दिनुपर्ने हो, त्यसमा त्यति ध्यान नदिएको महशुस मलाई लाग्छ। बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्नेकुरामा हो। अनुसन्धान गर्ने कुरामा। समस्याहरुको पहिचान गर्नेकुरामा खर्च गर्नुपर्छ। जति धेरै विज्ञहरुलाई, जति धेरै त्यस क्षेत्रका जानकारलाई परिचालित गर्नसक्यौँ, त्यति धेरै हामी सही निस्कर्षमा पुग्न सक्छौँ,’ नेपालले भने।

पूर्वप्रधानमन्त्री नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताए। कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताउँदै उनले सिंचाईको राम्रो व्यवस्था गर्न, मलको राम्रो बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको बताए।

‘यस क्षेत्रमा अझै पनि अपेक्षित मात्रामा हाम्रो ध्यान पुगेको छैन। हामीले हवाई मैदान त बनायौँ, तर जहाँ बनाउनुपर्ने हो, पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छैन, गेम चेन्जिङ प्रोजेक्ट केके हुन् तरु प्रत्यक्ष प्रभाव पार्नसक्ने क्षेत्र कुनकुन हुन्, त्यसको अध्ययन हामीले गर्नसक्यौँ की सकेनौँ। मैदान होस् वा चाहे अरु कुनै क्षेत्रमा लगानी गर्ने कुरा होस्। त्यसमा अध्ययन हुनुपर्छ,’ उनले भने।