Close This

पराजयपछि माओवादी उम्मेदवार बुढा : लड्ने–नलड्ने दोधारबिच पनि मत बढाउन सफल भएँ

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । तर माओवादी उम्मेदवार जनकबहादुर बुढा आफूले प्राप्त गरेको मत सन्तोषजनक रहेको बताउँछन् । उम्मेदवारी दिने दिन चैत २४ गतेसम्म पनि पार्टीले उम्मेदवारी फिर्ता लिने हो कि भन्ने मानसिक दबाबमा रहेका उनले अहिले प्राप्त मतपरिणामबाट आफू खुसी रहेको प्रतिक्रिया दिएका हुन् ।

 

 

‘हाम्रो लागि अपेक्षित यो मत हो । अघिल्लो प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीको मत तीन हजार ३०० जति थियो । त्यतिबेला खसेको मत प्रतिशत पनि बढी नै थियो । अहिले कम मतदान हुँदा पनि ३ हजार ८०० जति मत आउनु राम्रो हो,’ सोमबार उनले भने, ‘यस चुनावले हाम्रो कमी–कमजोरी कहाँ छन् ? हाम्रो संगठन कहाँ कमजोर छ ? र कहाँ अलि मेहनत गर्नुपर्छ भन्ने चित्र हामीले प्राप्त गरेका छौँ । खासगरी १० वर्षको अवधिमा हाम्रो मतसंख्या, संगठन के हो ? कुन अवस्थामा छ भन्ने कुरा हामीले आङ्कलन गर्न सकेका थिएनौँ । अब त्यो आङ्कलन प्राप्त गर्‍यौँ । यसबारे हामीले मंगलबार जिल्ला समितिमा समीक्षा बैठक राखेका छौँ । अब २०८४ को योजना बनाएर अगाडि बढ्छौँ ।’

बुढाले अब पार्टी बचाउनका लागि अब कम्तीमा पनि एउटा निर्वाचन एक्लै लड्न पार्टीले आँट गर्नुपर्ने बताए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग मिलेर पार्टीले प्राप्त गरेको सिट एक्लै लडेर आउने उनको दाबी छ ।  

‘पार्टीले कांग्रेससँग गठबन्धन गर्दा संघीय संसद्मा जति सिट जितेको थियो, त्यतिको सिट त सिङ्गल–सिङ्गल जाँदा पनि प्राप्त गर्छौँ । आगामी निर्वाचनमा ५/७ लाख मत थप्छौँ । अहिलेको निर्वाचन प्रणालीमा एउटै पार्टीको बहुमत आउने स्थिति छैन । गठबन्धन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने छलफलको विषय हुन सक्छ । पार्टीको रक्षाका लागि माओवादीले तत्काल एउटा चुनाव सिङ्गल लड्न जरुरी छ । हाम्रा मतदाताहरूले चुनाव चिन्ह बिर्सिएका छन् । यति नगरे पार्टी सुदृढ र व्यवस्थित हुँदैन । पार्टीलाई बिस्तार गर्नका निम्ति पनि आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने आँट गर्नुपर्छ,’ पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै उनले भने ।  

सोमबार दिउँसो प्राप्त भएको अन्तिम मतपरिणाम अनुसार बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका थिए । भण्डारीले ११ हजार ६१३ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा बुढाले तीन हजार ८३१ मत प्राप्त गरेका थिए । चौथो स्थानमा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार १४ मत प्राप्त गरेका थिए । 

२०६४ र २०७० को संविधानसभा निर्वाचन एक्लै भिडेको माओवादीले ११ वर्षपछि माओवादीले एक्लै प्रतिस्पर्धा गरेको हो । २०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेको उसले २०७९ मा कांग्रेसलगायत दलहरूसँग गठबन्धन गरेको थियो ।