Close This

बझाङमा कांग्रेसको विश्लेषण- नेकपा एसले एमालेको भोट सोचे जति काट्न नसक्दा हार्‍यौं

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा एक सीट गुमाउनु परेको छ । यसअघि कांग्रेसले जितेको बझाङ १ (१) मा एमालेका दमन भण्डारी निर्वाचित भएपछि एमालेको एक सीट बढेको छ भने कांग्रेसको घटेको छ ।

 

नेकपा एकीकृत समाजवादीले एमालेको भोट सोचे जति काट्न नसकेकाले कांग्रेसले जीत निकाल्न नसकेको नेताहरुले बताएका छन् । नेकपा एसले उसकै प्रभाव क्षेत्र मानिएका ठाउँमा पनि पटक्कै भोट ल्याउन नसकेपछि एमालेलाई सहज बनेको कांग्रेस नेता सत्यराज भण्डारीले बताए ।

कांग्रेसले चुनावअघि नेकपा एसले कम्तीमा ३ देखि ४ हजारसम्म मत ल्याउने र त्यति भएपछि एमालेलाई हराउन सकिने आँकलन गरेको थियो । सुदूरपश्चिममा एमाले विभाजनको सबैभन्दा बढी प्रभाव परेको जिल्ला बझाङ भएकाले उसले एमालेको मत उल्लेख्य काट्ने अपेक्षा थियो ।

तर, नेकपा एसका दिलबहादुर सिंहले जम्मा २,५१४ मत पाए भने माओवादीका जनकबहादुर बुढाले ३,८३१ मत पाए । जुन मत अघिल्लो निर्वाचनमा कांग्रेसले पाएको थियो ।

नेकपा एसले जितेकै पालिकाबाट एमालेले धेरै मत ल्याएपछि कांग्रेसको जीत असम्भव भएको नेताहरुको भनाइ छ । छबिसपाथिभेरामा एमालेले स्थानीय तहमा एउटा वडा पनि जितेको थिएन । तर, त्यही ठाउँबाट यस पटक एमाले पहिलो भयो ।

यसअघि कांग्रेसलाई जिताउन सघाएका माओवादी केन्द्र र नेकपा एस अलग अलग लडेका कारण पनि एमालेलाई सहज भएको कांग्रेसको विश्लेषण छ ।