सेती नदीमा बेपत्ता भएकाको शव तीन दिनपछि फेला

बुधबार बैशाख १९, २०८१/ Wednesday 05-01-24
Paschim Today

दिपायल, वैशाख १९ गते । सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिका-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।

डोटीको शिखर नगरपालिका-८ लुवाखडीस्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ सोमबार बेपत्ता भएका थिए । धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका थिए ।

तामाङको शव बेपत्ता भएकै स्थानमा फेला परेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताउनुभयो । बेपत्ता तामाङको खोजी कार्यका लागि अत्तरियास्थित सशस्त्र प्रहरी बल ७ नं। वैद्यनाथ बाहिनीबाट रबर बोटसहित गोताखोर टोली खटिएको थियो । लामो समयको खोजिकार्य पछि खोजीका लागि अत्तरियाबाट सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको नगर प्रमुख बलायरले बताए ।

सशस्त्र प्रहरी बलको गोताखोर टोली, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई नेतृत्वको टोली र स्थानीयले तीन दिन देखि खोजिकार्य जारी राखेको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।