Close This

सुखडमा २८ गते देखी जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै, ट्रफि सार्वजनिक

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24
Paschim Today

कैलाली । कैलालीमा आगामी २८ गते देखी जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । आज कैलालीको घोडाघोडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी गराइएको छ ।

कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता वैशाख २८ गते देखी ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने महासचिव ललित मिश्रले जानकारी दिए ।  ‘हामीले घोडाघोडीमा भव्य तयारीका बिच प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका छौँ’ उनले भने ‘अखिल नेपाल फुटबल संघ एन्फाको दीर्घकालीन फुटबल खेलको विकासको लागि प्रतियोगिता आयोजना हुन लागेको छ ।’

No description available.

प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरि २० टिमको सहभागी रहने महासचिव मिश्रले जानकारी दिए । २८ गते देखी प्रत्येक दिन ३ खेल खेलाइने जानकारी गराइएको छ । कैलालीमा पहिलो पटक जिल्ला लिग फुटबल प्रतियोगिता विजेताहरूको लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । 

ए डिभिजन लिनको विजेता क्लवले ७५ हजार र दोस्रो हुने क्लवले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

ट्रफि सार्वजनिक

जिल्ला लिग फुटबल प्रतियोगिताको लागि आज ट्रफि पनि सार्वजनिक गरिएको छ । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले प्रतियोगिताको ट्रफि सार्वजनिक गरेका हुन् । ट्रफि सार्वजनिक गर्दै उनले घोडाघोडी नगरपालिकाका मेयर खडक रावत, प्रवक्ता घनश्याम ओझा र स्थानीय आयोजक घोडाघोडी क्लबका होम तामाङलाई ट्रफि हस्तान्तरण गरेका थिए ।

No description available.

ट्रफि सार्वजनिक कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले खेलकुदका गतिविधि बढाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । पूर्व कप्तान खड्काले मोफसलमा फुटबलप्रतिको आकर्षण लोभलाग्दो भएको बताए । उनले सरकारले खेलकुद मैत्री नीति बनाउनु पर्नेमा जोड दिए ।

कैलाली जिल्ला लिग फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले घोडाघोडीको हुने लिग प्रतियोगिता अहिले सम्मकै उत्कृष्ट हुने बताए ।