Close This

हेल्थ डेस्कका कर्मचारीले ९ महिनादेखि पाएनन् तलब, हातमा कालोपट्टी बाँधेर काम गर्दै

मंगलबार बैशाख २५, २०८१/ Tuesday 05-07-24
Paschim Today

 कोरोना संक्रमणका बेला सुदूरपश्चिमका नाकाहरुमा धमाधम हेल्थ डेस्क स्थापना भए । कर्मचारी पनि भर्ना गरिए । जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले परीक्षण पनि गरे । अहिले पनि नाकामा कोरोना संक्रमणदेखि, मलेरिया, क्षयरोग र एचआईभीलगायतको परीक्षण भइरहेको छ । तर नाकामा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु भने ९ महिनादेखि तलबविहीन भएर काम गरिरहेका छन् ।

सुदूरपश्चिमका ५ ठाउँमा कार्यरत २७ जना स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब पाउन सकेका छैनन् । सुरुमा स्थानीय तहबाटै तलब बुझ्ने उनीहरुलाई पछिल्लो समय स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत तलब उपलब्ध गराउँदै आएको थियो ।

 

 

तर गत वर्ष साउनदेखि तलब नबुझेको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘हामीले जिल्ला प्रशासनदेखि प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य सेवा विभागमा पनि निवेदन दिएका छौं, तर अर्थ मन्त्रालयबाटै बजेट नछुट्याएका कारण तलब नआएको जानकारी आएको छ,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले भने, ‘अझै पनि हामीले पारिश्रमिक पाउने ठेगान छैन ।’

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुर, बैतडीको जुलाघाट र दार्चुलाको पुलघाट गरी ५ वटा हेल्थ डेस्कमा कार्यरत २७ जनाले पारिश्रमिक नपाएका हुन् । उनीहरुले सोमबारदेखि कालोपट्टी बाँधेर काम गरिरहेका छन् । जेठ १ सम्म पनि पारिश्रमिक नपाइए हेल्थ डेस्कमा ताला लगाइने भट्टले बताए ।

गड्डाचौकी हेल्थ डेस्कमा १२ जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये २ जना स्वास्थ्य निर्देशनालय र २ जना त्रिशूली प्लस नामक संस्थाबाट कार्यरत छन् । उनीहरुको मात्रै नियमित रुपमा पारिश्रमिक आइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रणम महाशाखाको बजेट अन्तरगत भर्ना भएका अन्य ८ जनाको भने पारिश्रमिक आएको छैन ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खड्काले संघीय सरकार अन्तरगतको कार्यक्रमबाट नियुक्त भएका हेल्थडेस्कमा कार्यरत स्वास्थ्यकर्मीका लागि यो वर्ष आवश्यक बजेट नआएकाले पारिश्रमिक उपलब्ध गराउन नसकिएको बताए । ‘विगतमा यसका लागि दुई करोड बजेट आउथ्यो, यो वर्ष १८ लाख मात्रै आएको छ,’ उनले भने ।