Close This

सुन्दर खप्तडका कुरुप पाटाहरु

मंगलबार बैशाख २५, २०८१/ Tuesday 05-07-24
दीर्घराज उपाध्याय ।

बैशाख १९ गते धनगढीबाट २२ जनाको टोली खप्तडका लागि हिड्यो । टोलीमा ओशो तपोवनका स्वामी आनन्द अर्हत सहित ओशो सन्यासीहरु थिए । १९ गते राति बझाङको दारु गाउँमा बास बसेका उनीहरु भोलिपल्ट २० गते खप्तड पुगे । २१ गते बिहान सबै घुम्न निस्किए । कोही सहस्त्रलिंग । कोही त्रिवेणी । कोही खापर दह । कोही खप्तड बाबा आश्रम । तर स्वास्थ्य बिग्रिएका कारण ओम पनेरु बाहिर निस्किन सकेनन ।

दुई दिनको बसाई पछि २२ गते बिहान १८ जनाले खप्तड छोडे । चार जना खप्तडमै रहे । लेक लागेर गम्भीर बिरामी भएका पनेरु हिड्न सक्ने अवस्थामा थिएनन । पनेरुको साथमा पत्नी सरला थिईन । उनको उद्दार र सहयोगका लागि भरत काफ्ले दम्पत्ती संगै थिए । उज्यालो भएपछि उद्दारका लागि हेलिकोप्टरको खोजी थालिएको थियो । 

परिवारजन र आफन्तले उनको उद्दारका लागि हेलिकोप्टरका लागि चौतर्फी आग्रह गरे । त्यहीबीचमा नेपाली सेनाको सुदूर पश्चिम पृतनासंग कुरा भयो । सुर्खेतमा हेलिकोप्टर रहेको जानकारी प्राप्त भयो । र, उद्दारका लागि खप्तडस्थित सेनाको गुल्म मार्फत सुदूर पश्चिम पृतना हुदै हेडक्वार्टर पत्राचार भयो । उता डोटीका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा समेत उद्दारका लागि पत्रचार गरियो । गृह मन्त्रालयले सेनाको हेडक्वार्टरमा पत्राचार ग¥यो । सेनाले हेलिकोप्टरको उद्दार शुल्क तीन लाख ७० हजार रुपैया अग्रिम बुझाउन भन्यो । परिवारजनले बिहान ९ बजे सेनालाई उद्दार शुल्क बुझायो । त्यसपछि सेनाका उच्च अधिकारीले पाँच मिनेटमा उद्दारका लागि सुर्खेतबाट हेलिकोप्टर उड्ने जानकारी दिए । हेलिकोप्टर आउने जानकारी पाएपछि पनेरुसंगै पत्नी सरला उत्साही भईन ।

उद्दारको आसमा सकि नसकी हिडेर गुल्म पुगेर पनेरु आफैले उद्दारका लागि निवेदन दिएका थिए । स्वास्थ्य अवस्था बिग्रिदै गयो । एक पाईला पनि हिड्न सक्ने अवस्था नरहेपछि उनी सेनाको गुल्मको गेट नजिकै पल्टिरहे ।

यसैबीच खप्तड राष्ट्रिय निकुञ्जले हेलिकोप्टरको ल्याण्डिङ शुल्क तीन हजार रुपैयाको पर्ची काटिसकेको थियो । र, हेलिकोप्टरमा दुई जना पाईलट सहित पाँच जना मात्र उड्न मिल्ने सेनाले जानकारी दिएपछि पनेरुका साथमा रहेका चार जना मध्ये भरत काफ्ले खप्तडबाट धनगढीका लागि हिडिसकेका थिए ।

पनेरु दम्पत्ती हेलिकोप्टर कुरिरहे । ९ बजे बिहान पाँच मिनेटमा उड्छ भनिएको हेलिकोप्टर दिउँसो १ बजेसम्म उडेन । बिहान ६ बजेदेखि उद्दारका लागि अनुनय बिनय गर्न कुनै ठाँउ बाँकी थिएन । प्रधानमन्त्री कार्यालय । गृह मन्त्रीको सचिवालय । पूर्व प्रधानमन्त्रीको सचिवालय । नेपाली सेनाको हेडक्वार्टर । पृतना । सबै ठाउँमा आफन्त र परिवारजनले उद्दारका लागि आग्रह गरे । उद्दारका लागि पहल गरिदिन आग्रह गर्दा गृहमन्त्रीका स्वकीय सचिव दीपक बोहराले सेनाले आफूलाई रेस्पोन्स नगरेको लाचारी जवाफ दिए ।

उता हेलिकोप्टर आसैआसमा बिहान ६ बजेदेखि दिउँसो एक बजेसम्म कुरेका पनेरु गलीसकेका थिए । हेलिकोप्टर आउने आस मरेपछि दिउँसो एक बजे खप्तडस्थित नेपाली सेनाको समरजीत गुल्मका सैनिक जवानहरु पनेरुलाई डोको बोकेर बझाङको खप्तड छान्ना गाउँपालिकाको दारुगाउँ तर्फ हानिए । केहीबेरमा डोकोको डोरी टुट्यो । अर्को डोरीको व्यवस्था गरी सेनाको टोली उनलाई बोकेर त्यहाँबाट निस्कियो ।

उनलाई बोकेर सेनाको टोली लोखडा पुग्दै थियो । त्यहीबेला प्रधानमन्त्री कार्यालय र पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयबाट प्रधानसेनापतीलाई उद्दारका लागि निर्देशन भएपछि मात्र नेपाली सेनाको पृतना सकृय भयो । र, दुई बजेपछि पृतनापतिले हेलिकोप्टर पठाउन तयार रहेको जानकारी दिए ।

उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा रहेको जानकारी पाएपछि पनेरुका परिवाजन बिहान फिर्ता ल्याएर आएको रकम लिएर दुई बजे पुनः तेघरीस्थित सेनाको पृतना पुगे । त्यतिबेलासम्म सेनाको उद्दार टोलीले पनेरुलाई लोखाडा पु¥याईसकेको थियो । लोखाडामा हेलिप्याड थिएन । त्यहाँ हेलिप्याड नहृदा पनेरुलाई कि पुनः बोकेर खप्तड पु¥याउनु पर्ने भयो । त्यहाँ लैजादा ज्यान जोखिममा पर्ने । चैनपुर पु¥याउन उल्टा बाटो पर्ने । र, समय पनि धेरै लाग्ने ।

त्योभन्दा जतिसक्दो पनेरुलाई दारुगाउँ पु¥याउन उचित थियो । त्यहाँ गाडीको व्यवस्था गरिएको थियो । र, अर्को गाडी डडेल्धुराबाट तमैल हिडिसकेको थियो । र, धनगढीबाट सुबिधायुक्त एम्बुलेन्स र थप एक गाडी बझाङ तर्फ हिडिसकेको थियो ।

सेनाको टोलीले बोकेर साँझ ६ बजे पनेरुलाई दारुगाउँ पु¥यायो । त्यहाँबाट स्कारपियोमा उनलाई तमैल पु¥याईयो । डडेल्धुराबाट आएको गाडीले उनलाई तमैलबाट मध्यराति डडेल्धुरा अस्पताल पु¥यायो । पनेरुको भिडियो एक्सरे गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धनगढी लगियो । बिहान धनगढी पु¥याईएका पनेरुलाई दिनभरी निजी अस्पतालमा राखियो । न त उनको दुःखाई कम भयो । न उनको धनगढीमा उपचार हुन संभव देखियो । दिनभरीमा उनको दुःखाई कम गर्न २२ पटक चिकित्सकले सुई लगाए । तर उनको दुःखाई कम भएन ।

धनगढीमा पनि उपचार संभव नभएपछि साँझ उनलाई प्लेनमा काठमाण्डौं लगियो । आईतवारदेखि उनको ह्याम्स हस्पिटलमा उपचार भईरहेको छ । र, उनको यतिबेला स्वास्थ्य अवस्था सुधारोन्मुख छ । चिकित्सकहरुले उनको स्वास्थ्य समस्याको पहिचान गरेर औषधी गरिरहेको छ । र, उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

कतिपय पाठकलाई लाग्ला एउटा व्यक्तिलाई लिएर यति लामो गन्थन किन लेखेको होला ? यो कुनै एउटा व्यक्तिले भोगेको पीडा होईन, यो खप्तडमा जाने आम पर्यटकले भोग्ने पीडा हो ।

खप्तड पुगेर लेक लाग्यो वा स्वास्थ्यमा जटिलता उत्पन्न भयो भने न त्यहाँ सामान्य उपचारको सुबिधा छ । न त उद्दार हुने संभावना । न त सेनाले पनेरुलाई झै सबैलाई उद्दार गर्छ ।

त्यसो हो भने के खप्तड मर्न जानु त ? हो, खप्तडको सुन्दरताको बयान सुनेर वा पढेर जानेहरुले खप्तड जानुअघि मर्न तयार हुनुपर्छ । पनेरुले भोगेको पीडाले यही भन्छ ।

उनको परिवार उद्दारका लागि हेलिकोप्टरको शुल्क तिर्न तयार थियो । र, हेलिकोप्टरको शुल्क सेनालाई बुझाईसकेको पनि थियो । तर सबैको त्यो क्षमता पनि हुदैन । र, पहूँच र भनसुन गर्ने मान्छे पनि हुदैन ।

सरकारले जारी गर्ने भनेको ‘लेक लागेर खप्तडमा एक जनाको मृत्यु’ को सूचना मात्र हो । त्यो भन्दा बढि सरकारले केही गर्नेवाला छैन ।

भिआईपीको सवारीमा व्यस्त हेलिकोप्टरहरु खप्तडमा लेक लागेर मर्ने मान्छेहरुको उद्दारमा परिचालन हुने व्यवस्था कम्तिमा अझै आईसकेको रहेनछ । भलै, नागरिकबाट चुनिएकाहरुले यतिबेला सत्ता चलाईरहेका छन् । व्यवस्था जे सुकै होस, गणतन्त्र वा लोकतन्त्र, सत्तामा पुगेपछि उ शासक हुदो रहेछ । पनेरुको उद्दारमा देखिएको सरकारको उदासिनताले यही भन्छ ।

र, शासकलाई नागरिकको पीडा र मृत्यु दुखेको ईतिहास छैन । शासक त मृत्युभन्दा पनि क्रुर हुन्छ । क्रुर शासक भएको देशका नागरिकले भोग्नु पर्ने नियति भनेकै अकाल मृत्यु हो ।

खप्तड मर्न जाने कि मनोरम दृष्यावोलकनका लागि ?

खप्तड नेपालको सबैभन्दा बढि चर्चा र बखान गरिएको पर्यटकीय गन्तव्य हो । खप्तडको सुन्दर पक्षको चर्चा धेरै भयो । तर यस्का कुरुप पक्षहरु सधै लुकाईए । खप्तड जति सुन्दर छ, यसको व्यवस्थापन पक्ष त्यति नै कुरुप छ । यति ध्वस्त र अस्तव्यस्त पर्यटन विकास समिति र गैर जिम्मेवार व्यवस्थापन पक्ष सायदै अन्यत्र  होला ।

ती कुरुप पक्षहरु यस कारण पनि बाहिर आउन जरुरी छ कि, खप्तडको पर्यटन प्रबद्र्धन र विकासका नाममा करोडौ रुपैया खर्च हुदा त्यसको सुधार किन हुन सकेन ?

निजी क्षेत्रलाई प्रोत्साहित गर्ने सरकारी नीति छैन । खप्तड जाने रुटहरु व्यवस्थित छैनन । सार्वजनिक–निजी साझेदारीको मोडेलमा खप्तडको वातावरण नबिग्रिने गरी सुबिधा युक्त होटल सञ्चालनमा आउन सके पर्यटकहरुलाई सुबिधा हुने थियो ।

कच्चा पदार्थ नचाहिने संसारको सबैभन्दा ठूलो उद्योग हो, पर्यटन । एडभेञ्चर, एक्सेसबिलिटी, एकोमोडेसन (थ्रि ए) मा निर्भर छ, पर्यटन । पर्यटनका लागि सुरक्षा र सुबिधा अपरिहार्य कुरा हुन् । खप्तड यात्रामा एडभेञ्चर त छ, तर एक्सेसबिलिटी, एकोमोडेसनको सुबिधा सहज छैन ।

खप्तडमा गतिलो बास बस्ने ठाउँ छैन । झिग्रानादेखि बीचपानीसम्म पानीको सुबिधा छैन । बीचपानीसम्मको ठाडो उकालो काट्न हरकोहीलाई मुस्किल हुन्छ । त्यसमाथि गर्मीयाममा पानी नपाउदा यात्रुको अवस्था कस्तो होला ? यस विषयमा अहिलेसम्म कुनै पक्ष र निकायको ध्यान जान सकेको छैन ।

वर्षा, असिना र हिमपातबाट जोगिन बाटोमा कही ओत लाग्ने ठाउँ छैन । ओत लाग्ने ठाउँ नभएकै कारण डेढ दशकअघि हिमपातमा पुरिएर बूकी दहमा चार जना सैनिकको ज्यान गएको थियो । झिग्रानाबाट खप्तड मुख्यालयसम्मको बाटोमा किनेर खाउ भने पनि पानी र खानेकुरा पाईदैन । बाटोमा न खानेकुरा पाईन्छ । न त पानी नै । शौचालयको व्यवस्था छैन । जताततै मान्छे हिडेको देखिन्छ । ‘साईनेज’हरु ठाउँठाउँमा नहुदा मान्छे हिड्ने बाटोलाई पछ्याउदै अघि बढ्ने मान्छे हराउन सक्छ । अलमलिन सक्छ ।

चैत बैशाखमा खप्तडमा लाली गुराँस ढक्कमक्क फुलेका हेर्न पाउदा जो कोहीको मन प्रफुल्लित हुन्छ । तर सुख्खा पाटन हेर्दा मन बिरक्त हुन्छ । त्यसमाथि जताततै चिरिएका फाँटहरु । पाटनमा छोडिएका छाडा घोडाहरु । खप्तड सम्हाल्ने भन्दा पनि बिगार्ने धेरै भएपछि पर्यटकले दुःख पाउने नै भए ।

पर्यटकको सुबिधाका लागि सयौं स्लिपिङ, व्याग, टेण्ट, ४२ वटा घोडा किन्न बजेट आयो । कागजमा किनिएका घोडा कागजकै बाघले खाए । खप्तडमा भएको अनियमिततामा केही समय अख्तियार देखियो । पछि हरायो । घोडा र टेण्टको मुद्दा पनि त्योसंगै हरायो ।

दीपायलमा एक जना भन्दै थिए, खप्तडको घोडा खाने बाघ धनगढी पसेको छ, अचेल । राजनैतिक नियुक्तिमा खप्तडको बजेटमा मनपरी गर्ने तिनै व्यक्ति प्रदेश सरकार चलाउने भए ।

खप्तडको पर्यटन प्रबद्र्धनका लागि गठन भएको खप्तड पर्यटन विकास समिति मागी खाने होईन, ठगी खाने भाडो भएको छ ।

राजनैतिक पहूँच र सत्ताको गुलामी गरे वाफत बक्सिसमा पाईने पर्यटन विकास समितिको नियुक्ति मामाको धन फूपुको श्राद्ध भएको छ ।  जसले कहिल्यै खप्तडमा टेकेको छैन, जसलाई खप्तडको ज्ञान छैन, त्यही व्यक्ति खप्तडमा नियुक्त हुन योग्य मानिन्छ ।

डेढ दशकको अबधिमा पाँच पटक खप्तडको भ्रमण गरे । दुई पटक हेलिकोप्टरमा खप्तड पुगे । यो अबधिमा खप्तडका नाममा करोडौ रुपैया खर्च भयो । तर यो काम चाही गजव भयो भन्ने उदाहरण छैन ।

खप्तडका नाममा नियुक्ति र जागीर खानेहरु कि सिलगढी र दीपायल बस्छन्, कि त काठमाण्डौं । उनीहरुलाई त खप्तड जाने फुर्सदसम्म हुदैन । उनीहरुसंगै राजनैतिक आस्थाका आधारमा आफू निकट व्यक्तिलाई नियुक्त गर्नेहरु खप्तडको दुरावस्थाको जिम्मेवार हुन् ।

एक जना पत्रकार मित्रलाई एकाबिहानै नचिनेको नम्बरबाट फोन आयो । र, फोन गर्नेको पहिलो प्रश्न थियो, त कहाँ छस्, भन त ?

चिन्नु न जान्नु, बिहानै त्यसरी सोध्ने व्यक्तिलाई उनले सोधे, तपाई को बोल्नु भएको हो ? कसलाई खोज्नु भएको  हो ?
उताबाट नाम किटेर फेरि सोध्यो, यो नाम गरेको पत्रकार त होईनस ।
त्यसपछि ती पत्रकारले भने, हो म नै हुँ ।

भू-स्वर्गका रुपमा खप्तडको बयान गर्दा यहाँका अप्ठ्यारा पाटाहरुका बारेमा जानकारी दिनु पर्दैन । तलाई भेटेको भए, मैले जानेको थिए ।

संवाद धेरै लामो भएन । उताबाट कल कट्यो । त्यसपछि भने ती पत्रकार मित्र झस्किए । हो, खप्तडको सुन्दरताको बयान गर्दा यसका जटिल र अप्ठ्यारा पाटाहरु लेख्नै बिर्सिएछु । उनले त्यो महशुस गरे ।

एक दशकअघि काठमाण्डौंबाट हनिमुन मनाउन खप्तड पुगेको एक जोडी लखतरान अवस्थामा भेटिएको र पछि उनीहरुको उद्दार गरी गेष्ट हाउसमा लगेर जोगाएको वार्डेन नारायण रुपाखेतीले यो पंक्तिकारलाई सुनाएका थिए ।

स्वर्गमा हनिमुन मनाउने सपनाले त्यो जोडीले धन्न ज्यान गुमाएन ।

खप्तड जादा, साथमा के लैजाने ? कुन सिजनमा कस्तो लुगा कपडा साथमा बोक्ने ? स्वास्थ्यमा आउन सक्ने जटिलताका लागि कस्तो साबधानी अपनाउने ? बाटोमा आउने उकाला र अप्ठ्याराहरुलाई कसरी सहज बनाउने ? कुन समयमा जाने ? कुन समयमा नजाने ?

यस्ता विषयमा चर्चा गर्न सधै मिडियाकर्मी र प्रशंसकहरुले कञ्जुस्याई गरे । त्यही कारण आजसम्म पनि त्यहाँ जाने मान्छेहरुले दुःख पाईरहेका छन् ।

कसैलाई दुःख दिनु छ भने खप्तड जान सल्लाह दिनुपर्छ भन्नेहरु पनि छन् । 

सुन्दर खप्तडका यी कुरुप पाटाहरुको चर्चा हुन जरुरी छ । भू-स्वर्ग खप्तड मृत्युको गन्तव्य नबनोस, कसैले अकालमा ज्यान गुमाउनु नपरोस ।  र, खप्तडका यी कुरुप पाटाहरुमा बहस गर्न ढिलो भईसक्यो ।