Close This

महेन्द्रनगर जग्गा प्रकरण : तीन अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर

मंगलबार बैशाख २५, २०८१/ Tuesday 05-07-24
Paschim Today

काठमाडौं । तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तीन अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले २७ प्रतिवादीमध्ये नगर विकास समितिका अध्यक्ष गोपाल रसाइली, पल्टु राना र पुस्कल चौधरीसहित पाँचलाई भ्रष्टाचारी ठहर गरेको हो ।

महेन्द्रनगर नगर विकास समितिका नाममा रहेको सरकारी जग्गा व्यक्तिका नाममा गरी गैरकानुनी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ कात्तिक २ गते २७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

 

 

उक्त मुद्दामा विशेष अदालतले सोमबार (हिजो) पाँचजनालाई भ्रष्टाचारी ठहर गरेको हो । जग्गा जसका नाममा छ, त्यो जफत हुने फैसला समेत अदालतले गरेको छ ।

नगर विकास समितिका तत्कालीन अध्यक्षहरूमध्ये रसाइलीलाई दुई लाख ८३ हजार ३३३ रुपैयाँ, रानालाई १२ लाख ६४ हजार र चौधरीलाई तीन लाख ७४ हजार ८०० रुपैयाँ जरिवाना हुने फैसला विशेषले गरेको छ । तीनै अध्यक्षलाई समान दुई वर्ष कैद हुने फैसला गरिएको छ ।

यस्तै, तत्कालीन सदस्यसचिव चन्द्रप्रसाद चौधरी, नायब सुब्बा पुष्पराज भट्ट र नगर विकास समितिका तत्कालीन अमिन तुलादत्त जोशीलाई पनि दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही डेढ वर्ष कैद सजाय हुने फैसला विशेषले गरेको छ ।

जोशी र भट्टलाई समान १५ लाख ४७ हजार ३३३ रुपैयाँ जरिवाना हुने पनि फैसलामा उल्लेख छ ।