Close This

धनगढीमा घर भत्काउन उपमहानगरपालिकाको ताकेता, विकल्प दिन भूमिहीनको माग

बुधबार बैशाख २६, २०८१/ Wednesday 05-08-24
Paschim Today

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पुरानो एयरपोर्टमा बस्दै आइरहेका १३ परिवार बिचल्ली हुने चिन्तामा छन् ।

केही समय देखी धनगढी उपमहानगरपालिकाले उनीहरूलाई त्यो क्षेत्र छोड्न उर्दी जारी गरेपछि उनीहरु चिन्तामा परेका हुन् । करिब दुई दशक  देखी बस्दै आएका उनीहरूलाई धनगढी उपमहानगरपालिकाले तत्काल हट्न निर्देशन दिएको छ ।

२०८० मङ्सिर १५ गते घर जग्गा खालि गर्न  भन्दै १५ दिने सूचना नगर विकास समितिले जारी गरेको थियो । विकास समितिले पुन वैशाख १७ गते पत्र पठाएको थियो । उक्त पत्र पछि यहाँ बसिरहेका परिवार त्रसित भएका छन् ।

उक्त क्षेत्र नछोडे बल प्रयोग गरेर भएपनि हटाउने बताएपछि अहिले ती परिवार आफूहरूलाई विकल्प दिन माग गरिरहेका छन्। उनीहरुले प्रदेश सभामा रहेको दलका नेता तथा प्रतिनिधिहरूलाई भेटेर आफूहरूलाई न्याय दिन अपिल गरेका छन् ।

‘हामी बर्षौ देखी त्यहाँ बसिरहेका छौँ । अघिल्लो मेयरले विकल्प नहुँदा सम्म हटाउँदैनौँ भन्नु भएको थियो ।अहिलेको मेयरले हामीलाई बिचल्ली हुने गरि हटाउने तयारी गर्नु भएको छ। अब न्याय चाहियो ’दानबहादुर गौतमले अपिल गरिरहेका थिए ।

२०६२ सालमा काठमाडौँमा गएर आन्दोलन गरेको र तत्कालीन सरकारले व्यवस्था नहुँदा सम्म नहटाउने भन्दै आफूहरूलाई फिर्ता पठाएको तर, अहिले मेयर गोपाल हमालले आफूहरूलाई बिचल्ली बनाउन खोजेको उनले आरोप लगाए ।

‘भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूलाई अहिले बेला बेलामा त्रास दिने काम भइरहेको छ’ उनले भने, ‘हामी भूमिहीन होइनौँ भने छानबिन होस् हौँ भने हामीलाई विकल्प दिइयोस् । ’

No description available.
बसन्धरा गौतमले पनि आफूहरू माथि स्थानीय तहको सरकारले नै ज्यादती गरेको बताइन् ।
‘कोही नहुनेहरूको सरकार छ भन्छन् हामीलाई त त्यही सरकारले त्रास दिएको छ’ उनले भनिन्, ‘कि हामीलाई विकल्प दिनु प¥यो कि त्यहि बस्न दिनु प¥यो । ’अघिल्लो पटक मेयर नृप ओडले निर्णय गरेपछि आफूहरूको बस्तीमा बिजुली खानेपानी आएको तर, अहिले घर समेत खोसिने अवस्था सृजना भएको उनले गुनासो गरिन् । 
अव्यवस्थित बसोबास भएको कारण निवेदन दिएर निस्सा समेत प्राप्त गरिसकेपछि विकल्प विना हटाउन खोज्नु अन्यायपूर्ण र विभेदपूर्ण रहेको उनले बताइन् ।
सोही बस्तीका मनिस सुनारले पनि आफूहरू उपमहानगरपालिकाको धम्कीले त्रासमा रहेको बताइन् । 
 ‘नगर प्रहरीले बल प्रयोग गर्ने चेतावनी दिएको छ । हाम्रो कुरा सरकारले पनि  सुनेको छैन’ उनले भने ‘हामी त्यो ठाउँबाट नहटे हातपात गर्ने धम्की दिएर जानु भएको छ । ’
युद्धकालीन समयदेखि नै आफूहरू त्यहाँ बसेको भन्दै तत्काल विकल्प दिएपछि मात्रै त्यो ठाउँ छोड्ने नभए त्यहि बस्ने बताइन् । 
‘त्यहि बच्चा हुर्कायौँ ठुलो बनायौँ अहिले घर छोडेर जाऊ भन्छन् हामी कहाँ जाने बालबच्चा कहाँ लैजाने ’ उनले भावुक हुँदै भनिन्, ‘हामीलाई गोली हानेर मारोस् त हामी त्यो ठाउँ छोड्दैनौँ ।’
उक्त बस्तीका स्थानीय अहिले आफूहरूलाई नहटाउन र हटाउनै पर्दा विकल्प दिन माग गरेका छन् । आफूहरूसँगै रहेका केही परिवारलाई पुनर्स्थापना गरेको तर, आफूहरू प्रति विभेदपूर्ण व्यवहार गरेको उनीहरुको आरोप छ । 

No description available.No description available.

अहिले उनीहरुले विभिन्न दल तथा निकायहरूलाई ज्ञापन पत्र बुझाउँदै अर्को विकल्प नहुँदा सम्म नगर विकास समितिले हटाउन गरेको तयारी रोक्न माग गरेका छन् ।
मंगलबार उनीहरुको ज्ञापन पत्र बुझ्दै माओवादी सांसद लक्ष्मी विकले समस्या समाधानको लागि प्रयत्न गर्ने बताइन् ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टीले आफ्नो प्रदेश कमिटीको निर्णय भन्दै सुकुम्बासीहरुलाई विकल्प विना विस्थापन गरे विरोध गर्ने जनाएको छ ।