Close This

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नैपर्ने कांग्रेसको निष्कर्ष

बुधबार बैशाख २६, २०८१/ Wednesday 05-08-24
Paschim Today

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ। सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राख्ने बैठकले निष्कर्ष निकालेको उपसभापति धनराज गुरूङले जानकारी दिए।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो बसेको बैठकमा संसदको आगामी अधिवेशन र गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतबारे छलफल भएको थियो।

यो पनिस् रुपन्देही अदालतको अभियोग पत्रमा सहकारीबाट ऋण लिएकोमा रवि लामिछानेको नाम छ, छानबिन समिति बनाउनुपर्छस् कांग्रेस

‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ,’ उनले भने, ‘अबको अधिवेशन चलाउने गरी सरकार आउँछ कि आउँदैन सरकारकै हातमा छ।’ वैशाख २८ गतेदेखि संघीय संसदको अधिवेशन सुरू हुँदैछ।

लाखौं नेपाली जनता सहकारीमा ठगिएकोले छानबिन समिति गठन गर्नुपर्ने अडानमा कांग्रेस यथावत रहेको उनको भनाइ छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले अघिल्लो अधिवेशनमा पनि संसदीय छानबिन समिति गठनको माग गरेको थियो।

साथै गण्डकी प्रदेशमा सरकार गठनका क्रममा असंवैधानिक कदम चालिएको पनि उनले आरोप लगाए। 

‘संविधानमाथि कोही हुँदैन, संविधानको कसैले पनि अपव्याख्या गर्न पाइँदैन। व्याख्याकारले अपव्याख्या गर्न पाइँदैन,’ उनले भने, ‘गण्डकीबारे हामी गम्भीर छौं। न्याय खोज्न न्यायलय नै जाने हो।’

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिने अभ्यास भए पनि वैशाख २३ मा मुख्यमन्त्री अधिकारीले विश्वास मत लिँदा ३० सांसदकै समर्थनमा विश्वास मत पाएको सभामुख कृष्ण धितालले घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत गएको थियो।