Close This

रुसी सेनामा कार्यरत कञ्चनपुरका बिष्टको मृत्यु, उनका भाईको अवस्था अज्ञात

बिहीबार बैशाख २७, २०८१/ Thursday 05-09-24
Paschim Today

धनगढी, २७ बैशाख ।
रुसी सेनामा कार्यरत कञ्चनपुरको भीमदत्त नगरपालिका–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्टको मृत्यु भएको छ । एउटै मोर्चामा संगै रहेका ४३ वर्षीय भाई निराजन बिष्टलाई बाहिर राखेर बंकरभित्र पसेका बिराजनको एम्बुस बिष्फोटमा मृत्यु भएको हो ।

उनीहरुसंगै रहेका धनगढीका युवकको मृत्यु भएको बताईएको छ । तर त्यसको औपचारिक पुष्टि हुन भने सकेको छैन । संगै रहेका रुसी सैनिकले बिराजनको मृत्यु भएको पुष्टि गरेको बताईएको छ ।

बैतडी पुर्चौडी गोरा गाउँ पुख्र्यौली घर भएका बिष्टको हाल महेन्द्रनगरसंगै सानो ठिमी भक्तपुरमा समेत बसोबास छ ।

मृतक बिष्टका पत्नी, एक छोरा र एक छोरी छन् । छोरा ईञ्जिनियरिङ र छोरी ११ कक्षामा अध्ययनरत छन् । नेपाली सेनाको जागीर छोडेर केही दुबई प्रहरीमा काम गरेका बिष्ट पछिल्लो समय सिंगापुर प्रहरीको अध्यागमन युनिटमा कार्यरत थिए ।

तिहारमा बिदामा काठमाण्डौं आएका बिष्ट फर्केर रुसी सेनामा भर्ना भएका थिए । उनीसंग गएका भाई निराजन र बिष्ट थरका अर्का एक युवक पनि रुसी सेनामा भर्ना भएका थिए ।

युक्रेनी भूभागमा भईरहेको लडाईका क्रममा बिष्टको एम्बुसमा परी मृत्यु भएको हो । उनको मृत्युको खवर शनिवार साँझ परिवारजनले पाएको हो । आज परिवारजनले कुँशको शव बनाएर महाकाली नदीमा उनको अन्त्येष्टि गर्ने भएको छ ।