Close This

युरिक एसिड बढी हुँदा पिसाबमा देखिन्छन यस्ता लक्षण

बिहीबार बैशाख २७, २०८१/ Thursday 05-09-24
Paschim Today

एजेन्सी । गलत खानपान र खराब जीवनशैलीका कारण हिजोआज धेरैलाई युरिक एसिडको समस्याले सताउने गरेको छ । युरिक एसिड शरीरमा उत्पादन हुने एक प्रकारको फोहोर पदार्थ हो, जुन प्युरिन नामक रसायनको विघटनबाट बनेको हुन्छ ।

सामान्यतया, मिर्गौलाले यसलाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्छ । तर मिर्गौलाले राम्रोसँग काम नगर्दा शरीरमा यसको मात्रा बढ्छ । जसकारण यो जोर्नी वरिपरि क्रिस्टलको रुपमा जम्मा हुन थाल्छ ।

शरीरमा युरिक एसिडको मात्रा बढेपछि जोर्नी दुख्ने, सुन्निने जस्ता समस्या हुन्छ । सही समयमा उपचार गरिएन भने यसले स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउन सक्छ । जब युरिक एसिडको स्तर बढ्छ, शरीरमा धेरै लक्षण देखा पर्छन् । साथै, पिसाबमा पनि यसका केही लक्षण देख्न सकिन्छ ।

पिसाब गर्दा पोलेको अनुभूति

शरीरमा युरिक एसिडको मात्रा बढेमा पिसाब गर्दा पोल्ने हुने समस्या हुनसक्छ । यसबाहेक, पिसाब गर्दा दुखाइ पनि हुनसक्छ । तर यो युरिन इन्फेक्सन वा अन्य केही रोगको लक्षण पनि हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकलाई जाँच गराएर सही कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । यसको समयमै उपचार नगरे युरिक एसिडको समस्या बढ्न सक्छ ।

पिसाबको रङमा परिवर्तन

युरिक एसिडको मात्रा बढी भएमा पिसाबको रङमा पनि परिवर्तन देखिन सक्छ । जसकारण पिसाबमा फिंज देखापर्ने वा रङ धमिलो देखिने हुन्छ । यदि फिंजयुक्त वा गाढा रङको पिसाब भयो भने चिकित्सकको परामर्श लिएर पिसाबको परीक्षण गराउनुपर्छ । यो मिर्गौलाले राम्ररी काम नगरेको संकेत हो ।

पटक–पटक पिसाब लाग्ने

युरिक एसिडको मात्रा बढेमा बारम्बार पिसाब लाग्ने समस्या पनि हुनसक्छ । जब युरिक एसिड बढ्छ, मिर्गौलाले राम्रोसँग काम गर्न सक्दैन । यसले मिर्गौलामा भार बढाउँछ, जसकारण बारम्बार पिसाब फेर्ने इच्छा हुन्छ । लामो समयदेखि यस प्रकारको समस्या देखिएमा चिकित्सकसँग परामर्शक गर्नुपर्छ ।

पिसाबमा रगत देखापर्ने

शरीरमा युरिक एसिडको मात्रा बढेमा शरीरमा पानीको कमी हुनसक्छ । यो संक्रमण भएको संकेत पनि हुनसक्छ । तर पिसाबमा रगत देखिएका कारण संक्रमण हो या युरिक एसिड बढेको लक्षण हो भनेर छुट्याउनुपर्छ ।

पिसाबमा गन्ध

शरीरमा युरिक एसिडको मात्रा बढ्दा पिसाबबाट कडा गन्ध आउन थाल्छ ।  तर यसका पछाडि केही अन्य कारण पनि जिम्मेवार हुनसक्छन् । मधुमेह जस्ता रोगमा पनि पिसाबको गन्ध कडा हुनसक्छ । यदि यस्ता लक्षण देखिएमा पनि परीक्षण गरेर कारण पत्ता लगाउनुपर्छ ।