Close This

एक वर्षपछि आउछु भन्थे, युक्रेनमा अस्ताए कञ्चनपुरका बिष्ट

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

दीर्घराज उपाध्याय
धनगढी, २८ बैशाख ।

रुसी सेनामा कार्यरत कञ्चनपुरको भीमदत्त नगरपालिका–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्टको मृत्यु भएको छ ।

एउटै मोर्चामा संगै रहेका ४३ वर्षीय भाई निराजन बिष्टलाई बाहिर राखेर बंकरभित्र पसेका बिराजनको एम्बुस बिष्फोटमा मृत्यु भएको हो । युक्रेनी भूभाग तोकमाकमा उनको मृत्यु भएको हो । उनीहरुसंगै रहेका धनगढीका युवकको मृत्यु भएको बताईएको छ । तर त्यसको औपचारिक पुष्टि हुन भने सकेको छैन । संगै रहेका रुसी सैनिकले बिराजनको मृत्यु भएको पुष्टि गरेको हो ।

बैतडी पुर्चौडी गोरा गाउँ पुख्र्यौली घर भएका बिष्टको हाल महेन्द्रनगरसंगै सानो ठिमी भक्तपुरमा समेत बसोबास छ । मृतक बिष्टका पत्नी, एक छोरा र एक छोरी छन् । छोरा ईञ्जिनियरिङ र छोरी ११ कक्षामा अध्ययनरत छन् ।

१० वर्ष नेपाली सेनामा काम गरेका बिष्ट द्धन्दकालमा सेनाको स्पशेल फोर्स रेञ्जर बटालियनका सदस्य थिए । सन २००८ मा सेनाको जागीर छोडेर सिंगापुर गएका बिष्टले त्यहाँ क्रुजमा काम गरे । उनको पारिश्रमिक आकर्षक थियो । ७/८ वर्ष त्यहाँ काम गरेपछि उनी दुबई प्रहरीमा भर्ना भए ।

दुबई प्रहरीको अध्यागमनमा कार्यरत बिष्ट तिहारमा बिदामा काठमाण्डौंस्थित घर आएका थिए । सोही क्रममा दाजुभाईका बीचमा संवाद भयो । करातेका ब्ल्याकबेल्ट बिष्ट दाजुभाई हक्की स्वभावका थिए । ऐश्वर्य विद्या निकेतन धनगढीबाट आईएस्सी गरेका बिराजनको फौजमा रुचीमा थियो । र, उनी नेपाली सेनाको जागीर छोडे पनि विदेशमा फौजमै रहेर काम गरे ।

निराजन भने महेन्द्रनगरमा बस व्यवसायमा संलग्न थिए । उनी महेन्द्रनगर सुर्खेत रुटमा बस चलाउथे । तिहारमा दाई बिराजनसंगको संवादपछि निराजन बस घरको आगनमा राखेर  रुस तर्फ लागे । रुसी सेनामा भर्ना हुन दलाललाई बुझाएको सात लाख रुपैया पनि बिराजनले व्यहोरेको बताईएको छ ।

छोरा मान्छे भईसकेपछि अलि जोखिम लिनुपर्छ भन्दै भतिजा नाता पर्नेलाई समेत बिराजनले रुसी सेनामा भर्ना हुन सुझाव दिएका थिए । तर उनले भने जोखिम नलिने भन्दै जान मानेनन ।

तिहारको विदा सकिएपछि बिष्ट फर्केर दुबई गएनन । रुसी सेनामा भर्ना भए । नेपालबाट फर्किदा उनीसंगै गएका भाई निराजन र भतिजा लोेकेन्द्र बिष्ट  पनि रुसी सेनामा भर्ना भए । मंसिर १८ मा दिल्ली हुँदै रुस पुगेका उनीहरु मंसिर २१ गते रुसी सेनामा भर्ना भएका थिए । रुसी सेनामा भर्ना हुन उनीहरुले दलाललाई जनही सात लाख रुपैया बुझाएका थिए ।

त्यसयता उनी लगातार युद्धको मोर्चामा खटिएका थिए । हरेक दिन मृत्युसंग जुधेका बिष्टले भाई कृष्ण धानुकलाई भन्ने गर्थे, बढिमा एक वर्ष लड्ने हो । त्यसपछि फर्केर दाजुभाई काठमाण्डौंमा संगै बसौला ।

बिष्टका मामाका छोरा कृष्ण डेनमार्क बस्दै आएका छन् । अनुकुल मिलेपछि युद्धको मोर्चाबाटै कृष्णसंग उनले तारन्तार मेसेञ्जरमा कुरा गर्थे । युद्धका तस्वीरहरु पठाउथे । 

ईञ्जिनियरिङमा स्नातक गरिरहेका छोरा र प्लस टु पढदै गरेकी छोरीको पढाई खर्च र त्यसपछि उनीहरुको बिबाहका लागि ठूलो रकम आवश्यक पर्ने भएकोले रुसी सैनिकमा भर्ना भएको बिष्टले भाई कृष्णलाई बताएका थिए ।

बुढेसकालमा संगै बसेर रमाईलो गरौला भन्नुहुन्थ्यो, धानुकले भने, तर संगै रमाईलो गर्ने दाईको सपनाको युक्रेनमै अवसान भयो ।

युद्धमा खटिएको बेला बिष्टले दिएको जानकारी अनुसार रुसी सेनामा कार्यरत नेपालीहरुले न्युनतम मासिक तलव दुई लाख ९५ हजार पाउने गरेका थिए । त्यस बाहेक युद्धमा खटिए वाफत दैनिक १९ हजार भत्ता पाउने गरेका थिए । पारश्रमिक भने उनीहरुका नाममा खोलिएको रसियाको खातामा जम्मा हुने गरेको छ ।

बिष्टले बढिमा एक वर्ष युद्धमा खटिने र त्यसपछि पैसा कमाएर फर्किने सोच बनाएका थिए । धानुकले भने, दाईले एक वर्ष कटाउछु । अनि फर्किन्छु भन्नु भएको थियो । एक वर्ष नहुदै मृत्यु भएको खवर आयो ।

धानुकसंगको संवादमा बिष्टले भन्ने गरेका थिए, भाई यहाँ वान टु वान लडाईमा मरिदैन । ड्रोनको आक्रमणमा मर्ने खतरा हुन्छ । पश्चिम टुडेसंगको कुराकानीमा धानुकले भने, दाईले ड्रोनको आक्रमणमा मर्ने जोखिम हुन्छ भन्नुहुन्थ्यो, एम्बुसमा परेर उहाँको मृत्यु भएको खवर पाए ।

यद्दपि लडाईको मोर्चामा भएकोले जुनसुकै बेला मारिने जोखिम रहेको बिष्टले बताउने गरेका थिए । बिष्टले संवादका क्रममा जहिल्यै भन्थे, भाई आजसम्म भगवानले बचाएको छ । यद्दपि हाम्रो बाँच्ने संभावना कम छ । हाम्रो लागि भगवानसंग प्रार्थना गर्नु है, भाई ।

रुसी सेना यतिबेला युक्रेनको भूभागमा युक्रेनी सेनासंग लडिरहेको छ । युक्रेनकै भूभागमा बिष्टको मृत्यु भएको हो । युक्रेनी सेनालाई परास्त गरेको एउटा मोर्चाको अगुवाई बिष्टले गरेका थिए । त्यहाँ रहेको बंकर भित्र पस्ने क्रममा एम्बुसमा परेर बिष्टको मृत्यु भएको बताईएको छ । आफू बंकर भित्र पस्ने क्रममा संगै रहेका भाई र अरु साथीहरुलाई पछाडि रहन बिष्टले सुझाव दिए । र, आफू भित्र पसे । त्यही क्रममा उनी एम्बुसमा परे । एम्बुस बिष्फोटमा परी साथमा रहेका अन्य नेपाली सैनिक घाईते भएको बताईएको छ । तर उनीहरुको अवस्था भने अज्ञात छ ।

एक महिना अघि बिष्ट युद्धको मोर्चामा थिए । त्यही बेला यो पंक्तिकारले उनीसंग त्यहाँको युद्ध र नेपालीको अवस्थाका बारेमा जानकारी लिन सम्पर्क गरेको थियो । पछि उनले धानुक मार्फत खवर पठाए, एउटा युद्धको एउटा मोर्चामा जितेर आए । अर्को मोर्चामा लड्न जादैछु । त्यहाँबाट फर्केपछि कुरा गर्छु । र, सबै जानकारी दिन्छु ।

यो बीचमा उनीसंग संवाद हुन पाएन । बिहीवार उनको मृत्यु भएको खवर आयो ।

बिष्टको मृत्यु गत शुक्रवार भएको अनुमान गरिएको छ । तर शनिवार साँझ परिवारले जानकारी पाएको थियो । 

युक्रेनमा अस्ताएका बिष्टका परिवाजनले शव पाउने संभावना नरहेपछि मृत्यु भएको आठौ दिनमा बिहीवार कुँशको शव बनाएर कञ्चनपुरस्थित महाकाली नदीमा उनको अन्त्येष्टि गरे । छोरा विश्वासजंगले कुशको शवमा दागबत्ती दिए ।

रुसी सेनामा रहेका बर्दियाका परशुराम चौधरी, सुर्खेतका महेश चन्द र भारतीय नागरिक अंकितले बिराजनको मृत्यु भएको पुष्टि गरेपछि परिवारजनले  बिहीवार उनको मृत्यु संस्कार गरेको हो । उनकी पत्नी चाँदनी र छोरा विश्वासजंग किरियामा बसेका छन् ।