Close This

कञ्चनपुरमा खाद्यको अतिक्रमित जमिन खाली गरियो

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

काठमाण्डौ: कञ्चनपुरको महेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा धेरै जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली गरिएको छ । सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिक घरटहरा बनाएर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीले जमिन खाली गरेका हुन् ।

एक बिघा सात कट्ठा १२ धुर जमिनमा बनाइएका झण्डै एक सय ५० संरचना हटाएर जमिन कम्पनीले उपयोग गर्न सक्नेगरी फिर्ता ल्याइएको महेन्द्रनगरको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख राजु मोक्तानले जानकारी दिनुभयो । उहाँकाअनुसार स्थानीय प्रशासन र कार्यालयको निर्देशनपछि व्यापारीले निर्धारित समयभित्र आफैँ संरचना हटाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले खाद्यको जमिनमा भएको अतिक्रमण हटाउने निर्णय गर्दै व्यवसायीलाई एक महिनाको समय दिएको थियो । अतिक्रमित जमिन खाली गराएपछि संरक्षणका लागि तत्काल तारबार लगाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रधान कार्यालय मानव संशाधन विभागका विभागीय प्रबन्धक घनश्याम अर्यालले बताउनुभयो ।