देशभर फैलियो मनसुन, आज कहाँ-कहाँ पर्ला पानी ?

मंगलबार असार ११, २०८१/ Tuesday 06-25-24
Paschim Today

यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो । 

मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन सोमबार देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो । 

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। 

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।