यसकारण दोधारामा अत्यधिक वर्षा

मंगलबार असार २५, २०८१/ Tuesday 07-09-24
Paschim Today

जल तथा मौसम विज्ञान विभागले अरब सागर र बंगालको खाडीबाट आएको हावा समिश्रण हुँदा कञ्चनपुरको दोधारा र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको जनाएको छ ।

विभागका प्रवक्ता सुनिल पोखरेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा ‘मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहे पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको तथा उपल्लो वायु मण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बंगालको खाडी दुबैबाट आउने जलवास्पयुक्त हावा सो स्थानमा समिश्रण भइ अतिभारी वर्षा भएको’ उल्लेख  छ। 

कञ्चनपुरको दोधारामा आइतबार ६२४ मिलिमिटर, हनुमाननगर (हनमाननगर) मा ५७३.६ र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा मापन भएको थियो। दोधारामा भएको  वर्षा नेपालमा रेकर्ड भएमध्ये (विस २००३ यता) को हालसम्मकै उच्च भएपछि जल विज्ञानका वैज्ञानिकहरू खोजविनमा लागेका छन्।  

यसअघि नेपालमा २० जुलाइ १९९३ (५ साउन ०५०) मा मकवानपुरको टिस्टुङमा ५४० मिलिमिटर वर्षा मापन भएको थियो। त्यसपछि  सन् २०१७ (२९ साउन ०७४ ) मा हेटौांमा ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो। तर, कञ्चनपुरमा भने त्योभन्दा धेरै वर्षा रेकर्ड भएको छ। विभागले कञ्चनपुरमा भएको अत्यधिक वर्षाबारे  थप अध्ययन गर्ने जनाएको छ।

जलवायु विशेषज्ञ नमिन्द्र दाहालले भने दोधारामा २४ घन्टामा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको आँकडाले देशभर वर्षा तथा तापक्रम मापन केन्द्र थप्नुपर्ने महत्वलाई दर्शाएको बताए। र, विश्वलाई नै हिमालयको फेदीमा भइरहेको मौसमी प्रणाली बुझ्न पनि दोधाराको वर्षाले गतिलो प्रमाण दिएको उनको भनाइ छ।

‘मापन केन्द्र जडान गरेर वर्षाको रेकर्ड नराखेसम्म जति ठूलो वर्षा वा लामो खडेरी भए पनि त्यो गणना हुँदैन, जति धेरै केन्द्र थप्न सकियो, त्यतिधेरै तथ्यांक उपलब्ध हुन्छ,’ उनले भने, ‘हरेक पालिकाले आफ्नो क्षेत्रमा न्यूनतम एउटा स्वचालित मौसम केन्द्र राख्न सके स्थानीय योजना र जोखिमको आकलन गर्न सहज हुनेछ।’