बेहडाबाबामा गङ्गादशहरा मेला शुरु, हजारौं भक्तजनको घुइँचो

कैलाली । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा बुधबार देखि भव्य रूपमा गङ्गादशहरा मेला शुरु भएको छ।
धार्मिक आस्थाको केन्द्र मानिने यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए। पर्वका अवसरमा मन्दिरमा अहिले राति १२ बजे जल चढाएर पूजाअर्चना शुरु गर्ने परम्परा रहेको छ।
बेहडाबाबा सुदूरपश्चिमको मात्र नभई देशकै धरोहरका रूपमा परिचित छ। यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको किंवदन्ती छ। यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ, विशेषगरी पुत्रलाभ र सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको भक्तजनहरूको विश्वास छ।
कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानबाट मानिसहरू पूजाआजा र दर्शनका लागि बेहडाबाबा आउने गर्दछन्। गङ्गादशहरा पर्वका अवसर पारेर छिमेकी मुलुक भारतका लख्खीमपुर, पलिया, पिलिभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरू आइसकेका छन् भने केही अझै आउने क्रम जारी छ।
भक्तालुहरूको सहजताका लागि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडानलगायत व्यवस्थापन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गङ्गादशहरालाई महत्त्वपूर्ण चाड मानिएकोले उपमहानगरपालिकाले बिहीबार (जेठ २२ गते) सार्वजनिक बिदा दिएको बताए। उनले भक्तजनहरूको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको पनि जानकारी दिए।
मेलामा नेपाली मात्र नभई भारतका व्यवसायीहरूले समेत केही दिनअघि नै विभिन्न पसल सञ्चालन गरिरहेका छन्। धाममा भक्तजनहरूलाई दर्शन तथा पूजापाठको व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया