कर्नाटकका मुख्यमन्त्रीद्धारा ११ जनाको मृत्यु भएको घट्नामा बेंगलुरु प्रहरी आयुक्त सहित प्रहरी अधिकारीहरु निलम्बित

शुक्रबार जेठ २४, २०८२/ Friday 06-06-25
Paschim Today

काठमाडौं, २२जेठ ।
कर्नाटक राज्यको राजधानी बैंगलुरुस्थित चिन्नास्वामी क्रिकेट रंगशालाबाहिर भएको भागदौडमा बुधबार ११ जनाको मृत्यु भएको घट्नामा बेंगलुरु प्रहरी आयुक्तसहित शीर्ष प्रहरी अधिकारीहरू निलम्बित भएका छन् ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले बिहीबार चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको सम्बन्धमा बेंगलुरु प्रहरी आयुक्तसहित शीर्ष प्रहरी अधिकारीहरूलाई निलम्बन गरेका हुन् ।

चिन्नास्वामी क्रिकेट रंगशालाबाहिर बुधबार आईपीएल फाइनल खेलपछि भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । उनीहरू सबै १८ वर्षपछि आईपीएल ट्रफी जितेको रोयल च्यालेन्जर्स बेंगलुरुको विजय उत्सव मनाउन आएका थिए ।

मुख्यमन्त्री सिद्धरामय्याले पत्रकार सम्मेलनमा एडीजीपी दर्जाका अधिकारी बी दयानन्दलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णयको बारेमा जानकारी दिए । बी दयानन्दले हालैका वर्षहरूमा बेंगलुरु प्रहरी आयुक्तको रूपमा सबैभन्दा लामो समय सेवा गरेका छन् ।

यसअघि बिहीबार कर्नाटक प्रहरीले यस मुद्दामा एफआईआर दर्ता गरेको थियो । एफआईआरमा रोयल च्यालेन्जर्स बेंगलुरु, कार्यक्रम आयोजक कम्पनी डीएनए र कर्नाटक क्रिकेट संघको पनि नाम छ ।

आरसीबीका व्याट्सम्यान कोहलीले इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बैंगलुरुको तर्फबाट पोस्ट जारी गर्दै भने, “मसँग भन्न शब्द छैन । पूर्ण रूपमा भाव विह्वल भएको छु ।”

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट उनको कार्यालयले एक्समा पोस्ट गर्दै लेखेको छ, “बैंगलुरुको घटना अत्यन्त दुःखद् छ । यस दुःखद् घडीमा मेरा समवेदना प्रभावित परिवारहरूसँग छन् । म घाइतेहरू चाँडो निको हुने कामना गर्दछु ।”

एक लाखभन्दा बढी क्रिकेट प्रशंसकहरू रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)को जीतको खुसी मनाउन रंगशालाबाहिर जम्मा भएका बेला उक्त घटना भएको बताइएको छ ।

आरसीबी टिमलाई स्वागत गर्न र १८ वर्षपछि आईपीएल ट्रफी जितेको उत्सव मनाउन युवा, महिला, पुरुष र वृद्धहरू समेत सडकका किनारमा उभिएका थिए ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार चिन्नास्वामी रंगशालाको गेट नखुलेको कारण ठूलो संख्यामा मानिसहरूले सानो गेटलाई धकेल्ने प्रयास गर्र्दै गर्दा गेटमा भगदौड भएको थियो ।