सफलताले पछ्याएका तीर्थ : जसले सपना पछ्याएनन्

दीर्घराज उपाध्याय ।
भनिन्छ, तिमी सपनालाई नपछ्याउ । मिहिनेत यस्तो गर, सपनाले तिमीलाई पछ्याओस । सपनालाई पछ्याउनेहरु त दुःखी मात्र हुन्छन् । तिनको भर हुदैन्, कतिबेला टुट्छन् ।
हुन् पनि एक बारको जुनीमा किन एउटै सपनामा अल्झिने ? सपनाको बिकल्प नखोज्नेहरु । र, एउटै सपनालाई सर्वस्व ठान्नेहरु । जीवनभर दुःखी भईरहन्छन् । सपनाको बिकल्प खोज्नेहरु न त दुःखी हुन्छन् । न त निराश । खुशी पनि तिनै हुन्छन् । सफल पनि तिनै ।
तीर्थराज पाण्डेय, तिनै मध्ये एक हुन् । जसले जीवनलाई एउटै सपनाको बन्धकी बनाएनन् । उनले समय, परिस्थिति र आवश्यकता अनुसार सपना बद्ले । र, ती सपनाले जिन्दगी ।
बैतडी पाटनमा दफ्थरी पाण्डेयको परिवार थियो । त्यही परिवारमा २०३६ माघ १२ गते तीर्थ जन्मिए । लक्ष्मीदत्त पाण्डेय र सरस्वती पाण्डेयका तीन छोरा र एक छोरी थिईन । तीर्थ चार सन्तानमा माहिला थिए ।
उनका हजुरबुवा डोटी राज्यको दफ्थरमा काम गर्थे । मुद्दा मामिला हेर्ने थलोलाई त्यो समय दफ्थर भनिन्थ्यो । त्यही कारण उनको परिवार दफ्थरी कहलिएको थियो ।
डडेल्धुराको लोडाको स्थायी बसाई छोडेर उनका हजुरबुवा बैतडीको पाटन सरेका थिए । बुवा त्यही हुर्किए । उनी जन्मिए त्यही । पाटनको बसाई । डडेल्धुराको घरखेत । पाठ्यक्रममा एक पटक आउथ्यो, तारानाथ शर्माको घनघस्याको उकालो । उनको बाल्यवयमा भने घनघस्याको उकालो हरेक शुक्रवार आउथ्यो । स्कुल छुट्टि भयो कि घनघस्याको उकालो चढ्थे । साँझ घर पुग्थे । शनिवार बस्थे । आईतवार विहानै हानिन्थे, पाटन । यही थियो, उनको सप्ताहन्तको तालिका ।
गोठभरी गाईभैसी । बारीभरी सुन्तला । दुध र सुन्तला । धीत मर्ने गरी खायो । छुट्टी सकियो । फर्कियो, पाटन् । उही स्कुल । उनै साथीभाई ।
उनले कखरा पाटनमा सिके । २०५३ मा पाटनबाटै दिए, एसएलसी । श्रीकृष्ण माविबाट फलामे गेट पार गरे । खुट्टाले भुई छोड्यो । सपनाले उडान भ¥यो । अनि के थियो, पढ्न हानिए, काठमाण्डौं ।
काठमाण्डौंको रौनक । भीडभाड । अग्ला भवन । चिल्ला, चौडा सडक । केहीसमयमै काठमाण्डौंसंगको मोह भंग भयो । उनी काठमाण्डौं छोडेर पुगे, कञ्चनपुर । सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सी पढ्न थाले । त्यही बेला डडेल्धुरामा सीएमए क्याम्पस खुल्यो । उनलाई सीएमए र डाक्टर उस्तै लाग्थ्यो । उनलाई पनि डाक्टर बन्न मन लाग्यो । उनी लागे, डडेल्धुरा । त्यहाँबाट सीएमएको पढाई सके । संगै महेन्द्रनगरबाट आईएस्सी । सीएमएको पढाई सकेका के थिए, हातमा जागीरको नियुक्ति आयो । उनी डोटीबाट नियुक्ति लिएर खटिए, कञ्चनपुर । उनको कार्यक्षेत्र थियो, महाकाली अञ्चल अस्पताल । पहिलो महिनाको पारिश्रमिक ३५०० रुपैया पाए । उनको जिन्दगीको पहिलो कमाई थियो । र, जीवनमा पहिलो पटक यति धेरै रकम देखे । उनी दंग परे । ओहो ! कति धेरै पैसा ?
भनिन्छ, संगतले सोच बदलिन्छ । सोचले सपना । र, सपनाले जिन्दगी । उनको जीवन र जीवनका सपना संगतले बदलियो ।
अस्पतालमा उनीभन्दा सिनियर नर्स थिईन, सीता श्रेष्ठ । श्रेष्ठले भनिन्, ए भाई जिन्दगी सीएमएमै काट्छौ ? सीएमएले जिन्दगी त चल्दैन् ।
जो भन्दा ठूलो केही छैन ठानेका थिए, त्यो त केही रहेनछ । धेरै ठानेको तलव पनि केही होईन रहेछ । श्रेष्ठको त्यो बचन अमृत थियो । उनी सीएमएको भ्रमबाट मुक्त भए ।
नर्सले उनी भित्र जगाईदिएको कहिले नमिटने पढाईको भोक थियो । त्यो तलव र सीएमएको जागीर महेन्द्रनगरमै छोडे । र उनी पढ्न हानिए, काठमाण्डौं । स्वास्थ्य विषयमा स्नातक गरे । त्यसपछि जनसंख्यामा स्नातकोत्तर सके ।
आकाश र सागरभन्दा पनि अनन्त छ, सपना । अनन्त छ, उसको दायरा र आयतन । सपनाको कुनै निश्चित विन्दु हुदैन । उनी जुन सपना देखेर काठमाण्डौं पुगे । काठमाण्डौ बुझेपछि लाग्यो, जति बिकसित भूगोल, त्यति उन्नत सपना ।
ठाउँसंगै उनका सपना फेरिए । सोचेनन्, एकबारको जुनीमा कति बार सपना देख्नु ? एउटा सपना पुरा नभएपछि मान्छे बिचलित हुन्छ । उनी फरक थिए । उनले त सपना फेरिरहे ।
हो, उनले एकबारको जुनीमा बाटो र सपनाहरु बारबार फेरिरहे ।
उनी काठमाण्डौंमा उच्च ओहोदामा रहेका सुदूरपश्चिमका मान्छेहरुका अग्ला घर देख्थे । उनी मनमनै सोच्थे, यही पढाई र जागीरले त यो जुनीमा घरसम्पत्ती जोड्न सकिदैन ।
उनले उच्च ओहोदामा रहेका सुदूरपश्चिमका एक जनालाई सोधे, यति घरसम्पत्ती जोड्न कति समय लाग्छ । जवाफमा ती व्यक्तिले भने, विस्तारै हुन्छ । समय लाग्छ ।
उनी त्यसका लागि वर्षौ पर्खिन चाहदैनथे ।
उनीभित्र पढ्ने भोक नर्सले जगाईदिएकी थिईन । उनको त्यो भोक स्नातकोत्तर सकेर पनि मेटिएन । उनी २००३ मा पीएचडीका लागि दक्षिण कोरिया पुगे । उनले त्यहाँ देखे, अनुशासन । थाह पाए, त्यसको महत्व । र, सिके श्रमको सम्मान गर्न । प्रोफेसरले स्वीपरलाई झुकेर अभिवादन गरेको देख्दा उनी दंग पर्थे । उनले झुक्न सिके । जसका अगाडि राष्ट्रपति पनि झुकेर अभिवादन गर्छ । त्यो, प्रोफेसर रत्तिभर संकोच नमानी स्वीपरका अघि झुक्छ । कस्तो बिनम्रता ? झुकेर त कोही सानो नहुने रहेछ ? उनले बुझे, उमेर र पद होईन, श्रम ठूलो रहेछ ।
दुई वर्षपछि उनको मनमा कोरियाभन्दा बाहिर संसार र विकास हेर्न मन लाग्यो । उनलाई लाग्यो, जीवन खोज रहेछ लाग्यो ।
उनलाई जापान अत्यन्त विकसित लाग्थ्यो । गर्मी विदा भयो । उनी कल्चरल रिसर्चका लागि जापानको टोकियो युनिभर्सिटी गए । भाषाको कठिनाई भएपछि उनी चार महिनौ कोरिया फर्के ।
उनकी पत्नी गर्भवती भईन । नेपाली राहदानी बोकेर यात्रा गर्दा जहिले सास्ती खेप्नुपथ्र्यो । उनलाई यो कुराले सधै पिरोल्थ्यो । उनले सोच्थे, मेरो सन्तानले यस्तो राहदानी बोकोस । कही रोकटोक नहोस निर्वाध जान सकोस ।
त्यो त अमेरिकी नागरिक भए मात्र संभव थियो । अन्यत्र त्यो संभव नभएको भन्दै प्रोफसेरले पनि अमेरिका जान सुझाव दिए । उनले अमेरिका जाने निधो गरे । प्रोफेसरलाई ग्यारेण्टी पत्र लेखिदिन आग्रह गरे ।
उनी पढाईमा अब्बल थिए । सधै टप हुन्थे । प्रोफेसर उनीबाट प्रभावित थिए । प्रोफसरले उनको आग्रह स्वीकारे । र, उनी उत्कृष्ट विद्यार्थी भएको र फर्केर कोरिया आउने व्यहोराको पत्र लेखिदिए । उनले भीसा अप्लाई गरे । भीसा पाए । र, सेप्टेम्बर २००७ मा अमेरिका पुगे ।
पीएचडीको थेसिस बाँकी थियो । पढ्ने हुटहुटी उस्तै थियो । मेरिल्याण्डस्थित जोन होपकिन्स कलेज भर्ना भए । दुई हप्ता कक्षा लिए । पढाईको शुल्क जुटाउन सक्ने अवस्था भएन । गर्भवती पत्नीको रेखदेख र परिवारको खर्च जुटाउन काम गर्न थाले । पढाई छोडे । कम्युनिटी कलेजमा पढाउन थाले । एक्स्ट्रा अर्डिनरी भीसा अप्लाई गरे । तीन महिनामा वर्क परमिट आयो । त्यहीबेला उनको भेट ह्यारी भण्डारीसंग भयो । ह्यारी उनी भन्दा एक वर्ष पहिले अमेरिका आएका थिए ।
केही समयपछि साउथ ईण्डियनको सव वेको म्यानेजर भएर काम गरे । काम गरेर जीविका धान्न मुस्किल देखे । उनले त्यही सब वेको २५ प्रतिशत शेयर लिए । दिनरात मिहिनेत गरे । २०१५ मा चार लाख २५ हजार डलरमा सब वे किने । स्याण्डवीच खाएर बाँचेका अमेरिकनहरुका माझमा उनको सब वेले राम्रो व्यापार ग¥यो ।
उनले त्यसको चार वर्षपछि २.५ मिलियन डलरमा लिकर्स सप किने । व्यापार राम्रो हुदै गयो । तीन लाख डलरमा २०२३ मा क्लक यु चिकेनको फ्रेञ्चाईज लिए । अन्य लिकर्स शप र जापानिज रेष्टुरेण्टमा उनी साभेदार छन् । एमएचटी लगानी समूहमा लगानी गरे । जसको उनी मुख्य लगानीकर्ता हुन् ।
कुनै दिन कामको खोजीमा भौतारिएका उनले हाल ३२ जनालाई रोजगारी दिएका छन् । प्रोफेसनल सीपीए राखेका छन् ।
केही लाख डलर ऋण नपत्याउने उनी मिलियनको ऋण सहजै पाउने हैसियतमा पुगे । उनी पाँच तारे होटलमा शेयर लगानी गर्ने तयारीमा छन् ।
उनी मेरिल्याण्डमा पाटन खोज्छन् । र त, हेनरीमा मेघराज खोज्छन् । छोराको न्वारानको नाम मेघराज थियो । उनले स्कुलमा नाम दिए, हेनरी । उनीभित्र त्यो पाटनको तिर्थ अझै जीवित छ ।
लार्भा र पुतली झै छ, उनको सपनाको कथा । लार्भाबाट झुसिलकिरा । र, झुसिलकिराबाट पुतली । उनका सपनाको रुपान्तरण त्यसैगरी भयो । हुन खोजे एउटा, भए अर्कै । कहाँ डाक्टर बन्ने सपना ? कहाँ सब वे ? कहाँ मदिराको व्यापार ?
हिडेर मात्र गन्तव्य पुगिदैन् । बाटो सही हुनुपर्छ । र, कहिलेकाही बाटो सही भएपनि गन्तव्य फरक भईदिन्छ । उनको जीवनमा त्यही भयो । उनी हिडे एउटा बाटो । पुगे अन्तै । गन्तव्य एउटा थियो । पुगे अन्यत्रै ।
डाक्टर बन्न चाहन्थे । सीएमए पढे । पाटनमा हुर्किएको सपना पुरा गर्न कञ्चनपुर पुगे । त्यहाँ फेरिएको सपना पुरा गर्न काठमाण्डौं पुगे । काठमाण्डौंमा पुगेपछि त्यो सपना पनि फेरियो । र, काठमाण्डौको सडकमा देखेको सपना पुरा गर्न कोरिया पुगे । कोरियामा पुगेपछि काठमाण्डौंको सपना फेरियो । र, अमेरिका पुगे ।
त्यसअघि देखेका सबै सपना छोडेर उनले पछ्याए अमेरिकामा अर्कै सपना । सबै सपना पुरा भएपछि उनलाई पछ्याईरहेको छ, पाटनले । लार्भाबाट पुतली बन्न पो सहज छ । म लार्भामै फर्किन्छु भन्ने पुतलीको जिद्दी कहाँ पुरा भएको छ ? लार्भाको सपनादेखेर पुतली बन्नेहरु झै भयो उनको सपनाको रुपान्तरण ।
फर्केर जान मिल्ने भए उनलाई मन छ, बैतडी पाटनमै फर्किन । लोडाको सुन्तलाबारीमा हराउन मन छ । सुख सुबिधा सबै छ, अमेरिकामा । छैनन्, आग्र्यानिक जीवन, सम्बन्ध र सपनाहरु ।
उनले पाटनको घरलाइ आधुनिक बनाउन दिएका छैनन् । उस्तै गरी राखेका छन्, ३० वर्ष पहिले जस्तो थियो । दाईले त्यसलाई पक्की बनाउन खोजे । उनले भनिदिए, हुन्न । उनलाई त्यही पुरानो आँगन, कोठा र खटिया चाहिएको छ । त्यही खटियामा निदाउन मन छ । त्यही खटिया, जसमा उनले देखेका थिए, अमेरिकाको सपना । छोडेर आएका देउता त्यही छन् । उनलाई पाटन किन फर्किन मन नहोस, जसले संसार देखायो ।
अग्ला घर, चिल्ला गाडी, बैभवपूर्ण जिन्दगीको भोक । त्यही भोकले उनी पाटनबाट, काठमाण्डौं । काठमाण्डौंबाट कोरिया । कोरियाबाट अमेरिका पुगे । उनीसंग यतिबेला सबैथोक छ । घर, गाडी, व्यवसाय । तर उनीसंग अव त्यो भोक बाँकी छैन् । भो, पुग्यो । हावाभन्दा तिब्रगतिमा बहकिने ईच्छाहरु एक समयपछि टक्क अडिदा रहेछन् । उनी सबैभन्दा औधी माया गर्छन्, छोराछोरीलाई । ती भन्दा पनि माया गर्छन्, सहयात्री पार्वतीलाई । ती सबैलाई उनी राखेर सुनाउछन्, बृद्धावस्थामा बृन्दावनमा गएर कुटीमा बस्छु । ठट्टा गर्दै छोरी प्रतिमा भन्छिन्, अमेरिकामै बृन्दावन बनाईदिन्छु बाबा । किन अन्त जानुहुन्छ ।
जोगी हुने कसले पत्याउने ? श्रीमती र छोराछोरी उनको चाहना हावामा उडाईदिन्छन् । साँझपछि गोरु घर फर्किन हतारमा हुन्छ । उमेर छिप्पिदै गएपछि मान्छे आफ्नै थाँतथलोमा फर्किन चाहन्छ । उ फर्किन चाहन्छ, बाल्यकालमा । र, बाल्यकालका स्मृतिहरुमा । फर्काउने मिल्ने भए त मान्छे समयलाई त्यही अवस्थामा फर्कादिन्थ्यो । नसकेर पो । जसको खोजका लागि मान्छे जीवनभर भौतारियो । त्यो चिज प्राप्त भएपछि उ सबै भ्रमबाट मुक्त हुदो रहेछ । उनी पनि सबै भ्रमबाट मुक्त भएका बोधीसत्व झै लाग्छन् ।
जव मान्छे श्रीमतीलाई औंधी माया गर्छ । र, उसको अनुपस्थितिले बेचैन हुन्छ । तव सोच्नु की उ बुढो भयो । हुन् त उमेर भनेको संख्या मात्रै हो भन्नेहरु पनि छन् ।
उनले एउटा उपन्यास लेख्ने निधो गरे । उनले केही नसोची त्यसलाई नाम दिए, श्रीमती । प्रकाशनका क्रममा रहेको उनको उपन्यास पत्नीमा समर्पित छ । जसले भोक भनेन । पीडा भनेन । अभाव र कठिन घडीमा पनि जसले साथ छोडेन् । जसले निराश हुन दिएन । जसले संकटमा भन्यो, म छु नी । त्याग र समर्पणमा जसलाई कसैले उछिन्न सक्दैनन । कसको माया ९९ सय ? कसको सय ? जसले कहिले जोखेन । आफू रित्तिएर जसले स्नेह दिईरह्यो । पत्नीका बारेमा चर्चा गर्दै उनले भने, उसलाई मैले जीवनमा के दिए ? उनी घोत्लिए । अरुलाई उपन्यासको नाम मन परोस । नपरोस । उनलाई छु मतलव । उनले बालसुलभ जिज्ञासा राखे, उपन्यासको नाम कस्तो लाग्यो ? कुनै पुरस्कारको लोभ छैन् । यो उपन्यास पत्नीलाई दिएको जीवनकै अमूल्य उपहार हो ।
छेउमा चिया बनाईरहेकी श्रीमती चुपचाप उनको कुरा सुनिरहेकी थिईन । माया गर्छु भनेर हुदैन । माया त देखिनुपर्छ । उनी श्रीमती प्रतिको माया जताईरहेका थिए ।
विवाह एक संयोग
उनी सीएमए पढेपछि जागीरे भए । उनले जागीरसंगै पहाडी जिल्लामा औषधी सप्लाई गर्ने उद्देश्यले महाकाली फर्मा खोले । फर्माकै कामको सिलिसिलामा नेपालगञ्ज पुगे । एक जना साथीले विवाहका लागि एक केटीको प्रस्ताव लिएर आए । ती केटी सीएमएको पढाई सकेर कोहलपुर मेडिकल कलेजमा काम गरिरहेकी थिईन् । उनले त्यही गएर ती केटी भेटे । पहिलो भेटमै उनले प्रस्ताव राखे, तिमी मसंग विहा गर्छौ ?
औषधी कम्पनीका लागि नर्स । आमाका लागि शाकाहारी बुहारी । परिवारका लागि ब्राह्मण कन्या । औषधी कम्पनीसंगै जीवन पनि चल्ने । बुवाआमा र परिवार पनि खुशी हुने । विवाहका लागि उनको निश्चित मापदण्ड थियो । यो मापदण्डमा ती केटी फिट थिईन ।
केटीले ग्रिन सिग्नल दिईन् । नाई भनिन्, हुन्छ पनि भनिन् । उनीहरुका बीचमा त्यही दिनदेखि संवाद शुरु भयो । संवाद प्रेममा परिणत भयो । र, प्रेमले दुई वर्षपछि विवाहको रुप लियो । माओवादी द्वन्द्व चुलिदै थियो । केटीको घर बर्दियाको बग्नाहामा थियो । गाउँमा द्वन्द्वको प्रभाव थियो । दुवै परिवारका बीच चिसापानीमा विवाह गर्ने सहमती भयो । जन्ती लिएर उनी चिसापानी पुगे । केटीपक्ष पनि त्यही आईपुगे । सन १९९९ मा त्यही कर्णाली किनारको जग्गेमा सातफेरा लगाए । पत्नी पार्वतीलाई लिएर केही वर्षपछि सात समुन्द्र पारी हिडे ।
मृत्युको मुखबाट जोगिएको त्यो पल
अमेरिकाको भीसा लागेपछि उनी दक्षिण कोरियाबाट बैतडीको पाटन पुगे । कुलदेवताको पूजा गरे । अमेरिकाका लागि विदावारी भएर बसमा चढे । साथमा थिए, उनकी पत्नी पार्वती र दाई पुष्पराज । पाटनबाट विहान ११ बजे हिडेको बस करीव २ः३० मा डडेल्धुरा सदरमुकाम नजिकै दुर्घटनामा प¥यो ।
उनी बेहोस भए । होसमा आउदा बस सल्लाको रुखमा अड्किएको थियो । उनको खुट्टा चलिरहेको थिएन । विस्तारै खुट्टा चल्यो । बसमा रुवावासी र चिच्याहट शुरु भयो । उनी पार्वती भनेर चिच्याए । एकछिनपछि बेहोस अवस्थामा भेटिएकी पत्नीलाई तानेर बाहिर ल्याए । त्यसपछि दाईलाई खोजे । बेहोस अवस्थाका दाई होसमा आएपछि झ्यालको शिशा फोडेर बाहिर आए ।
उनकी पत्नी पार्वती गर्भवती थिईन । साँघुरो सीटमा रहेकी उनकी पत्नीलाई बस्न असहज भईरहेको थियो । चालक छेउमा बोनटमा बसेका थिए, नेपाली सेना कार्यरत युवक । उनले ती युवकलाई आफ्नी पत्नीका लागि सीट छोडिदन आग्रह गरे । ती युवकले सहजै सीट छोडिदिए । दुर्घटनामा सबैभन्दा पहिले मृत्यु हुनेमा त्यही युवक थिए । सीट परिवर्तन गरेकै कारण उनकी पत्नी जोगिईन ।
नौ जनाको मृत्यु भएको त्यो बस दुर्घटना फिल्मको रिल झै उनको दिमागमा त्यो घट्ना फनफनी घुमिरहन्छ ।
साहित्यको अम्मल
एसएलसी पास गरेको केहीदिनपछि उनी घुम्न सदरमुकाम खंलगा गए । उनले त्यहाँ शहीद दशरथचन्दको अर्धकदको शालिक देखे । ५० वर्षअघि प्रजातन्त्रको परिकल्पना गर्ने मान्छे जन्मेको घर कस्तो होला ? उनमा कौतुहलता जाग्यो । उनी दशरथ चन्दको घर हेर्न हिडे । ४५ मिनेटमा बस्कोट पुगे । उजाड र मक्किएको चन्दको घरमा घाँस उम्रिएको थियो । संरक्षणको पर्खाईमा रहेको चन्दको घरदेखेर उनी भाव विह्वल भए । जसले देशका लागि आफ्नो जीवनको बलिदानी दिए । त्यो शहिदको यस्तो उपेक्षा ? उनलाई पीडा भयो ।
अशान्त मन लिएर घर फर्किए । शहीदकी आमालाई सम्झेर खण्डकाव्य लेख्न थाले । डेढ महिनामा लेखीसके । र, नाम दिए, आमाको सपना ।
काठमाण्डौं पुगेपछि उनको भेट ई.भीम बहादुर चन्द भयो । चन्द शहीद परिवारका सदस्य थिए । उनी खण्ड काव्य प्रकाशन गर्ने व्यक्तिको खोजीमा थिए । चन्दले त्यसको जिम्मेवारी लिए । केही समयमै उनको पहिलो खण्डकाव्य प्रकाशित भयो ।
काठमाण्डौंमा एक कार्यक्रममा उनको बुक प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, शिक्षा मन्त्री दिलेन्द्र बडु, भक्त बलायरले संयुक्त रुपमा बिमोचन गरे ।
उनलाई शहिदको बारेमा काव्य लेखे वाफत प्रधानमन्त्री देउवाले तामपत्र दिए । त्यो कुरा समाचारमा आयो । त्यसपछि उनको चर्चा शुरु भयो । त्यही चर्चाले उनलाई साहित्य लेखनमा निरन्तरताका लागि हौसला दियो ।
त्यसपछि सविता खण्डकाव्य लेखे । जसमा जातीय भेदभाव गर्नुहुदैन भन्ने सन्देश दियो । कथित तल्लो जातकी सविता र उपल्लो जातका कृष्ण । सविता र कृष्णको प्रेम । उनीहरुबीचको सम्बन्ध । गभर्वती सविता । कृष्णका परिवारको अपमान । कृष्णको मृत्यु । र, सविताको आत्महत्या । खण्डकाव्य यीनै कुरा थिए ।
२००९ मा उनले चिरायु खण्डकाव्य लेखे । विदाईमा आमाले लगाउने अक्षता र त्योसंगै उनले दिने आशिर्वाद कति महत्व राख्छ ? पाटनबाट आमाले विदाई गर्दाको अक्षता सम्झिए । खस्नुअघि नै निधारको अक्षतालाई जतन गरी राखे । उनीले अझैसम्म ती अक्षता संगालेर राखेका छन् । जवजव समस्यामा पर्छन्, ती अक्षता छुन्छन्, आमाको आशिर्वाद उनलाई अझै लागिरहेको छ । चिरायु हुनु । कहिल्यै बैरी नलागुन । सधै सुखी हुनु ।
उनले त्यही सम्झे । र, लेखे, चिरायु खण्डकाव्य । उनको त्यो तेस्र्रो कृति थियो । अमेरिकामा सम्पादन गरेको डायस्पोरामा देवकोटा पुस्तक उनको चौथो साहित्यिक कृति हो ।
अमेरिकामा उनको साहित्यप्रतिको मोह कम भएन । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) संग जोडिए । उनी अनेसासको अवार्ड कमिटिको चेयर भए । तीन वर्षदेखि ३४ देशबाट बुक संकलन गरेर उनी उत्कृष्ट बुकका लेखकलाई अवार्ड दिने कार्यमा संलग्न छन् ।
साहित्यलाई प्रेम गर्छन् । र, त उनी स्वयसेवकका रुपमा अनेसासमा कार्यरत छन् । उनी साहित्यिक संस्थालाई मन खोलेर सहयोग गर्छन । उनले नेपाल र अमेरिकामा आयोजना हुने साहित्यिक गतिबिधि र थुप्रै पुरस्कारका लागि आर्थिक सहयोग गरेका छन् ।
मान्छेको उपचार साहित्यबाट मात्र संभव देख्छन्, उनी । मदिरा बेचुन वा स्याण्डबीच । त्यसबाट हुने कमाईले भन्दा सन्तुष्टि त साहित्यले नै दिन्छ । र त, उनी साहित्यबाट टाढा जानै सक्दैनन् ।
अमेरिकालाई उनी धाई आमा भन्न रुचाउछन् । नेपाललाई आमा । भन्छन्, आमाले दुध खुवाएको भए धाई आमा खोज्न अमेरिका आउनु पर्दैनथ्यो ।
उनी स्वयमसेवक रुपमा राज्य सरकारलाई सहयोग गर्दै आएका छन् । २००९ देखि राज्य सरकारले दिने सेवा, सुविधा, अवसरका बारेमा नेपाली समुदायलाई जानकारी दिने कार्यमा संलग्न छन् । त्योसंगै भाषाको समस्या झेलिरहेकाहरुलाई सहजीकरण गर्ने कम्युनिटी लियाजिन अफिसरका रुपमा समेत मेरिल्याण्ड राज्य सरकारका लागि काम गरिहेका छन् ।
स्वयमसेवा गरेवाफत उनले २०२३ मा राष्ट्रपति जो बाईडनबाट लाईफ टाईम एचिभमेण्ट अवार्डसंगै गोल्ड मेडल प्राप्त गरे । यो अवार्ड प्राप्त गर्ने थोरै नेपाली छन्, जसमध्ये मध्ये उनी एक हुन् । भाषा, साहित्य, समुदाय र सरकारका लागि स्वयमसेवा गरे वाफत यो अवार्ड प्रदान गर्ने गरिएको छ ।
उनी राज्य सभा सदस्य ह्यारी भण्डारीको चुनावी अभियान मुख्य अभियानकर्ता पनि हुन् । राज्य सरकार र जनताकाबीचका समन्वयकर्ता पनि । उनी सेवा, सुविधा र अवसरबाट बञ्चित अल्पसंख्यक समुदायका लागि मात्र पैरवी गर्दैनन्, सरकारका असल अभ्यास र नीतिहरुका बारेमा समेत आम नागरिकलाई जानकारी दिन्छन् । २०२२ देखि मेरिल्याण्डमा गौरा पर्व मनाउन थालियो । छरिएर रहेका सुदूरपश्चिमेलीहरुलाई जोड्ने र गौरा पर्व मनाउन थालिएको अभियानका अगुवाहरुमा उनी पनि एक हुन् ।
उनी १७ हजार डलर बोकेर अमेरिका आएका थिए । साथमा थियो दुई व्याग किताव । आमाले कुटेको १० केजी पाटनको बासमती चामल । र, केही थान सपना । अनि केही बन्ने भोक । यतिबेला उनको नेटवर्थ पाँच मिलियन डलरभन्दा बढि छ । धनगढीमा एक बिगाहा जमीन जोडेका छन् । नेपालगञ्जको मूल सडकमा चार कठ्ठा घडेरी छ ।
पैसा साथमा नहुदा उनीभित्र पैसाको भोक थियो, अव त्यसको भोक छैन ।
अव भाग्नु छैन्, अवसर र सुविधाका पछाडि । उनी भन्छन्, सबै पुग्यो । पछ्याउनु छैन्, कुनै सपना । उनका दुईवटा धोको छन् । अधुरो पीएचडी पुरा गर्ने । र, पुख्र्यौली थलो लोडा र जन्मथलो पाटनमा अत्याधुनिक पुस्तकालय ।
बृन्दावन गएर जोगी बन्ने सपना त छदैछ ।
तपाईको प्रतिक्रिया