सुर्नयाको ठेउला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन 

बिहीबार असार ५, २०८२/ Thursday 06-19-25
Paschim Today

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको ठेउला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । 

गाउँपालिकाको वडा नं ७ र ८ को ठेउला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

वडा नं ७ र ८ का केही ठाउँमा ठेउलाको संक्रमण देखिएको र यसबाट बालबालिका बढी प्रभावित भएका महराले बताए । यो क्षेत्रका १२÷१३ जनामा संक्रमण देखिएको उनले बताए । 

बिरामीहरुको शरीरभरी बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षणहरु देखा परेका छन् । 

यस्त समस्या देखिएका बिरामीहरुलाई अलगै आइसोलेसनमा बस्न भनिएको महराले बताए । समस्या देखिएका ठाउँमा स्वास्थ्यकर्मीहरुले घरदैलोमै गएर सचेतना फैैलाउने कार्य गर्नुका साथै आवश्यक उपचार समेत गरिरहेका उनले बताए । 

यसैबीच सुर्नयाको वडा नं ७ र ८ मा देखिएको रोग ठेउलाको हो कि होइन भनेर एकीन गर्न विश्व स्वास्थ्य संगठनको टोली समेत आउन लागेको बताइएको छ । टोली आज प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

यसअघि स्वास्थ्य कार्यालय बैतडीबाट समेत प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पुगेको थियो । स्वास्थ्यकर्मीहरुले निरन्तर रुपमा सचेतनामूलक कार्यक्रम र उपचारात्मक सेवा सञ्चालन गरिरहेको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए ।