सुदूरपश्चिमस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरालाई

बिहीबार असार १९, २०८२/ Thursday 07-03-25
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ ।धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा कञ्चनपुरलाई ५ रनले पराजित गर्दै डडेल्धुराले उपाधि जितेको हो । डडेल्धुराले दिएको ८९ रनको विजयी लक्ष्य पछ्याएको कञ्चनपुर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनमै समेटियो ।

कञ्चनपुरका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् । डडेल्धुराले २९ रन अतिरिक्त दिएको थियो । डडेल्धुराका मनिषा खत्री र हिरा साउदले २-२ तथा आशिका महरा, सञ्जु साउद र निशा खठायतले १-१ विकेट लिइन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डडेल्धुराले १६.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल तयार पारेको थियो ।  डडेल्धुराका लागि हिरा साउद २४ रनमा अविजित रहिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो ।

कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३-३ तथा अर्चना चन्दले २ र गंगा खड्काले १ विकेट लिए । आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव लोकबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेता डडेल्धुराले नगद दुई लाख र उपविजेता कञ्चनपुरले नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने बैतडी र कैलालीले नगद ५०-५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५-१५ हजार तथा उदीयमान खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिएको खड्काले बताए ।