अल्ट्रा रनर मिरा राईको सपना

दीर्घराज उपाध्याय । क्रेष्टेड व्यूट, कोलोराडो ।
२१ मे २०१४ को अपरान्ह नामै नसुनिएकी एउटी फुच्ची केटी समाचारमा छाईन् । सन्दर्भ थियो, हिमालयन आउट डोर फेष्टिभलको ५० किमी लामो रेसको । त्यो जितेर सनसनी मचाउने फुच्ची केटी थिईन, मीरा राई ।
उनले टे«ल रनिङ बुझेकै थिईनन् । प्रतिस्पर्धामा सहभागी भईन । र, भईन बिजेता । न कुनै तयारी । न पोशाक । न गतिलो जुत्ता । त्यसमाथि अनुभवी देशीविदेशी प्रतिस्पर्धी ।
काठमाण्डौं उपत्यकाका थुप्रै उकालो ओराली छिचोलेर हात्तीवन पुग्न उनलाई कम्ति सकस भएन । भोकै थिईन । त्यसमाथि असिनापानीले चुट्यो । रिंगटा लागेर बाटोमा झण्डै ढलिनन् । तर उनी रोकिईनन । र हात पारिन, महिला एकल उपाधी । प्रतिकूल मौसमका बाबजुद उनले त्यो रेस सात घण्टामा पुरा गरिन् ।
उनले पछि मात्र थाह पाईन, त्यसलाई टे«ल रनिङ भन्दा रहेछन् । उनले मनमनै सोचिन, बच्चामा यस्तो टे«ल रनिङ त कति गरियो, गरियो । उनले त्यही दिन ठानिन्, म यसैका लागि जन्मिएकी हूँ ।
त्यो जीतले उनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको बाटो खोल्यो । त्यसपछि के थियो, उनी कुदिईरहिन् । जितिईरहिन । उनले टे«ल पछ्याईन । उपाधीले उनलाई पछ्यायो । उनी त्यही वर्ष ९ वटा अन्तर्राष्ट्रिय रेसमा सहभागी भईन । दुई बाहेक सबैमा स्वर्ण पदक जितिन । १८० किमी लामो मुस्ताङ टे«ल रेसमा स्वर्ण जितिन् ।
ईटलीमा ५७ किमी लामो सेलारोन्डा अल्ट्रा टे«ल रेस ६ घण्टा ३६ मिनेट ३० सेकेण्डमा पार गरिन् । र जितिन, स्वर्ण पदक । त्यसलगत्तै ईटलीमै भएको ८३ किमी लामो टे«ल अफ हिरोजको अल्ट्रा टे«ल रेस ९ घण्टा १६ मिनेटमा तय गरिन । र हात पारिन, दोस्रो अन्तर्राष्ट्रिय उपाधी ।
त्यही वर्ष हङकङमा आयोजित ५० किमी लामो एमएसजेके एचके अल्ट्रा टे«लमा स्वर्ण पदक जितिन । लगत्तै मनास्लु टे«ल रेसमा स्वर्ण पदक हात पारिन । हङकङमै भएको किङ्गस अफ द हिल्सको अल्ट्रा टे«लमा सिल्भर मेडल जितिन । एचकेएमएसआईजे ५० एचके ५० सिरिजमा स्वर्ण जितिन ।
२०१५ मा फ्रान्सको मोंट ब्लांक स्काई रेसमा उपाधीसंगै नयाँ किर्तिमान कायम गरिन् । २०१७ मा बेलायतको स्कटल्यान्डमा १२० किमी लामो बेन नेभिस अल्ट्रा रेसमा स्वर्ण पदक जितिन । १४ घण्टा २४ मिनेटमा रेस तय गरेर उनले किर्तिमान समेत कायम गरिन् । सोही वर्ष नेशनल ज्योग्राफीको पिपुल्स च्वाईस एडभेञ्चर अफ द ईयरको उपाधी जितिन ।
त्यसबाहेक ईटली, अष्टे«लिया, फ्रान्स र हङकङ लगायतका देशमा आयोजित थुप्रै अन्तर्राष्ट्रिय स्पर्धामा उपाधी हात पारिन ।
योबीचमा उनको घुडाको लिगामेण्ट च्यातियो । दुःखाईका बीच दगुरेर नेपाललाई पटक पटक उपाधी दिलाईन । उपाधी उचाल्दा सबै दुखाई बिर्सिन्थिन ।
२०१६ मा ईटलीमा पहिलो पटक उनले लिगामेण्टको अप्रेशन गरिन । दुई वर्षपछि फ्रान्समा दोस्रो पटक उनको घुडाको अप्रेशन भयो । अप्रेशनपछि केही समय आराम गर्थिन् । फेरि होमिन्थिन्, प्रतिस्पर्धामा ।
संभवत उनी अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सबैभन्दा बढि सहभागी हुने नेपाली खेलाडी हुन् । र, त्योसंगै सबैभन्दा उपाधी हात पार्ने खेलाडी पनि । उनी विश्वव्यापी खेल ब्रान्डले समर्थन गर्ने नेपालकी पहिलो महिला अल्ट्रा रनर हुन् । जसलाई रेडबुलले प्रायोजन गरेको थियो ।
उनको संघर्ष र सफलतामा आधारित ‘मिरा’नामक वृतचित्रले क्यानडामा आयोजित भ्यानकोभर ईन्टरनेशनल माउण्टेन फिल्म फेष्टिभल र बान्फ माउण्टेन फिल्म एण्ड बुक फेष्टिभलमा उनको वृतचित्र सम्मानित भएको थियो ।
अभावमा वितेको मिराको बाल्यकाल
२०४५ साल पुष १७ गते भोजपुरको पौवा दुङमा गाउँपालिका– ५ सानुदुङमामा जन्मिएकी उनको बाल्यकाल अभावमा बित्यो । सुक बहादुर र पम्फा रानीका पाँच सन्तान थिए । दुई छोरा । तीन छोरी । उनी माहिली थिईन् । परिवारको आर्थिक दुरावस्थाका बीच उनले विद्यालय जान पाईन । खेतीपाती पर्याप्त थिएन । जीविका चलाउन उनकी आमा भारी बोक्थिन । धनकुटाको हिले जान्थिन् । डोकोभरी सामान लिएर फर्किन्थिन् । भोजपुरमा १५ दिनमा लाग्ने हटियामा त्यो सामान बेच्थिन् ।
उनी सानै थिईन । उनलाई लाग्यो, आमालाई सघाउन पाए हुथ्यो । उनले सानैमा आमालाई पछ्याईन । आमालाई सघाउन हिले जान थालिन् । फर्किदा उनको पिठ्युमा कुम्लो हुन्थ्यो । कुम्लोमा सामान । आमाले ५५/६० किलोको भारी बोक्थिन् । उनले १० देखि १२ किलो । १२ वर्षमा उनले उमेरभन्दा दोब्बर भारी बोक्न थालिसकेकी थिईन् ।
उनको गाउँबाट धनकुटाको हिले पुग्न झण्डै एक दिन लाग्थ्यो । फर्किन एक दिन । उनका बुवाबाजे र काकाहरु अरुण पौडेर पार गर्थे । अरुण तर्ने क्रममा कैयौंको ज्यान गयो । उनका पालामा अरुणमा झोलुंगे पुल बनिसकेको थियो । त्यस अर्थमा उनी भाग्यमानी थिईन ।
सुसेलिदै बग्ने अरुण खोला । अरुणको खोल्साको गर्मी । तातो हावा । खुट्टाका पैताला पोल्ने ढुंगाहरु । त्यही अरुण छिचोलेर उनी हिले पुग्थिन् । डोकोभरी नुन, तेल, चामल, विस्कुट । भोक लाग्थ्यो । उनी पानी र चिउरा खाएर बाटो काटथ्नि । उनी आमाको साथी । सहयोगी । छोरी । सबै थिईन् ।
बाटो विस्तार भएपछि हटिया बिस्थापित भयो । त्योसंगै उनको पेशा । सामान बिक्री हुन छाड्यो । उनलाई आमाको चिन्ता । आमालाई सन्तान हुर्काउने चिन्ता ।
माओवादीको सशस्त्र संघर्ष देशव्यापी रुपमा फैलिईसकेको थियो । उनको गाउँपनि अछुतो रहेन । उनी एक पटक चामल बोकेर आउदै थिईन । तलबाट उक्लिदै गरेका सेनाको फौजमाथि माओवादीले माथिबाट आक्रमण ग¥यो । दुबैपक्षबीच गोली हानाहान भयो । उनी बीचमा थिईन । धन्न गोली लागेन । मुस्किल जोगिएर साँझ घर पुगिन ।
माओवादीहरु गाउँमा आउथे । सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्थे । विद्यार्थी र शिक्षकहरुलाई जनअभियानमा लैजान्थे । उनी १४ वर्षकी थिईन । थाहै नपाई माओवादी युद्धमा अप्रत्यक्ष रुपमा संलग्न भईन । विस्तृत शान्ति सम्झौतापछि सरकारले माओवादी ‘जनमुक्ति सेना’ शिविरमा राख्यो ।
उनी सिन्धुलीस्थित जनमुक्ति सेनाको दोस्रो डिभिजनमा बसिन । त्यहाँ नियमित रुपमा व्यायाम गर्थिन । कुद्थिन् । खेल अभ्यास गर्थिन् । शिविरबाटै पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर पाईन । कहिल्यै रंगशाला नदेखेकी उनले जीवनमा पहिलो पटक ५ र १० किलोमिटरको दौडमा प्रतिस्पर्धा गरिन् । उनलाई रमाईलो लाग्यो । नतिजाका लागि त उनी दगुरेकै थिईनन ।
उनी नाबालिक थिईन । सेना समायोजन प्रकृयामा उनी बहिर्गमनमा परिन । बहिर्गमनपछि सिन्धुलीमा पढाई शुरु गरिन् । गोमती स्कुलमा पढिन् । दुधौली जनजागृति माविबाट एसएलसी परीक्षा दिईन । पास भईन् । ओरेकको सहयोगमा उदयरपुरको गाईघाटमा १५ महिने जेटिएको पढाई पुरा गरिन् ।
त्यहीबेला जनकपुरमा दौडमा सहभागी भर्ईन । अर्को पटक गुरु चन्द्र गुरुङले हेटौडा रेसमा भाग लिन बोलाए । १० किमीको रेस पुरा गर्न दुई सय मिटर बाँकी थियो । उनी गर्मीले ढलिन् । होस आउदा अस्पतालको शैयामा थिईन ।
२०१४ मा उनी विदेश जाने सोचले भोजपुरबाट काठमाण्डौं पुगिन् । त्यही क्रममा बालाजु डोजोमा कराँते खेल्न थालिन । डोजोका गुरु थिए, धु्रव बिक्रम मल्ल । माओवादी शिविरमा ब्राउन बेल्ट लिएकी उनले त्यहाँबाट ब्ल्याक बेल्ट लिईन ।
उनलाई नेपाली सेनाका धावक भीम गुरुङले तालिमका लागि भनेर बोलाए । र, सहभागी हुन लगाए, काठमाण्डौं उपत्यकामा हिमालयन आउट डोर फेष्टिभलमा । त्यही प्रतियोगिताले उनको जीवन फेरियो । दिनचर्या फेरियो । यो त्यही प्रतियोगिता थियो, जसले उनलाई पृथक पहिचान दियो । टे«ल रनिङ पनि स्पोर्टस हुदो रहेछ भन्ने थाह नभएकी उनलाई त्यही टे«ल रनिङले विश्वभरी चिनायो ।
भोजपुरको विकट गाउँ । त्यसमाथि बिपन्न परिवार । विवाह गरेर अर्काको घरमा पठाउने छोरीलाई किन पढाउनु ? यस्तो परम्परागत सोचले जकडिएको समाज । त्यही समाजमा जन्मिएकी मीराको संघर्ष र सफलताले भन्छ, मान्छे कुन भूगोल र परिवेशमा जन्मियो, त्यसले अर्थ राख्दैन । ईतिहास त्यसको लेखिन्छ, जसले छोड्दैन, अभावका बीच संघर्ष गर्न । हो ईतिहास, थाक्ने, भाग्ने र बिचलितहरुको लेखिदैन् ।
अविचलित संघर्ष र अथक परिश्रमबाट प्राप्त गरेको उचाई र उनको सफलताको कथा महिलाका लागि मात्र नभएर पुरुषहरुका लागि प्रेरणादायी छ ।
मिराको सपना : मिरा राई इनिसिएटिभ
दौडेरै उनले संसार देखिन् । दर्जनौ उपाधीहरु जितिन् । चर्चा बटुलिन् । ख्याती कमाईन् । हो, दौडले उनको जिन्दगी बदल्यो । दिनचर्या बदल्यो । र, दौडबाटै आफूजस्तै दूरदराजका महिलाको जीवन बदल्ने अठोट गरिन् । त्यही अठोट पुरा गर्न सन २०१७ मा उनले खोलिन्, मिरा राई ईनिसियटिभ ।
आफ्नो कमाईले उनले फर्पिङमा जग्गा जोडेकी थिईन् । बेलायतमा रहेका दाईको सहयोगले ईनिसियटिभका लागि दुई करोडको लागतमा घर बनाईन । त्यसैलाई बनाईन, आवासीय तालिम केन्द्र । र शुरु गरिन, एक्सचेञ्ज एण्ड ईम्पावर कार्यक्रम । एक्सचेञ्ज एण्ड ईम्पावर कार्यक्रमलाई साथ दियो, हङकङले । नेपाली चेलीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउन यो कार्यक्रम निकै सहयोग भयो । तालिमकेन्द्र मार्फत ग्रयाजुयट भएका २१ जना मध्ये १८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाए । सुनमाया बुढा, तिनैमध्ये एक हुन्, जसले थाईल्याण्डमा युटीएमवी वल्र्ड सिरिज हात पारिन । र भनिन्, यो जित मिरा दिदीको पनि जित हो ।
आफ्नै तालिम केन्द्र नहुदा उनले निकै सास्ती खेपिन । अहिलेसम्म घर भाडामा लिएर तालिम दिएकी उनी नोभेम्बरदेखि आफ्नै तालिम केन्द्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारीमा जुटेकी छन् । जसका लागि आवश्यक रकम जुटाउन उनी सक्रिय छन् । एक वर्षदेखि श्रीमान तेञ्जिङ शेर्पासंगै अमेरिकाको कोलोराडोमा बस्दै आएकी उनी आफ्नो सुख, सुविधाभन्दा पनि दूर दराजमा रहेका चेलीहरुलाई अन्तर्राष्ट्रिय स्पर्धाका लागि कसरी सक्षम र सबल बनाउने सोचिरहन्छिन् ।
एक वर्षमा उनी अमेरिकामा दुई वटा रेसमा सहभागी भईन । फेब्रअरीमा टेक्ससको अष्टिनमा ५० किमी लामो रेस उनले भाग लिएको पछिल्लो रेस हो । यद्दपि हरेक दिन फुर्सद निकालेर क्रिष्टेड व्यूटको पहाड भने ओहोर दोहोर गर्छिन् । दगुरेन भने त के छुट्यो, छुट्यो लाग्छ उनलाई ।
आफ्ना लागि सबै सपना देख्छन् । उनी दूर दराजमा जन्मिएका आफू जस्तै महिलाहरुका लागि सपना बुनिरहन्छन् । सोच्छिन्, उनीहरु पनि दगुरुन । र, बनाउन नयाँ किर्तिमान ।
उनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धामा जोड्ने व्यक्ति हुन्, टे«ल रनिङ नेपालका संस्थापक रिचर्ड बल । र, अमेरिकामा उनलाई डेस स्मिटी स्पोन्सर गरेका हुन् । उनी आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छिन् ।
१० वर्षको अवधिमा उनले ४० भन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिईन । जसमध्ये अधिकांशमा स्वर्ण पदक जितिन । उनले खेल जीवनबाट सन्यास त लिएकी छैनन् । तर उनी अव उपाधीका लागि प्रतिस्पर्धामा सहभागी हुने छैनन् । उनी दूर दराजमा आफू जस्तै ‘मिरा’को खोजीमा छिन् । जसले उनलाई पछ्याउन । र, ब्रेक गरिदिउन उनका सबै रेकर्डहरु । गफिदै जादा उनले आफ्नो बाँकी जीवनको उद्देश्य र आफ्नो ईच्छाको पुन्तुरो फुकाईन् ।
तपाईको प्रतिक्रिया