नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने

काठमाडौँ । नेपालले अष्ट्रेलियामा अगस्ट १४ देखि २४ तारिखसम्म टप इन्ड टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।
सिरिज आयोजक अष्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी) ले सोमबार सहभागी खेल्ने सबै टोली र खेलको तालिकासमेत सार्वजनिक गरेको छ ।
प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ ।
अन्य टोलीमा बिगबास लिग (बिबिएलं) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरु सहभागी हुने छन् ।
एनटीको स्थानीय दुई टोलीको समेत सहभागिता रहने छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल स्थानिय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग अगस्ट १५ मा खेल्नेछ ।
नेपालले यस सिरिजलाई टी–२० विश्वकप–२०२६ को एसिया छनोटको रुपमा लिएको छ । विश्वकपको एसिया छनोट आगामी अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा हुनेछ ।
तपाईको प्रतिक्रिया