गुणस्तर प्रमाणीकरण प्रतिवेदन तीन दिनभित्र पेस गर्न निर्देशन

मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले पोषण झोला खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन तीन दिनभित्र समितिमा पेस गर्न प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ ।

पोषण झोलाको खाद्य सामग्री गुणस्तरहीन रहेको चर्चा चलेपछि समितिले गुणस्तर प्रमाणीकरण प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । केही दिन अगाडि बाजुरामा कुपोषणको कारण एक बालकको ज्यान जानुका साथै पोषण झोला गुणस्तरहीन रहेको कुरा बाहिर आएपछि पोषण झोला खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएको थियो । त्यसको प्रतिवेदन तीन दिनभित्र समितिमा पेस गर्न निर्देशन दिइएको समितिका सभापति धर्मराज पाठकले बताए ।  

यस विषयमा समितिले सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मी र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक झनक ढुङ्गानालाई समितिमै बोलाएर सोधपुछ गरेको छ । समितिको बैठकमा केन्द्रका निमित्त निर्देशक ढुङ्गानाले पोषण झोला खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तर प्रमाणित गराएर मात्रै वितरण गर्ने बताए । उनले चालु आर्थिक वर्षको बजेट ढिलाइ, लेखा समितिका कर्मचारीको आन्दोलनका कारण यसवर्ष पोषण झोला खरिदमा ढिलाइ भएको उल्लेख गरे ।  

पोषणयुक्त तयारी खानाको प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा अभाव नरहेको जनाउँदै उहाँले भन्नुभयो,“स्वास्थ्य संस्थासम्म पहुँच नपुगेका कारण कुपोषित बालकको ज्यान गएको जानकारी आएको छ । कुपोषित सबै बालबालिकाको खोजी गर्न नसक्नु हाम्रो पनि कमजोरी हो । यसमा ध्यान दिन्छौं ।”