एसईईमा ४ जीपिए ल्याउने विद्यार्थीलाई सीसीएसमा पूर्ण छात्रवृत्ति

बिहीबार असार २६, २०८२/ Thursday 07-10-25
Paschim Today

कैलाली : धनगढीको क्रिसेन्ट सिटी स्कुल (सीसीएस) ले एसईई परीक्षामा उच्चतम ग्रेड ल्याउने १० जना विद्यार्थीलाई कक्षा ११ मा पूर्ण छात्रवृत्तिमा भर्ना गराएको छ। कैलालीको जेसिस एभरेस्ट स्कुलका जस्टिन चन्द र बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयका अशोक कुमार अवस्थीले ४ जीपीए हासिल गरी छात्रवृत्ति कोटामा भर्ना भइसकेका छन्। उनीसहित अन्य ९ जना विद्यार्थीहरूले पनि सीसीएसमा निःशुल्क पढ्न पाउने अवसर पाएका छन्।

स्कुलका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठका अनुसार, यस वर्ष ३.९५ जीपीए वा सोभन्दा माथि अंक ल्याउने १० जना जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइएको हो। उनका अनुसार, ३.६० देखि ३.९० जीपीए ल्याउने २० जना विद्यार्थीलाई मासिक शुल्कमा छुट तथा ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीलाई मासिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ।

स्कुलले यस वर्ष ६० जना विद्यार्थीलाई पुर्ण छात्रवृतिमा कक्षा ११ मा अध्यापन गराउने योजना बनाएको छ। उपमहानगरपालिकाद्वारा तोकिएको १० प्रतिशत छात्रवृत्ति कोटाबाहेक, स्कुलले आफ्नै तर्फबाट थप छात्रवृत्तिका अवसरहरू प्रदान गर्दै आएको छ।  क्रिसेन्ट सिटी स्कुलले विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयहरूमा कक्षा ११ र १२ को अध्यापन गर्दै आएको छ।